स्वास्थ्य

खोप लिएकाबाट अरूलाई कोरोना सर्ने सम्भावना उच्च

कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएका दुवैलाई कोरोना भाइरसको संक्रमणबाट बच्न परिवार कल्याण महाशाखा तथा विज्ञले सुझाएका छन्। नेपालमा हालसम्म करिब २० लाखजनाले कोरोनाविरुद्धको पहिलो डोजको मात्रा लिइसकेका छन् भने ४ लाख ३८ हजार जनाले दोस्र्रो मात्रा पनि लिइसकेका छन् । यो हिसाबले कुल जनसंख्याको ७ प्रतिशतले खोप लिएका छन् ।

खोप लिएका व्यक्तिमा पनि कोरोना संक्रमण हुने र उनीहरूबाट अरूलाई सर्ने भएकाले जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड–१९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा. श्यामराज उपे्रतीका अनुसार कोरोना भाइरस नयाँ रोग भएको र नयाँ रोगको खोप भएकाले यसको प्रभावकारिता अवधि हेर्न बाँकी छ। खोप उत्पादनकर्ताका अनुसार कुनै पनि खोपको रोगसित लड्ने प्रतिरक्षा क्षमता सय प्रतिशत नहुने भएकाले खोप लिएपछि पनि जोखिम कायमै रहन्छ। 

उल्लिखित कारणले खोप लिएका व्यक्तिहरूले पटकपटक साबुनपानीले हात धुने, दुई मिटर भौतिक दूरी कायम राख्ने, सेनिटाइजरको प्रयोग गर्ने र भीडमा नजानेजस्ता मापदण्ड पालना गर्नुपर्नेछ। दोस्रो यो खोपले कति अवधिका लागि शरीरमा एन्टीबडी बनाइरहन्छ भन्ने विषय अध्ययनकै क्रममा रहेकाले पनि खोप लिएका व्यक्तिले मादपण्ड पालना गर्नुपर्छ।  

परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पाखरेलका अनुसार खोप लिएका व्यक्तिमा पनि कोरोना संक्रमण हुन्छ। खोप लिएकाहरूमा संक्रमण भए पनि गम्भीर बनाउने र अस्पताल भर्ना हुनेसम्मको समस्या हुँदैन। तर यस्ता व्यक्तिमा कोरोना भाइरस संक्रमण भए परिवारका अन्य सदस्य तथा समूहमा सार्ने भएकाले पनि अहिलेको अवस्थामा झनै सुरक्षित रहनुपर्ने आवश्यक छ।

‘खोप लिएको व्यक्ति आफैं कोरोना संक्रमणबाट सिकिस्त बिरामी नहुन सक्छन् तर उनीहरूबाट अरूलाई सार्छन्, उनीहरू रोग सार्ने माध्यम बन्न सक्छन्,’ उनले भने। कोरोना भाइरस खोप लिएका व्यक्तिको घाँटीसम्म पुगेको हुन्छ, त्यही अवधिमा अरूलाई सार्न सक्ने सम्भावना हुन्छ। खोप लिएका धेरै व्यक्ति संक्रमित भए पनि उनीहरूमा गम्भिर प्रकारको लक्षण नदेखिने हुनाले पनि धेरैलाई चाहिँ सार्न सक्छन्। तर यो खोपले युके भेरियन्ट र कोभिड–१९ सार्स–२ दुवैको हकमा शरीरमा प्रतिरक्षा क्षमता विकास गरेको पाइएको डा. पोखरलले बताए।

प्रकाशित: १३ वैशाख २०७८ ०२:१२ सोमबार

खोप लिएकाबाट अरूलाई कोरोना सर्ने