स्वास्थ्य

बाँकेमा थप ९ जना संक्रमितको मृत्यु

क्याप्शन

कोरोना संक्रमणबाट बाँकेमा पछिल्लो २४ घन्टामा (शनिबार साँझसम्म) ९ जनाको मृत्यु भएको छ। भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ दाङका ४६ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको भेरी अस्पतालमा शनिबार दिउँसो ३ बजे मृत्यु भएको हो। भेरी अस्पतालमा वैशाख १३ गते उपचारका लागि भर्ना भएका उनलाई अर्को दिन १४ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो।

यस्तै नेपालगन्ज उपमहानगरपालिका–१ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ। उनी गत १५ गते भेरी अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा सुधार नआएपछि शनिबार बिहान साढे १० बजे उनको मृत्यु भएको हो। नेपालगन्ज उपमहानगरपालिका–४ का ५८ वर्षीया महिलाको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा गत १५ गते भर्ना भएकी उनको शनिबार बिहान ९ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले जनाएको छ।

त्यस्तै दंगिशरण गाउँपालिका–१ दाङका ६० वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१० की ५५ वर्षीया महिला, कोहलपुर नगरपालिका–११ का ३५ वर्षीय पुरुष कपिलवस्तु कृष्णनगर नगरपालिका–५ का ५१ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–१७का ४५ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–६ का ४७ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु भएका सबै वैशाख १५ गते उपचारका लागि अस्पतालमा भर्ना भएका थिए।

यो सँगै कोरोना संक्रमणबाट बाँकेमा शनिबार साँझसम्म मृत्यु हुनेको दुई सय ३८ पुगेको छ। जसमध्ये १ सय २० जना बाँके जिल्लामा स्थायी घर भएका छन् भने १ सय १८ जना जिल्ला बाहिरबाट उपचारका लागि नेपालगन्ज ल्याइएका रहेको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। मृतकको शव नेपाली सेना र परिवारको समन्वयमा व्यवस्थापन गरिँदै आइएको छ।

प्रकाशित: १९ वैशाख २०७८ ०२:०८ आइतबार

कोरोना संक्रमण संक्रमितको मृत्यु