स्वास्थ्य

सोमबार रातिदेखि ताप्लेजुङमा निषेधाज्ञा

ताप्लेजुङमा पनि निषेधाज्ञाको तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सोमवार राती १२ बजेबाट निषेधाज्ञा जारी गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए।

त्यसका लागि आइतवार अपरान्हमा कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिको बैठक समेत बोलाइएको छ। कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि निषेधाज्ञाको तयारी गरिएको स्थानीय प्रशासनले जनाएको छ।  

फुङ्लिङका बजार पसल ७ दिन बन्द हुने

यस्तै कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि ताप्लेजुङका उद्योगी व्यवसायीले सोमवारबाट ७ दिनका लागि फुङ्लिङ बजार बन्द गर्ने निश्कर्ष निकालेका छन्। 

आइतवार बिहान बसेको ताप्लेजुङ उद्योग बाणिज्य संघको बैठकले तत्कालका लागि सोमवारबाट ७ दिन सम्म बजार पसल बन्द गर्ने निश्कर्ष निकालेको ताप्लेजुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीले जानकारी दिए।

कोरोनाको दोस्रो भेरिएन्ट सुरु भए यता ताप्लेजुङमा २ पुरुष र १ महिला गरी कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ। सोमवारबाट बजार पसल बन्द भनेपनि फुङ्लिङका केहि बजार पसल भने आइतवारबाटै बन्द हुन थालेका छन्। 

प्रकाशित: १९ वैशाख २०७८ ०७:४५ आइतबार

ताप्लेजुङमा निषेधाज्ञा