स्वास्थ्य

बाँकेमा २४ घण्टाभित्र ११ संक्रमितको मृत्यु

बाँकेमा बितेको २४ घण्टाभित्र ११ जना संक्रमितको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० की ४४ वर्षीया महिलाको मृत्यु भएको छ। उनमा वैशाख १४ गते भेरी अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि १४ गते अस्पतालमा भर्ना भएकी उनको आइतबार अपरान्ह ४ बजेतिर मृत्यु भएको हो।

यस्तै बनगाड कुपिन्डे–१ सल्यानका ३७ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ। यही वैशाख ८ गते भेरी अस्पतालमा पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि १० गते अस्पताल भर्ना भएका थिए। स्वास्थ्यमा कुनै सुधार नआएपछि आइतबार दिउँसो ३ बजेतिर मृत्यु भएको हो।  

यसैगरी कोहलपुर नगरपालिका वडा नम्बर १५ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। वैशाख १० गते नेपालगन्ज मेडिकल कलेजमा पीसीआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि वैशाख १४ गते आयुर्बेद अस्पताल कोहलपुरको आइसोलेसनमा भर्ना भएका उनको आइतबार बिहान १० बजे मृत्यु भएको हो।  

त्यस्तै, जानकी गाउँपालिका वडा नम्बर ४ बाँकेकी २३ वर्षीया महिलाको आइतबार बिहान ११ः३० बजे भेरी अस्पतालमा मृत्यु भएको हो। भेरी अस्पतालमा यही वैशाख १७ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उनी भोलिपल्ट अस्पताल भर्ना भएकी थिइन्।  

त्यसैगरी बागचौर नगरपालिका वडा नम्बर १२ सल्यानका ५२ वर्षीय पुरुषको भेरी अस्पतालमै मृत्यु भएको छ। स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनको आइतबार बिहान ११ः५५ बजे मृत्यु भएको हो। यही वैशाख १३ गते भेरी अस्पतालमा पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ भएपछि उनी भोलिपल्ट अस्पतालमा भर्ना भएका थिए।

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर २ बाँके निवासी ६९ वर्षीया महिलाको होम आईसोलेसनमा मृत्यु भएको हो। नेपालगन्ज मेडिकल कलेजमा यही वैशाख १५ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। कोरोना पोजेटिभ भएपछि उनी सोही दिनदेखि होम आईसोलेसनमा बसेकी थिइन्। स्वास्थ्यमा सुधार नआएपछि आइतबार बिहान अस्पताल लैजाँदै गर्दा घरमै मृत्यु भएको हो।  

बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ७ निवासी ५८ वर्षीया महिलाको पनि मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनको आइतबार बिहान ९ः५० बजेतिर मृत्यु भएको हो। नेपालगन्ज मेडिकल कजेल शिक्षण अस्पताल नेपालगन्जमा यही वैशाख १५ गते भर्ना भएकी उनलाई भोलिपल्ट पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो।  

कोहलपुर नगरपालिका वडा नम्बर ११ निवासी ४० वर्षीया महिलाको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा यही वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसको भोलिपल्ट भेरी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्यमा कुनै सुधार नआएपछि शनिबार बेलुकी ८ बजेतिर मृत्यु भएको हो।  

यस्तै खजुरा गाउँपालिका वडा नम्बर ३ बाँकेका ५५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। यही वैशाख १७ गते एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो। भोलिपल्ट जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड खजुराको आइसोलेशनमा भर्ना भएका उनको शनिबार बेलुकी सवा ६ बजेतिर मृत्यु भएको हो।  

यसैगरी राजापुर नगरपालिका वडा नम्बर२ बर्दियाका २७ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा यही वैशाख १७ गते पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि भोलिपल्ट मेडिकल कलेजमा भर्ना भएका थिए। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनको शनिबार अपरान्ह साढे ५ बजेतिर मृत्यु भएको हो।  

त्यस्तै बैजनाथ गाउँपालिका वडा नम्बर २ बाँकेका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको छ। यही वैशाख १४ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनलाई वैशाख १७ गते कोरोना पोजेटिभ देखिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि उनको शनिबार बेलुकी ६ बजेतिर मृत्यु भएको हो।  

योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या १ सय २८ र जिल्ला बाहिरबाट बाँकेमा आएर मृत्यु हुनेको संख्या १ सय २१ पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

मृतकको शव नेपाली सेना र परिवारको समन्वयमा व्यवस्थापन गरिएको उनले बताए।

प्रकाशित: १९ वैशाख २०७८ १४:१६ आइतबार

आइसोलेसन कोरोना संक्रमितको मृत्यु