स्वास्थ्य

प्रदेश २ का अस्पतालमा ४ सय १७ दरबन्दी थप

जिल्लामा फोकल मन्त्री तोकियो

प्रदेश सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि ४ सय १७ अस्थायी दरबन्दी थप गरेको छ। मन्त्रिपरिषदको सोमबारको बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा ३३, प्रादेशिक अस्पताल जनकपुरधाममा १७४ दरबन्दी थप गर्ने निर्णय गरेको छ।  

यस्तै, जिल्ला अस्पताल सिरहा, जिल्ला अस्पताल जलेश्वर, जिल्ला अस्पताल मलंगवा, गौर अस्पताल र कलैया अस्पतालका लागि ३२/३२ दरबन्दी थप गर्ने हुने भएको छ। लहान अस्पतालका लागि २३ र भारदह अस्पताल सप्तरी र पोखरिया अस्पतालका लागि १५/१५ दरबन्दी थप गर्ने निर्णय गरेको छ।  

कोरोना महाव्याधीका लागि थप गरिएको दरबन्दीमा एनेस्थेसियोलोजिष्ट, स्वास्थ्यकर्मीदेखि सरसफाइकर्मीसम्मको पद रहेको छ। थप गरिएका दरबन्दीहरुमा अस्पतालले आवश्यकताको आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ।  

यस्तै मन्त्रिपरिषदको बैठकले कोरोना महाव्याधी नियन्त्रणका लागि मन्त्रीहरूलाइ जिल्लाको कोरोना फोकल पर्सन तोकेको छ। सप्तरी जिल्लामा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिरहा जिल्लामा आर्थिक मामिला तथा योजना विजयकुमार यादव, धनुषा र महोत्तरी जिल्लामा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, सर्लाही र रौतहटमा उद्योग पर्यटन तथा वन मन्त्री राम नरेश राय, बारा तथा पर्सामा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ।  

जिम्मेवारी तोकिएका मन्त्रीहरु सम्बन्धी जिल्ला र प्रदेश सरकारका बीच कोरोना महामारी नियन्त्रणका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने छ।

प्रकाशित: २० वैशाख २०७८ १२:४० सोमबार

प्रदेश २ फोकल मन्त्री कोरोना भाइरसको महामारी