स्वास्थ्य

नेपालगन्जमा कोरोना संक्रमण तीव्रः एक सय ८३ को नमुना परीक्षण गर्दा १ सय २७ जनालाई पोजेटिभ

नेपालगन्जमा पछिल्लो २४ घण्टामा १ सय २७ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन्। भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर जाँचबाट यति धेरै संख्यामा संक्रमित फेला परेका हुन्।

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा १ सय ८३ वटा नमुना परीक्षण गरिएकोमा १ सय २७ जनामा पोजेटिभ देखिएको हो। कुल परीक्षण गरिएको संख्या मध्ये यो ६९.४ प्रतिशत रहेको भेरी अस्पतालले जनाएको छ।

एकैदिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको यो एक वर्ष यताकै पहिलो भएको बताइएको छ। यसअघि बिहान मात्र नेपालगन्ज मेडिकल कलेजमा बिहीबार लिइएको ४५ जनाको स्वाब रिपोर्ट पनि सबै पोजेटिभ आएको थियो।

नेपालगन्जमा तीव्र रुपले फैलिएको दोस्रो चरणको कोरोना संक्रमणको असरले यहाँ मानवीय क्षति हुने क्रम बढेको छ। तर पनि बजार, पार्कमा भीडभाड, सीमानाकामा आवत-जावतका साथै विभिन्न सभा तथा कार्यक्रम, खेलकुद प्रतियोगिता भइरहेका छन्। कोरोना संक्रमणको असर यहाँका विद्यालयमा पनि देखिएको छ। तर पनि, विद्यालय तथा कलेजले निर्वाध रुपमा कक्षा सञ्चालन गरिरहेका छन्।

नेपालगन्ज उपमहानगरपालिकाले आइतबारबाट लागु हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ। नेपालगन्ज बाहेकका अन्य स्थानीय तहले शैक्षिक संस्था बन्द गर्ने विषयमा कुनै निर्णय गरेका छैनन्। जसले गर्दा अभिभावकहरु निकै चिन्तित भएका छन्।

प्रकाशित: ३ वैशाख २०७८ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App