स्वास्थ्य

नेपालगन्जमा २४ घण्टामा ३ सय ३७ जनालाई कोरोना संक्रमण

नेपालगन्जमा ३ सय ३७ जना नयाँ संक्रमित फेला परेका छन्। बितेको २४ घण्टाभित्र कुल ६ सय ७ वटा स्वाब पपरीक्षण गर्दा २ सय ३ जना पुरुष र १ सय ३४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। यसमध्ये बाँकेका मात्रै २ सय ५८ जना रहेका छन्। भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र जमुनाहा हेल्थडेस्कमा कोरोना परीक्षण गरिएको थियो।

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका नयाँ संक्रमितमा १ सय ४७ जना पुरुष र १ सय ११ जना महिला रहेका छन्। यो सँगै बाँकेका संक्रमित संख्या ६ हजार १ सय ५४ पुगेको छ। ‘यसमध्ये पुरुष ३ हजार ८ सय ३६ र महिला २ हजार ३ सय १८ पुगेको छ,’ ओलीले भने। उनका अनुसार बाँकेमा बिहीवारसम्म ४१ पुरुष र २६ महिला गरी ६७ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। यस्तै बाँकेमा जिल्ला बाहिरका ७३ जना पुरुष र २५ महिला गरी कुल ९८ जनाको मृत्यु भएको केन्द्रको तथ्यांकमा उल्लेख छ।  

पछिल्लो समयमा फेला परेका संक्रमित मध्ये १ हजार २ सय ६६ जना आइसोलेशनमा छन्। यसमध्ये भेरी अस्पतालमा पुरुष ७६ र महिला ६३ गरी १ सय ३९ जना रहेका छन्। जसमध्य ३८ जना सिकिस्त छन्। संक्रमित ७ जनाको भेन्टिलेटमा उपचार भइरहेको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३७ पुरुष र २८ महिला गरी ६५ जनाको उपचार भइरहेको छ। जसमा २० जना सिकिस्त रहेको बताइएको छ।  

होटल ह्वाइट हाउस मनिकापुरमा १० पुरुष र २ महिला गरी १२ जना, कोहलपुर नगरपालिकाको कोभिड अस्पतालमा ५ जना पुरुष र होम आइसोलेशनमा ६ सय ६१ पुरुष र ५ सय २० महिला गरी १ हजार १ सय ८१ जना रहेका छन्। यसैगरी बाहिरी जिल्लाका ७२ जनाले पनि नेपालगन्जमा उपचार गराइरहेका छन्।

८६ वर्षीया महिलाको मृत्यु

कोरोना संक्रमणबाट नेपालगन्जमा थप एक वृद्धाको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा ८६ वर्षीयामहिलाको मृत्यु भएको हो। उनलाई यही बैशाख ७ गते कोरोना पोजेटिभ देखिएको थियो। बुधबार मात्र अस्पतालमा भर्ना भएकी वृद्धाको बिहीबार बिहान २ बजेतिर अस्पतालमा मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए। यो सँगै बाँके जिल्लाका मृतकको संख्या ६७ पुगेको छ।

नेपालगन्जमा लकडाउन जारी

तीव्ररुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि नेपालगन्ज उपमहानगर क्षेत्रलाई बुधबार राती १२ बजेदेखी ‘लकडाउन’ गरिएको छ। स्थानीय प्रशासनले बुधबार राती १२ बजेदेखि बैशाख १५ गते राती १२ बजेसम्मका लागि हिंडडुल गर्न निषेध गरेको हो। प्रशासनले हिंडडुल गर्न निषेध गरेपछि नेपालगन्ज उपमहानगरपालिका क्षेत्र बिहीबार बिहानैदेखी सुनसान देखिएको छ। यद्यपी स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई सर्वसाधारणले पूर्णरुपले पालना गरेको भने पाइदैन। कतिपय व्यक्तिहरु अत्यावश्यक कामका लागि भन्दै बाहिर निस्कने गरेका छन्।

प्रकाशित: ९ वैशाख २०७८ ०८:३८ बिहीबार

नेपालगन्जमा कोरोना संक्रमण