स्वास्थ्य

अक्सिजन खरिद गर्न भेरी अस्पताललाई नागरिक स्तरबाट सहयोग

भेरी अस्पताललाई अक्सिजन खरिदका लागि रकम हस्तान्तरण गर्दै मोहम्मद सफिक बेहना । तस्बिर : नागरिक

भेरी अस्पतालमा भर्ना भएका कोरोना संक्रमितलाई अक्सिजन अभाव हुन नदिनका लागि नागरिक स्तरबाट सहयोग अभियान सुरु गरिएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले व्यक्तिगत रूपमा दुई लाख रुपैयाँ हस्तान्तरण गरेका छन्। नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणाको उपस्थितिमा भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेण्ट डा. प्रकाश थापालाई बेहनाले शुक्रबार नगद रुपैयाँ हस्तान्तरण गरेका हुन्।

उक्त रकमबाट २ सय थान अक्सिजन सिलिण्डर खरिद गर्न पुग्ने अस्पताल प्रशासनले जनाएको छ। भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. प्रकाश थापाले वडाध्यक्ष बेहनाले अक्सिजन खरिदका लागि अस्पताललाई २ लाख रुपैयाँ हस्तान्तरण गरेको बताए। ‘उहाँले दुई लाख रुपैयाँ अक्सिजनको लागि हस्तान्तरण गर्नु भएको छ, त्यो पैसाले अक्सिजन सिलिण्डर भरेर ल्याउने हो,’ उनले भने। अस्पतालले एउटा ठूलो सिलिण्डर भरेको ९ सय १५ रुपैयाँ बराबरको रकम अक्सिजन उद्योगलाई तिर्दै आएको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाद्वारा व्यक्तिगत रुपमा दुई लाख रुपैयाँ हस्तान्तरण ।

अस्पतालले स्थापना गरेको १ सय ४२ बेड क्षमताको कोभिड वार्ड अहिले पुरै भरिएको छ। उक्त वार्डका संक्रमितका लागि अचेल दैनिक रूपमा २ सय ५० देखि ३ सयवटा सिलिण्डर खपत भइरहेको मेसु थापाले जानकारी दिए। ‘बिरामीको चाप अझ बढ्दै जाने हो भने अक्सिजन अझै चाहिन्छ, अरु अस्पतालमा पनि खपत बढ्न थाल्यो भने त अक्सिजन उद्योगले पनि थेग्न गाह्रो होला,’ उनले भने।

वडाध्यक्ष बेहनाले अस्पतालको अवस्था एकदमै दयनीय देखेर अक्सिजन खरिदका लागि आफूले रकम सहयोग गरेको बताए। ‘मानवीय नाताले अस्पतालका लागि मैले यो सहयोग गरेको हुँ, मैले सहयोग गरिसकेपछि सबैको मनमा सहयोग गर्ने भावना पलाउँछ, सरकारको पनि अस्पतालप्रति ध्यान पुग्नेछ भन्ने विश्वास लिएको छु,’ उनले भने।

जिल्लामा भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजले अहिले कोरोना संक्रमितको उपचार गरिरहेका छन्। नयाँ भेरियन्टका रूपमा देखा परेको कोरोना भाइरस संक्रमितलाई अक्सिजन अत्यधिक मात्रामा आवश्यक परिरहेको चिकित्सकहरू बताउँछन्। विद्युत आपूर्ति नहुँदा उद्योगले अक्सिजन दिन नसकेपछि भेरी अस्पतालमा बिहीबार केही बेर हल्लीखल्ली मच्चिएको थियो।

अस्पतालमा उत्पन्न हुन सक्ने अक्सिजन अभाव कम गर्न नागरिक स्तरबाट पनि सहयोग अभियान सुरु गरिएको छ। नेपालगन्जका सामाजिक अभियन्ता हेमन्तराज काफ्लेको अगुवाईमा सहयोग संकलन अभियान सुरु गरिएको हो। अभियन्ता काफ्लेले अक्सिजनको अभाव पूर्तिका लागि अभियान सुरु गरिएको बताएका छन्।

प्रकाशित: १० वैशाख २०७८ ०९:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App