स्वास्थ्य

स्कुल र रंगशालालाई अस्थायी अस्पताल बनाउन सुझाव

कोरोना संक्रमितको संख्या लगातार बढिरहेको अवस्थामा काठमाडौं उपत्यकाका अस्पतालले बिरामीको चाप थेग्न नसक्ने भन्दै चिकित्सकले पार्टी प्यालेस, विद्यालय र रंगशालामा अक्सिजनसहित ‘मेकसिफ्ट’ अस्पताल सञ्चालन गर्न माग गरेका छन्। राजधानीमा निजी क्षेत्रको ठूलो अस्पताल मानिने ग्रान्डी इन्टरनेसनलका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले  

ट्विट गर्दै भनेका छन्, ‘कोभिड–१९ उपचारका धेरै अनुरोधलाई स्वीकार गर्न नसकिने असहाय अवस्था सिर्जना भएको छ। त्यसैले पर्याप्त अक्सिजनको व्यवस्थासहित राजधानीका पार्टी प्यालेस, विद्यालय र रंगशालालाई अस्थायी अस्पताल (मेकसिफ्ट अस्पताल) बनाउनुपर्ने समय आइसकेको छ।’  

डा. पाण्डेले अस्थायी अस्पताल बनाउन सैनिक, प्रहरी र स्वयंसेवकको सहयोग लिन सकिने र यसका लागि कार्यम्ूलक निर्देशिका बनाउन सकिने उल्लेख गरेका छन्। कोरोना महामारीको पहिलो लहरका क्रममा चीनले बुहानमा १ हजार शय्या अस्थायी अस्पताल १० दिनमै बनाएर विश्वलाई अचम्मित पारेको थियो।

कोरोनाका बिरामीले काठमाडौं उपत्यकाका अधिकांश अस्पतालका सघन उपचार कक्ष भरिभराउ रहेको चिकित्सक बताउँछन्। डा. पाण्डेले बुधबार राति गरेको उक्त ट्विटप्रति प्रतिक्रिया दिँदै लाकुरी नामका ट्विटर प्रयोगकर्ताले कोभिड–१९ अस्थायी अस्पताल तत्काल घोषणा गर्न, अनावश्यक सर्जरी तत्काल बन्द गर्न, तोकिएका अस्पतालका हाइकेयर र पोस्ट अपरेटिभ वार्ड उपयोग गर्न, हरेक अस्पतालले कोरोनाका बिरामीलाई अनिवार्य रूपमा राख्नुपर्ने औंल्याएका छन्। घ्रिताकौशिका नामका अर्का ट्विटर प्रयोगकर्ताले डा. पाण्डेको यो सल्लाह आमनागरिकका लागि नभई प्रधानमन्त्रीलाई हुनुपर्ने जनाएका छन्।

यसअघि मंगलबार नेपाल मेडिकल एसोसिएसनले कोरोनाको दोस्रो महामारी क्रममा अस्पतालमा शड्ढया, औषधि, अक्सिजन अभावका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको दुखद परिस्थितिप्रति चिन्ता व्यक्त गरेको थियो। एसोसिएसनले बढी संक्रमित भएका जिल्लामा मेडिकल इमरजेन्सी घोषणा गर्नुपर्ने, नियमित स्वास्थ्य परीक्षण तथा इलेक्टिभ सर्जरी बन्द गर्दै सरकारी, मेडिकल कलेज तथा निजी अस्पतालका वार्डलाई कोभिड–१९ का बिरामीको उपचारमा प्रयोगमा ल्याउन माग गरेको थियो।

एसोसिएसनले महामारी समुदाय तहमा व्यापक तबरले फैलिसकेका कारण परीक्षण र कन्ट्याक्ट ट्रेसिङको दायरा तत्काल बढाउन पनि माग गरेको थियो। यसैबीच पूर्वसभामुख दमननाथ ढुंगानाले सतर्क रहँदारहँदै पनि कोभिड–१९ को लहरले आफूलाई पनि गाँजेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। कोरोनाका कारण ‘उस्तो अप्ठेरो नभएको र आफ्नो ख्याल गरिरहेको’ उल्लेख गर्दै उनले प्रश्न गरेका छन्, ‘समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणमा सरकार के गर्दै छ त ?’

सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारले बिनातयारी घोषणा गरेको निषेधाज्ञाप्रति असन्तुष्टि पोखेका छन्। आफ्नो ट्विटर हेन्डलमा च्यवन नाम गरेका प्रयोगकर्ता लेख्छन्, ‘डेढ वर्षमा हामीले कोरोनाविरुद्ध सजगता, संयमता र तयारी गरेको भनेकै लकडाउन हो। लापरबाह जनतालाई मास्क लगाउन भनियो तर राज्य आफैं भीड जम्मा पारेर उद्घाटन र शिलान्यासमा लिप्त भयो। न अस्पतालको क्षमता बढ्यो न जनशक्ति। 

अस्पतालमा बेड नहुनुको विकल्प लकडाउन।’ मंगलबार विश्व स्वास्थ्य संगठनका प्रवक्ता टारिक जासारेभिकले भारतमा पछिल्ला दिनमा फैलिएको कोरोना महामारीमा भाइरसको नयाँ प्रजाति मात्र जिम्मेवार नभएको र यसका लागि भीडभाड, राजनीतिक सभा, सम्मेलन र खोपको कमजोर दर पनि उत्तिकै कारक रहेको बताएका थिए। कोरोनाको दोस्रो लहरका लागि आत्मतुष्ट व्यवहार पनि जिम्मेवार रहेको उनको तर्क थियो।

प्रकाशित: १७ वैशाख २०७८ ०१:२५ शुक्रबार

स्कुल र रंगशालालाई अस्पताल बनाउन सुझाव