स्वास्थ्य

आज राति १२ बजेदेखि बाँके जिल्लाभर लकडाउन

कोरोना संक्रमण बढेपछि सुनसान बनेको नेपालगन्ज बजार। तस्बिर: नागरिक

नयाँ भेरियन्टसहित कोरोना भाईरस तीव्ररुपमा बढिरहेको अवस्थालाई गम्भिरतापूर्वक लिदै स्थानीय प्रशासनले बाँके जिल्लालाई सोमबार(आज) राती १२ बजेबाट निषेधाज्ञा जारी गरेको छ। यसअघि कोरोना संक्रमण तीव्ररुपले बढेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र यही बैशाख ९ देखि १५ गतेसम्म तथा कोहलपुर नगरपालिकामा बैशाख १२ गतेदेखि १९ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको थियो ।  

मन्त्रीपरिषदको २०७८ बैशाख ६ गतेको आदेश, संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बाँके जिल्लाभरी यही बैशाख २० गते राती १२ बजेसम्म हिडडुल गर्न निषेध गरिएको हो। अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा-बैक तथा वित्तीय संस्था समेत, सवारी साधन, पसल ब्यवसाय, हाट बजार सञ्चालन र अत्यावश्यक काम बाहेकको हिडडुलमा समेत निषेध गर्ने गरी आदेश जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।  

उनका अनुसार निषेधित क्षेत्रभित्र स्वास्थ्य, शान्ति सुरक्षा, बिद्युत, दुरसञ्चार, खानेपानी, फोहोरमैला ब्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा, सार्बजनिक निर्माण कार्य, पुर्वनिर्धारित परिक्षा, हवाई सेवा भने सञ्चालन गर्न पाइनेछ ।  

निषेधाज्ञाका क्रममा एम्बुलेन्स, शव वाहन, दमकल, झण्डावाल सवारी र निलो (कुटनितिक) प्लेटका सवारी साधन, लामो दुरीका सवारी तथा मालवाहक साधन, निर्माण सामाग्री ढुवानीका साधन, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधन, अनुमति (पास) प्राप्त सवारी साधन सञ्चालन हुन पाउने स्थानीय प्रशासनले जनाएको छ ।  

‘माथी उल्लेखित सेवा एवं कार्यमा संलग्न कर्मचारी/व्यक्तिहरुले अनिवार्य रुपमा कर्मचारी परिचय पत्र एवं अन्य सान्दर्भिक कागजात साथमा राखेको हुनुपर्नेछ, साथै मास्क, भौतिक दुरी लगायत जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गरी दैनिक उपभोग्य बस्तु (तरकारी, खाद्य, दुध, ग्याँस)का पसल बिहान ६ बजेदेखी ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ,’ सूचनामा उल्लेख छ । उक्त आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

प्रकाशित: १३ वैशाख २०७८ ०६:४८ सोमबार

बाँके जिल्लाभर लकडाउन