स्वास्थ्य

अस्पतालमा अक्सिजन पाउनै मुस्किल

भूइँमा राखेर उपचार गराइरहेका चिंगाड गाउँपालिकाका प्रेम विक । तस्बिरः नगेन्द्र/नागरिक

चिंगाड गाउँपालिकाका प्रेम विक कर्णाली कोरोना अस्पतालमा भर्ना भएको एक साता भयो । प्रेमलाई दैनिक चार सिलिण्डर अक्सिजन आवश्यक पर्छ । आवश्यकता अनुसार प्रेमले अक्सिजन पाएका छैनन् । हेरचाहमा खटिएकी भाउजु कमलालाई अक्सिजनको जोहो गर्न मै ठिक्क हुन्छ । ‘गाडीबाट सिलिण्डर झार्ने वित्तिकै खोसाखोस हुन्छ,’ कमलाले भनिन्, ‘अक्सिजन नपाएरै देवरको ज्यान जाला जस्तो भैसक्यो ।’

अस्पतालमा दैनिक कोरोना संक्रमितहरु थपिँदै छन् । सुर्खेतका निजी अस्पताल, क्लिनिक र मेडिकलबाट अक्सिजन ल्याउँदा पनि माग अनुसार पूर्ति गर्न सकिएको छैन । अहिलेकै अवस्था अझै एक–दुई दिनसम्म रहेमा अक्सिजन नपाएरै विरामीले मृत्युवरण गर्नुपर्ने चिकित्सकहरुले चेतावनी दिएका छन् ।

कोरोना अस्पतालमा अहिले ५० जना संक्रमित छन् । उनीहरुका लागि एक दिनमा १५० देखि दुई सय सिलिण्डर अक्सिजन आवश्यक पर्छ । समुदायस्तरमा फैलिएको संक्रमणका कारण दैनिक १० देखि १५ जना अक्सिजन दिनुपर्ने नयाँ संक्रमितहरु अस्पताल पुग्ने गरेका छन् । ‘आजका मितिसम्म सप्लायर्सले दैनिक एक सयदेखि १२० वटासम्म सिलिण्डर नेपालगञ्जबाट भरेर ल्याउँछन्,’ कोरोना फोकलपर्सन डा. केएन पौडेलले भने, ‘आवश्यकता दुई सयभन्दा बढी छ ।’  

डा. पौडेलका अनुसार दैनिक विरामीको संख्या बढ्दै गएको छ । विरामीको चाप अनुसार दैनिक २० देखि ३० वटासम्म अक्सिजन सिलिण्डर थप हुनुपर्नेमा सामान्य अवस्थामा भन्दा पनि सिलिण्डरको संख्या घट्दो छ । ‘अहिलेकै अवस्था एक–दुई दिनसम्म कायम रह्यो भनेपनि अक्सिजन नपाएर विरामीहरुले ज्यान गुमाउनुपर्ने अवस्था आउँछ,’ उनले भने, ‘सरोकारवाला सबैले यसतर्फ ध्यान दिन आवश्यक छ ।’

कर्णाली प्रदेश अस्पतालमा एउटा अक्सिजन प्लान्ट सञ्चालनमा छ । त्यसले २४ घण्टामा जम्मा १० वटा मात्रै सिलिण्डर भर्न सक्छ । पाइपलाइनबाट दिँदा १५ देखि १६ बेडसम्मलाई धान्छ । नयाँ भवनमा नयाँ अक्सिजन प्लान्ट बन्दैछ । यसको क्षमता पनि १० देखि १५ बेडको हो ।  

कर्णाली प्रदेश अस्पतालका चिकित्सक डा. नवराज केसी विवाह, ब्रतबन्ध र भिडभाड हुने कार्यक्रम रोक्न सकेको खण्डमा पनि अस्पतालमा विरामीको चाप कम हुने बताउँछन् । ‘पछिल्लो दुई दिनमा मृत्यु भएका मध्ये तीन जना एउटै विवाह भोजमा सहभागी भएका संक्रमितहरु थिए,’ डा. केसीले भने, ‘विवाह, ब्रतवन्धलगायतका कार्यक्रम निर्वाध सञ्चालन हुँदा कोरोना संक्रमण बढिरहेको छ ।’ उनले एउटै विवाह भोजमा सहभागी भएकाहरु मध्ये ८० देखि १०० को हाराहारीमा संक्रमित भएको र तीन जनाको मृत्यु भएको घटनाबाट पाठ सिक्दै यस्ता कार्यक्रममा पूर्ण प्रतिवन्ध लगाइनुपर्ने बताए ।

डा. केसीले कोरोना अस्पतालमा विरामीको संख्या बढ्दै गएकाले अस्पतालमा अक्सिजनको चरम अभाव रहेको बताए । ‘अस्पतालमा विरामीहरुले चाप बढ्दै गएकाले अक्सिजन नपाउने अवस्था आइसक्यो,’ उनले भने, ‘यस्तो संकटमा धैर्यता र सहयोगको खाँचो छ ।’

प्रकाशित: १९ वैशाख २०७८ १२:१९ आइतबार

चिंगाड गाउँपालिका कर्णाली कोरोना अस्पताल