स्वास्थ्य

भेरी अस्पतालमा उपचाररत संक्रमित भन्छन्: ‘एउटै बेडमा दुईजना बस्नुपरेको छ’

नेपालगन्ज–२ घरबारी टोलका व्यापारी हिमलाल न्यौपाने र उनकी पत्नी दुर्गादेवी चार दिनदेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका छन्। उक्त वार्डको ४५ नम्बर बेडमा यी दम्पतीले आलोपालो गरेर कोरोनाको उपचार गराइरहेका छन्। हिमलालको भन्दा दुर्गादेवीको स्वास्थ्य अवस्था कमजोर छ। श्वासप्रश्वासमा बढी समस्या भएकाले उनलाई अक्सिजन दिइरहनुपर्छ। हिमलाललाई भने छाती दुख्ने समस्या छ।

गत बुधबार कोरोना पोजेटिभ देखिएपछि ५२ वर्षका यी दम्पती अस्पतालमा भर्ना भएका हुन्। ‘श्रीमतीलाई श्वासप्रश्वासमा समस्या भएको हुँदा बल्लतल्ल भर्ना गराएँ। खाली नहुँदा मैले बेड पाइनँ। अहिलेसम्म एउटै बेडबाट बुढाबुढीले उपचार गराइरहेका छौं,’ उनले नागरिकसँग भने।

तीन दिनयता बिरामीको चापले गर्दा अस्पताल भरिभराउ भएको स्मरण गर्दै हिमलालले भने, ‘हिजोअस्तिसम्म त खुट्टा टेक्ने ठाउँ पनि थिएन, एकछिन बेड खाली भए पनि तत्कालै सिरियस बिरामी आएपछि मानवताको नाताले छाडिदिएँ।’ कोभिड वार्डमा भर्ना भएका बिरामीको बोल्दाबोल्दै मृत्यु भएको देख्दा आफ्नो होस नै उडेको हिमलाल बताउँछन्।

‘सेतो कपडा (पिपिई) लगाएका मान्छे कोठामा छिर्नेबित्तिकै मुटु काँप्छ, उनीहरू लास उठाएर बाहिर लैजान्छन्, कसैलाई त भित्र ल्याउँदाल्याउँदै मरेपछि बाटाबाटै फर्काएर लैजानुपर्छ,’ उनले त्यहाँको अवस्था वर्णन गर्दै भने। कोभिड वार्डमा रहेका थोरै संख्याका स्वास्थ्यकर्मीले बिरामीलाई गरेको नियमित हेरचाह र सेवा अविस्मरणीय रहेको हिमलालले सुनाए। उनले भने, ‘साना नानीहरू धेरै मेहनती रहेछन्, उनीहरूले गरेको सेवा देख्दा गज्जब लाग्यो।’

भेरी अस्पतालकै कोभिड वार्डमा नेपालगन्ज–२ बुद्धनगरका ५५ वर्षीय चित्रबहादुर डाँगी पनि कोभिडसँगै लडिरहेका छन्। उक्त वार्डको १६ नम्बर बेडमा उपचाररत उनलाई कोरोना संक्रमणका कारण छातीमा इन्फेक्सन भएको छ। यसले गर्दा नियमित रूपमा अक्सिजन चढाइरहनुपर्छ। ५५ वर्षीय चित्रबहादुरको स्याहारसुसारमा उनकी पत्नी दिनरात खटिरहेकी छन्। तीन दिनदेखि उपचार गराइरहेका उनको स्वास्थ्यमा केही सुधार आएको छ।  

तर अक्सिजन भने नियमित रूपमा चाहिन्छ। ज्वरो र टाउको दुख्ने समस्या बल्झिएपछि पिसिआर परीक्षण गर्दा उनलाई वैशाख ९ गते कोरोना पोजेटिभ देखिएको थियो। अस्पतालमा बढेको बिरामीको भिड र सीमित संख्याका डाक्टर र स्वास्थ्यकर्मी देख्दा उनलाई बाँच्ने आशा थिएन। तर, सोमबार आफ्नो स्वास्थ्यमा केही सुधार आएकाले छिट्टै निको भएर घर फर्किने मनोबल बढेको छ। ‘अलिकति फोक्सोमा संक्रमण भएको हुँदा सास फेर्न गाह्रो छ, अब त धेरै ठीक भएको छु, बाँच्ने आशा पलाएको छ,’ उनले भने।

दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै जाँदा यहाँका अस्पतालमा बिरामीको भिडभाड हुनु अचेल नौलो हुन छाडिसकेको छ। अस्पतालको इमेर्जेन्सी कक्षदेखि कोभिड वार्डसम्म बिरामीको ताति नै लागेको हुन्छ। कोरोनाका शंकास्पद बिरामीको चाप पनि अस्पतालमा उत्तिकै छ। शंकास्पद बिरामीले न पिसिआर परीक्षण गर्ने पालो पाउँछन्, न त भर्ना भएर बस्न बेड। यसले गर्दा अस्पतालमा बिरामीको बिजोग नै हुन्छ।

कोरोनाको शंका लागेपछि नेपालगन्ज, कोरियनपुरका सन्तोष ओलीले आफ्नी आमालाई लिएर सोमबार बिहान १० बजेतिर भेरी अस्पताल पुगेका थिए। छाती दुख्ने, खकारमा रगत आउने र ज्वरो आउने लक्षण रहे पनि उनले सोमबार बेलुकीसम्म पनि आमाको पिसिआर परीक्षण र अस्पतालमा भर्ना गराउन सकेनन्। ‘कोरोना परीक्षण गराउनलाई पालो पाइएन, आमालाई गाह्रो भइरहेको छ, वार्डमा भर्ना गराउन खोज्दा बेड नै पाइएन,’ उनले भने।

भेरी अस्पतालमा हाल २ सय बेड क्षमताको कोभिड वार्ड रहेको छ। यसअघि रहेको १ सय ४२ लाई बढाएर २ सय पु¥याइएको छ। यसमध्ये १ सय ३० बेडको जनरल, ६० बेड आइसियु र १० बेडको भेन्टिलेटर रहेको छ। उक्त अस्पतालमा सोमबार बेलुकीसम्म २ सय १० को हाराहारीमा कोरोना संक्रमित भर्ना भएका छन्। तीमध्ये ७० जना जति सिकिस्त छन्।

अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. पारस पाण्डे कोरोना संक्रमितको चाप अझै पनि कायमै रहेको बताउँछन्। बिरामीको चाप बढेका कारण सोमबार बेलुकीसम्म कोभिड वार्डका सबै बेड भरिएको उनले जानकारी दिए। ‘बेड अहिले पनि पुरै प्याक छन्, स्वास्थ्यमा केही सुधार भएका कतिपय डिस्चार्ज भएका बिरामी पनि घर जान मानेनन्,’ पाण्डेले भने, ‘उनीहरूलाई काउन्सेलिङ गर्नुपर्ने अवस्था आएको छ।’ अस्पतालले बिरामीको चाप कम गर्न पछिल्लो समयमा अक्सिजन आवश्यक पर्ने खालका बिरामीलाई मात्र भर्ना गर्ने गरेको छ।

अस्पताललाई ८० जना कर्मचारी भर्ना गर्न स्वीकृति

कोरोना संक्रमित तीव्र रूपमा बढे पनि जनशक्ति कम भएको समाचार बारम्बार आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालका लागि १० जना मेडिकल अफिसर, दुईजना नर्सिङ अधिकृत, ४० जना स्टाफ नर्स, पाँचजना ल्याब टेक्निसियन, तीनजना एनेस्थेसियोलोजिस्ट र २० जना सरसफाइकर्मी गरी ८० कर्मचारी भर्ना गर्न स्वीकृति दिएको छ।

यी कर्मचारीलाई तीन महिनाका लागि आवश्यक सेवासुविधा प्रदान गर्न मन्त्रालयले ६८ लाख ७ हजार रूपैयाँ उपलब्ध गराउने उल्लेख गरेको छ। सोहीअनुसार अस्पतालले सोमबार नै तीनजना एनेस्थेसियोलोजिस्ट, १० जना मेडिकल अधिकृत, दुईजना नर्सिङ अधिकृत, पाँचजना ल्याब टेक्निसियन र ४० जना स्टाफ नर्स पदपूर्तिसम्बन्धी सूचना प्रकाशित गरिसकेको छ।

भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले अस्पतालमा रहेको कोभिड वार्डको तुलनामा कर्मचारीको संख्या कम भएकाले मन्त्रालयसँग नयाँ कर्मचारी माग गरिएको बताए। उनले भने, ‘कर्मचारी कम हुँदा उपचार गर्न निकै समस्या भएको कुरा मन्त्रालयसँग गरेपछि माथिबाट स्वीकृत भएर आइसकेको छ, कर्मचारी भर्नाका लागि आजै (सोमबार नै) सूचना प्रकाशन गरिसकेका छौं।’

प्रकाशित: १४ वैशाख २०७८ ०१:०० मंगलबार

भेरी अस्पताल