स्वास्थ्य

पर्सामा संक्रमित साढे आठ सय पुगे

पर्सामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या आठ सय ४८ पुगेको छ। तीमध्ये ९४ प्रतिशतभन्दा बढी होम आइसोलेसनमा छन्। जिल्ला प्रसाशन कार्यालय पर्साका प्रसाशकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार जिल्लामा रहेका सक्रिय संक्रमितमध्ये ३७ जना नारायणी अस्पताल र १३ जना नारायणी बयोधा अस्पतालमा भर्ना भएका छन्। बाँकी ७ सय ९८ जना होम आइसोलेसमा रहेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ।

संख्या बढ्दै गएपछि अस्पतालमा नयाँ बिरामी राख्न ठाउँ छैन। नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरजकुमार सिंहले एउटै बेडमा ३ जना राखेर उपचार भइरहेको बताए। डा. सिंहका अनुसार वीरगन्जको अवस्था भयावह छ। वीरगन्ज क्षेत्रमा लकडाउन गर्न जरुरी भइसकेको उनको भनाइ छ।

सिकिस्त संक्रमितलाई अक्सिजन सपोर्टमा राखेर उपचार भइरहेको असपतालका कोभिड संयोजक डा. सरोजरोसन दासले जानकारी दिएका छन्। पर्सामा सोमबार बिहान थप एक संक्रमितको मृत्यु भएको छ। कोरोनाको दोसो लहर सुरु भएयता वीरगन्जका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुने संक्रमितको संख्या १२ पुगेको छ। यसमा ९ जना पर्साका छन्। सरोकारवालाले नेपाल–भारत सीमामा आवागमन नियन्त्रित गर्न र समुदायमा जनस्वास्थ्य मापदण्डा पालना गराउन जरुरी भएको बताएका छन्। पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले कोरोना संक्रमण नियन्त्रण गर्न पहल भइरहेको बताए। उनले नारायणी अस्पतालमा कोरोना संक्रमितका लागि ४२ बेड रहेकोमा सय बेड बनाउन काम भइहेको बताए। 

प्रकाशित: १४ वैशाख २०७८ ०१:५३ मंगलबार

पर्सामा संक्रमित आठ सय पुगे