स्वास्थ्य

अन्धोपनविरुद्ध रुइत र कोहलीको सहकार्य

मोतिबिन्दुबाट हुने अन्धोपनविरुद्ध लड्न नेपालका डा. सन्दुक रुइत र भारतका तेज कोहलीबीच सहकार्य हुने भएको छ। विश्वको अति विपन्न समुदायहरूमा व्याप्त उपचारको भेदको अन्त्य गर्दै अन्धोपन हटाउन कोहली एण्ड रुइत फाउण्डेसन औपचारिक रूपमा मंगलबारबाट सुरु भएको हो।  

‘उपचारमा सबैको पहुँच होस् भन्ने हाम्रो चाहना हो,’ तिलगंगा आँखा प्रतिष्ठानमा मंगलबार आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा डा.रुइतले भने, ‘हामीबीच रहेका विशेषज्ञता, स्रोत र नयाँ उत्साहले उज्यालाको नयाँ यात्रा तय गर्न थप सजिलो बनाउने छ।’  

फाउण्डेसनले डा. रुइत तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक विशेषज्ञता र कोहलीको विश्वव्यापी जनस्तर परियोजनाका अनुभवलाई जोड्ने छ। ‘जव तपाईले कसैलाई पूनःदृष्टि दिनुहुन्छ उनीहरूलाई नयाँ ज्योति मात्र हैन, नयाँ जीवन दिनुहुन्छ,’ आफ्नो भिडियो सन्देशमा तेज कोहलीले भने, ‘रुइतसँगको यो सहकार्यमा हामीले सम्भवत दस लाखभन्दा बढी मानिसमा सेवा पुर्‍याउँने छौं।’  

फाउण्डेसनले पहिलो दुई वर्षमा करिब डेढ लाख मोतिबिन्दुको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ। यस कार्यको सुरुवातका रूपमा नेपालको लुम्बिनी, सोलखुम्बु, विराटनगरलगायतका स्थानमा आफ्नो कामको थालनीसमेत गरिसकेको छ।  

‘फाउण्डेसनको लक्ष्य भनेकै स्थानीय समुदायमा हजारांै विपन्नको उपचार गरी पुनज्र्याेति दिने हो,’ मंगलबार जारी सयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यका लागि विभिन्न ठाउँका विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्दै छौं।’ पछिल्लो अनुसन्धानमा गरिब देशहरूमा उपचार नगरिएका  

मोतिबिन्दुको संख्या छिटो बढिरहेको देखिएको छ। विश्वको कुल जनसंख्याको नौ करोडमा मोतिबिन्दुको समस्या देखिएकोमा एकतिहाइको मात्र शल्यक्रियामा पहुँच रहेको छ।फाउण्डेसनले सन २०२६ सम्म विश्वका अति विपन्न समुदायमा मोतिबिन्दुबाट दृष्टिविहीन चार लाखको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ। ‘जब हामी आँखाको उपचार गरेर नयाँ दृष्टि दिने छौं,’ कोहली थप्छन्, ‘उनीहरू आर्थिकरूपमा सक्रिय भएर परिवारको हेरचार गर्ने अवस्थामा पुग्नेछन्।’ 

प्रकाशित: ८ वैशाख २०७८ ०१:४२ बुधबार