स्वास्थ्य

कोरोना नियन्त्रणमा जाग्दै समुदाय

फाइल तस्बिर

कोरोना संक्रमितको उपचार गर्न नसक्ने भन्दै सरकारले हात उठाइसकेका बेला ललितपुर च्यासलका स्थानीयले महामारीसँग लड्न आफैं तयारी गरेका छन्। उनीहरूले आर्थिक अनुदान संकलन गरेर ५ बेडसहितको आइसोलेसन सेन्टर निर्माण गरेका हुन्। टोलवासीकै सक्रियतामा यस्तो कार्य भएको स्थानीयको भनाइ छ।

वरिपरिका व्यक्ति कोरोना संक्रमणबाट गम्भीर भएमा यही आइसोलेसन सेन्टरमा राखिने बताइएको छ। संक्रमण भयावह भएमा बेड थप गर्ने लक्ष्य समुदायले राखेको स्थानीय श्याम व्यञ्जनकारले बताए। उनले तत्काल अप्ठेरो आइपर्नसक्ने अवस्थालाई अनुमान गरेर आइसोलेसन कक्ष निर्माण गरिएको बताए। उनले भने, ‘अब समुदाय तह नै जाग्नुपर्ने बेला आएको छ, कोरोना संक्रमण भयावह भएमा हामीले यसलाई थप गर्छौं।’ ललितपुर च्यासलकै ज्यापु समाजले कोरोना संक्रमण भयावह भए समाजको हललाई आइसोलेसन कक्ष बनाउने बताएको छ। त्यस्तै नख्खुमा बनेको नवनिर्मित भवनलाई पनि तत्कालका लागि आइसोलेसन कक्ष बनाउन सकिने योजनामा ज्यापु समाज छ।

पाटन क्षेत्रको ताम्राकार समाजले कोरोना संक्रमणलाई ध्यानमा राख्दै समाजको हल प्रयोग गर्ने योजना बनाएको छ। समुदायस्तरमा कोरोना संक्रमण फैलिए हल र पार्टी प्यालेसलाई पनि प्रयोग गर्न सकिने समाजले जनाएको छ।संक्रमण बढिरहेको बेला यसको रोकथामका लागि समुदायस्तरको भूमिका प्रभावकारी रहने जनस्वास्थ्यविद् डा.रवीन्द्र पाण्डेले बताए। उनले संक्रमणको बेला समुदाय सजग भए सरकारलाई पनि थप सहयोग पुग्ने र अस्पतालमा पुग्ने बिरामीको संख्या पनि कम हुने स्पष्ट पारे। उनले भने, ‘समुदाय एकदमै सचेत हुनुपर्छ, तर त्योभन्दा बढी जिम्मेवार राज्य हुनुपर्छ, सरकारले गर्न नसक्ने अवस्थामा समुदाय नै होसियार बन्न सक्नुपर्छ।’

त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. सन्तोष केसीले संक्रमण नियन्त्रणबाहिर जाने अवस्था रहेकोले समुदाय र हरेक व्यक्ति निकै होसियार हुनुपर्ने बताए। ‘कोरोना संक्रमण हामीले सोचेभन्दा बढी फैलिएको छ,’ उनले भने, ‘यसको रोकथामको लागि सबै होसियार हुनुपर्छ, अस्पतालले थेग्न सक्ने अवस्था छैन।’ दुःखमा आम नागरिकको सहारा बन्नुपर्नेमा सरकार हारिसकेको बेला समुदायस्तरमा भने कोरोनासँग जुध्न विभिन्न गतिविधि गरिएको छ। जसमा सामाजिक सञ्जालको प्रयोग गरेर सहयोग आदानप्रदान गर्न थालिएको छ।  

उदाहरणका रूपमा सामाजिक सञ्जाल भाइबरमा एक्टिभ रहेको ‘कोभिड १९ इमर्जेन्सी ग्रुप’ लाई लिन सकिन्छ। जसको उद्देश्य कोरोना संक्रमणको समयमा एकअर्कालाई सहयोग पुर्‍याउनु रहेको छ। अनलाइन फार्मेसी सेवादेखि आपत्मा परेका बिरामीलाई उपचारको पहुँचसम्म पुर्‍याउन यस ग्रुपले सहयोग गर्दै आएको छ। ग्रुपमा कसैलाई तत्काल एम्बुलेन्स आवश्यक परेमा वा गम्भीर बिरामीलाई अस्पताल भर्ना गर्नुपरेमा कुनकुन अस्पतालमा बेड खाली छ त्यसबारे पनि सूचना अदानप्रदान गरिन्छ। कोभिडसम्बन्धी कुनै पनि समस्या परेमा ग्रुपमा जोडिएका चिकित्सकले सल्लाह दिन्छन्। कसैले अस्पतालमा बेड नपाएर उपचारबाट वञ्चित भएमा देशभरिका अस्पतालमा बुझेर यही ग्रुपले उपचार गराउने वातावरण पनि मिलाउँछ। चिकित्सक, समाजसेवी, राजनीतिज्ञ, पत्रकारलगायत क्षेत्रका व्यक्तिहरू जोडिएको यस ग्रुपले कसैलाई अप्ठेरो परे सूचनाकै आधारमा सहयोग गर्छ।

त्यस्तै, चिकित्सक र अस्पतालको नम्बर आदानप्रदान, कोभिडबारे सचेत रहने उपाय, एम्बुलेन्स सेवा सहयोग, अस्पताल, बेड, आइसियु, भेन्टिलेटर, अक्सिजनको अवस्थाजस्ता महत्वपूर्ण सूचना आदानप्रदान पनि यही ग्रुपबाटै गरिन्छ। झन्डै १ हजार ७ सय सदस्य रहेको यो ग्रुप कोरोना संक्रमणको बेला सूचना आदाप्रदान तथा एकअर्कालाई सहयोग गर्नको लागि प्रभावकारी मानिएको छ।

भाइबर, म्यासेन्जर, ट्वीटर, फेसबुक जस्ता सामाजिक सञ्जालको प्रयोग गरी एकअर्कालाई सहयोग गर्ने क्रम बढेको छ। कोरोना संक्रमण बढिरहेको बेला गम्भीर लक्षण देखिएका बिरामीले उपचार पाउन नसक्ने अवस्था भएपछि सामाजिक सञ्जालमा ग्रुप बनाएर त्यस्ता बिरामीको उपचार गराउन पहल गरिएको हो।  

नेपाल ल क्याम्पसमा पढ्ने विद्यार्थीले कोरोना ‘अवेरनेस ग्रुप’ बनाएर महत्वपूर्ण सूचना आदानप्रदान गर्दै आएका छन्। उक्त ग्रुपले कोरोना संक्रमणको बेला कसैलाई अप्ठेरो परेमा सहयोग गर्दै आएको छ। संक्रमण बढिरहेको बेला सामाजिक सञ्जालमा सक्रिय भएर पनि एकअर्कालाई सहयोग गर्न सकिने ‘अवेरनेस’ ग्रुपका एक सदस्य चिीरञ्जीवीन्यौपानेले बताए। उनले भने, ‘अहिले सामाजिक सञ्जालमार्फत पनि विभिन्न अभियानहरू सञ्चालन गर्न सकिन्छ, जसले एकअर्कालाई फाइदा पु¥याउँछ, त्यसैले पनि ग्रुप बनाएको हो।’ उनले कसैलाई अप्ठेरोे परेको भए ग्रुपबाट टिम बनाएर प्रत्यक्ष रूपमा सहयोग गर्न सकिने बताए। त्यसो त समुदायस्तरबाट पनि कोरोना संक्रमणका बेला एक अर्कालाई सहयोग गरिँदै आएको छ।

यसबाहेक नेपाल फाइट कोरोना सिटिजन हेल्प ग्रुप, कोभिड हेल्प समूह, हेल्पिङ कोरोना ग्रुप, नवजीवन परोपकार समाज, कोरोना हेल्प सेन्टरजस्ता ग्रुप बनाएर एक अर्कालाई सहयोग आदानप्रदान गरिँदै आएको छ। कोरोनाको बारेका महत्वपूर्ण सूचनाको वितरण र अप्ठेरो परेकालाई सहयोग गर्न यस्ता ग्रुप सहयोगी बनेका छन्। व्यक्ति व्यक्ति मिलेर सामाजिक सञ्जालमा चलाइएका ग्रुपले उपचार नपाएका विरामी र कोरोना संक्रमितलाई सहजता प्रदान गरेका छन्। यसबाहेक केही व्यक्तिहरूले आ–आफ्नो सामाजिक सञ्जालको प्रयोग गरेर कोरोनाबारे सचेतना प्रवाह गर्दै आइरहेका छन्। जनस्वास्थ्यविद् रवीन्द्र पाण्डे, समाजसेवी दुर्गानाथ दाहाल, सचिन पाण्डे, तारा बहादुर कुवँर, राज घिमिरे, अजय अधिकारी ‘शुशील’लगायतले कोरोना संक्रमणको बेला सचेतनाका साथै अत्यावश्यक परेका व्यक्तिलाई सहयोग पनि गर्दै आइरहेका छन्। उनीहरूमध्ये कतिपयले सडकपेटीमा बसेकाहरूलाई खानेकुरा वितरण गरेका छन्।

कलाकार राज घिमिरेले आफ्नो व्यक्तिगत गाडीमा कोरोना संक्रमित व्यक्तिलाई अस्पतालसम्म प¥याउँदै आएका छन्। यसअघि पाइलट विजय लामाले पनि सरकारले बेवास्ता गरेका सर्वसाधारणलाई खाद्यान्न वितरण गरेका थिए। उनी कोरोना संक्रमणको बेला सचेत रहनको लागि माइकिङ पनि गर्दै आइरहेका छन्। ‘दोस्रो लहरको संक्रमण थप भयावह बन्ने अवस्था छ, तर कतिपय व्यक्ति कोरोना भन्दा पनि अन्य कारणले मर्न सक्ने अवस्थामा छन्,’ उनले भने, ‘त्यसैले मैले सहयोग गर्दै आइरहेको छु।’ समाजसेवी सचिन पाण्डेले पछिल्लो समय सामाजिक सञ्जाल पनि सहयोग र सूचना आदानप्रदान गर्न सजिलो माध्यम बनेको बताए। सामाजिक सञ्जालमा पोस्ट गरेको सूचनाकै आधारमा महत्वपूर्ण काम भएको र उपचार नपाएकाहरूले उपचार समेत पाएको उनको बुझाई छ। उनले भने, ‘सामाजिक सञ्जालबाट समस्या थाहा हुन्छ, त्यसपछि प्रत्यक्ष रूपमा पुगेर सहयोग आदानप्रदान पनि गर्दैै आइरहेको छौं।’

प्रकाशित: २१ वैशाख २०७८ ०१:५४ मंगलबार

कोरोना नियन्त्रणमा जाग्दै समुदाय