स्वास्थ्य

कोरोना दोस्रो लहर: सिन्धुलीमा मास्क नलगाउनेलाई कारबाही

सिन्धुलीमा अनिवार्य मास्क लगाउन सुझाउदै बजारमा मास्क बाड्दै सरोकारवालाहरु।

सिन्धुलीमा मास्क लगाउन अनिवार्य गर्न थालिएको छ। देशभर कोरोना भाइरस संक्रमण बढेसँगै सिन्धुलीमा पनि जोखिम बढ्दै गएपछि मास्कलाई अनिवार्य गर्न थालिएको हो। 

विगत एक वर्षअघि निर्माण भएको क्वारेन्टाइन र आइसोलेसनलाई समेत स्तरउन्नती गरि सक्रिय बनाउनु पर्ने कोभिड १९ व्यवस्थापन केन्द्र सिन्धुलीले बताएको छ। दोस्रो लहरको कोरोना भाइरस बढेसँगै सिन्धुलीमा पनि संक्रमितको संख्या बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारीकै रोहबरमा बजारमा मास्क समेत वितरण गरिएको हो। पछिल्लो समय देशभर कोरोना संक्रमण दर बढेको भन्दै संक्रमण रोकथाम तथा न्युनिकरण गर्नका लागि स्वास्थ्य सर्तकता अपनाउन मास्क अनिवार्य गर्न लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए।  

मास्क अनिवार्य लगाउन दबाब दिने र प्रहरी प्रशासनले समेत कडाई गर्ने भएको छ। सिन्धुलीमा रहेका आइसोलेसन र क्वारेन्टाइनलाई तयारी अवस्थामा राख्नुपर्ने र अक्सिजनको समेत तयारी गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र शाहले बताए। जिल्लामा अक्सिजन र क्वारेन्टाइन बढाउनुपर्ने देखिन्छ, उनले भने, कोरोनाको दोस्रो लहरसँगै स्थानिय सरकार फेरी सक्रिय हुनुपर्ने भएको छ। 

बैठकले कोरोना संक्रमित भई मृत्यु भएमा त्यस्ता मृतकको शव व्यवस्थापन गर्न पालिका स्वंयम् स्थान तोक्ने निर्णय गरेको छ। संक्रमित मृतकको शव व्यवस्थापन गर्न पालिका स्वंयमले स्थान तोक्ने र जिल्ला प्रशासन कार्यालयमा त्यसको जानकारी गराउन अनुरोध गरेका छौ, प्रजिअ न्यौपानेले भने। विदेशबाट आउनेलाई अनिवार्य रुपमा दश दिन क्वारेन्टाइनमा राख्नुपर्ने समेत निर्णय भएको छ। सुनकोसी गाँउपालिका प्रमुख दिपा दाहालले सरकारलेनै स्वास्थ्य मापदण्डको पालना नगरेको भन्दै प्रधानमन्त्रीले धरहरा उद्घाटन गर्दा ठुलो संख्यामा नेता कार्यकर्ताको भेला गरि थप जोखिम निम्त्याएको बताइन्। 

प्रकाशित: १४ वैशाख २०७८ ०६:२१ मंगलबार

कोरोना दोस्रो लहर