स्वास्थ्य

कालोबजारीले घरमै उपचार पनि कठिन

भारतका राजधानी नयाँ दिल्लीसहित अन्य सहरका अस्पतालमा शय्याको अभाव भएपछि बिरामीहरू घरमै बसेर उपचार गर्न बाध्य भएका छन्। आवश्यक औषधि तथा अक्सिजन सिलिन्डरको कालोबजारी बढेको छ भने प्रमाणित नभएका औषधि बजारमा देखिन थालेका छन्।

सोमबार भारतमा ३ लाख ५२ हजार ९ सय ९१ कोरोना बिरामी थपिएका छन्। भारतमा लगातार पाँच दिनसम्म संक्रमितको संख्या ३ लाख नाघेको छ। नयाँ दिल्लीनजिकै नोयडा सहरकी स्थानीय अन्सु पटेलले बिग्रँदो स्वास्थ्य भएका आफ्ना ससुराका लागि अस्पतालमा शय्या पाउन सकिनन्। आइतबार दिनभर अक्सिजन सिलिन्डरको खोजी गरे पनि उनले भेट्टाइनन्। अन्ततः उनले कालोबजारमा ५० हजार भारतीय रूपैयाँ तिरेर एउटा सिलिन्डरको जोहो गरिन्। यो सिलिन्डरको मूल्य यसअघि ६ हजार रूपैयाँमात्र थियो।

दिल्लीमा मात्र होइन, लखनउ, अलाहबाद, इन्दोर र अन्य सहरमा पनि यही समस्या छ। अस्पतालमा शय्या नपाएपछि बिरामी घरमै उपचार गर्न बाध्य बनेका छन्। तर सबैले यसरी कालोबजारमा चर्काे मूल्य तिरेर अक्सिजनको सिलिन्डर खरिद गर्न सक्दैनन्। शय्या नपाएर अस्पताल परिसरमै धेरैको ज्यान गएको छ।

बिबिसीले अक्सिजन सिलिन्डरका आपूर्तिकर्तालाई फोन गर्दा धेरैजसोले सामान्य मूल्यभन्दा १० गुणा बढी मागेका थिए। विशेषगरी भारतको राजधानी नयाँ दिल्लीमा सघन उपचार कक्षमा शय्याको अभाव रहेकाले निकै कठिनाइ भइरहेको छ। डाक्टर र नर्सको सेवा घरमै लिन सक्नेले घरमै बोलाएर परिवारजनको उपचार गरिरहेका छन्। तर रगतको जाँच, सिटी–स्क्याान र एक्सरे गर्न उनीहरूले संघर्ष गर्नुपरिरहेको छ। भीडका कारण प्रयोगशालाले तीन दिनसम्म रिपोर्ट उपलब्ध गराउन सकेका छैनन्।  यसले गर्दा चिकित्सकले बिरामीलाई रोगले कति च्यापेको छ भनेर यकिन गर्न कठिनाइ भइरहेको छ। यो ढिलाइले बिरामीलाई जोखिममा पारेको चिकित्सक बताउँछन्। भाइरस संक्रमण पत्ता लगाउने आरटी पिसिआर परीक्षणको नतिजा आउन पनि धेरै दिन लाग्ने गरेको छ।

दिल्लीका एक चिकित्सकले ठूलो दुःखद घटनाको त्रासदी रहेको बताए। एन्टिभाइरल ड्रग रेमडिसिभिरको अभाव रहेकाले आफ्ना परिवारजनको घरमै उपचार गरिरहेकाले यो औषधिको आवश्यकता पर्न सक्ने ठानेर यसको जोहो गर्न तछाडमछाड गरिरहेका छन्। बिबिसीले यो औषधिका आपूर्तिकर्तालाई फोन गर्दा उनीहरूले महँगो मूल्यमा यो औषधि बेचेको स्वीकार गरे। भारत सरकारले यो औषधिका सात उत्पादकलाई उत्पादन बढाउन अनुरोध गरे पनि बजारमा यो औषधि सुलभ रूपमा उपलब्ध हुन सकेको छैन। 

इपिडेमिलोजिस्ट डा.ललित कान्तले उत्पादन बढाउन सरकारले गरेको अनुरोध ढिलो भएको बताए। कालो बजारमा यो औषधि प्राप्त हुनुले आपूर्ति प्रणालीमा चुहावट रहेको र नियमनकर्ताले यसको नियन्त्रण गर्न नसकेको उनको तर्क छ। ‘हामीले पहिलो लहरबाट केही सिकेनौं,’ उनले भने। यसैगरी अर्काे अत्यधिक माग रहेको औषधि टोसिलिजुमाब हो। अत्यन्त सघन बिरामीलाई भेन्टिलेटरमा जानबाट रोक्न यो औषधि प्रभावकारी बताइएको छ। यो औषधिको एक भायलका लागि ३२ हजार ४ सय ८० रूपैयाँ पर्छ। तर यसलाई २ लाख ५० हजार तिर्न बिरामी बाध्य छन्। जनस्वास्थ विज्ञ अनन्त भान सरकारले यस्ता औषधि आफैंले खरिद गरेर उपलब्ध गराउनुपर्ने ठान्छन्। ‘सरकारले महामारी आउँछ भनेर पूर्वानुमान गर्न सकेन र त्यसलाई रोक्न योजना बनाउन सकेन,’ उनी भन्छन्।

यसैगरी कालोबजारमा उपलब्ध औषधिको विश्वसनीयतामा पनि प्रश्न उठेको छ। बिबिसीले रेमडिसिभिरको प्याकेजमा उल्लेख गरिएको हिज्जे गलत रहेको पाएको छ र उत्पादक कम्पनीको नाम इन्टरनेटमा समेत उपलब्ध नरहेको पाइएको छ। औषधिको आधिकारिकता पुष्टि नभए पनि मानिसहरू यस्ता औषधि खरिद गर्न बाध्य छन्। सामाजिक सञ्जालमा औषधि तथा अक्सिजन आपूर्तिकर्ताका नाम सेयर हुने गरेको छ। तर यी आपूर्तिकताको आधिकारिकता नहुँदा कतिपय मानिसहरू ठगिएका छन्। ‘अस्पतालमा उपचार त सम्भव भएन, आफ्ना परिवारजनको घरमै उपचार गर्न पनि झन कठिन बनेको छ,’ सूचना प्रविधिको क्षेत्रमा काम गर्ने दिल्लीका एक स्थानीयले बिबिसीलाई बताए। (बिबिसी)

प्रकाशित: १४ वैशाख २०७८ ०१:२५ मंगलबार

कालोबजारीले उपचार पनि कठिन