स्वास्थ्य

रेमडिसिभिर औषधि अभाव

कोरोना संक्रमणका बिरामी बढेसँगै यसको उपचारमा आवश्यक रेमडिसिभिर औषधिको अभाव भएको छ। यो औषधिको प्रयोगले गम्भीर तहका कोरोना संक्रमितलाई संक्रमण अवधि कम गर्न सहयोग गर्छ।  

टिचिङ अस्पतालको फार्मेसीमा चार दिनदेखि यो औषधिको अभाव भएपछि अन्य अस्पतालबाट ल्याएर संक्रमितको उपचार गरिएको अस्पतालका छातीरोग विशेषज्ञ डा. निरज बमले बताए। फार्मेसीहरूमै यो औषधि नभएको डा. बमले जानकारी दिए। वीर अस्पतालको फार्मेसीमा ६० भाइलमात्र रहेको अस्पतालका कोभिड उपचार संयोजक डा. अच्युत कार्कीले बताए। एउटा बिरामीका लागि ६ भाइल औषधि प्रयोग गर्नुपर्छ। वीर अस्पतालमा कोभिडका ७६ जना बिरामी भर्ना भएका छन्। ‘अब यहींका बिरामीलाई रेमडिसिभिर पुग्ने स्थिति छैन’, कार्कीले भने। बलम्बुस्थित सशस्त्र बल अस्पतालमा रेमडिसिभिर नभएपछि केही दिनअघि वीरबाट मगाएर प्रयोग गरिएको थियो। बजारमा औषधि अभाव भएपछि बिरामीका आफन्तले रेमडिसिभिर खोज्न भौंतारिनुपरेको सशस्त्र बल अस्पतालका कोभिड १९ उपचार संयोजक डा. प्रवीन नेपालले बताए।

राजधानीकै सिभिल अस्पतालले पनि रेमडिसिभिर नभएको जनाएको छ। स्टक रहेको ३० भाइल बिरामीको उपचारमा प्रयोग भइसकेकाले अबको उपचारका लागि खोज्नुपर्ने स्थिति रहेको अस्पतालका डा. विदेश बिष्टले बताए। यो औषधि महँगो भएकाले भण्डारण नगरिएको र बिरामी आफैंले बाहिरबाट किनेर ल्याउने व्यवस्था गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले थोरै मात्रामा खरिद गरेको औषधि सकिएपछि मंगलबार सय भाइल किनेर ल्याएको बताए।

कोरोना संक्रमणबाट अवस्था गम्भीर भएका बिरामीमा प्रयोग गरिने रेमडिसिभिर औषधिको अभाव देखिएको छ । भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव नेपालमा परेको हो ।

यो औषधिको भाउ घट्ने स्थिति भएकाले पनि आपूर्तिकर्ताले धेरै मात्रामा नराखेको हुन सक्ने उनको तर्क छ। कोरोना संक्रमण तीव्र बनेपछि भारतले रेमडिसिभिर र खोप निर्यातमा रोक लगाएको छ। भारतले रोक लगाएपछि नेपालले बंगलादेशको कम्पनीबाट उत्पादित औषधिलाई अनुमति दिएको औषधि व्यवस्था पिभागले जनाएको छ। शुक्रबारसम्म औषधि नेपाल आइपुग्ने विभागका प्रवक्ता सन्तोष केसीले बताए।  

थप ३० जनाको मृत्यु  

कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ। मृतकमध्येमा १२ जनाको गत २४ घण्टाभित्र मृत्यु भएको हो भने १८ जना मृतकमा संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ। गत २४ घण्टामा थप ४ हजार ५ सय २४ जनामा कोरोना पुष्टि भएको छ। यो अघिल्लो दिनको तुलनामा ९ सय ६८ ले बढी हो। गत २४ घण्टामा १५ हजार ६ सय ८१ वटा नमुना परीक्षण भएको थियो। यो हिसाबले संक्रमण दर २८.८५ रहेको छ। थप संक्रमित सहित नेपालमा कुल संक्रमित संख्या ३ लाख ७९ हजार ९ सय २५ पुगेको छ। तीमध्ये २६ हजार २ सय २५ जना सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये २ हजार ८ सय ८३ जनाको संस्थागत आइसोलेसनमा, ३ सय १५ जनाको आइसियुमा र ८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। गत २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा १६ सय २, ललितपुरमा २ सय ४० र भक्तपुरमा १ सय ३४ जना संक्रमित थपिएका छन्। काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की, रूपन्देही, बाँके र दाङमा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ।

प्रकाशित: १५ वैशाख २०७८ ०१:५५ बुधबार

रेमडिसिभिर औषधि अभाव