स्वास्थ्य

थप ५३४ मा संक्रमण, पाँच जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ५३४ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार तीन हजार ५८८ मा पिसीआर र ५६४ मा एन्टिजेन गरी चार हजार १५२ को कोरोना परीक्षण गर्दा ५३४ मा कोरोना पुष्टि भएको हो। चार सय ९० मा पिसीआर र ४४ मा एन्टिजेन पोजिटिभ आएको हो।

आज थपिएका सङ्क्रमितमध्ये १९६ काठमाडौँ उपत्यकाका छन्। त्यस्तै भक्तपुरमा आठ, ललितपुरमा ४३ र काठमाडौँमा १४५ रहेका छन्। गत २४ घण्टामा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६६ पुगेको छ। गत २४ घण्टामा १५७ सङ्क्रमित निको भएका छन्। योसँगै हालसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६०४ पुगेको छ।

हाल देशभर चार हजार ३८४ सङ्क्रमित आइसोलेसनमा छन्। तीमध्ये तीन हजार ८९४ होम आइसोलेसनमा रहेका छन् भने ४९० संस्थागत आइसोलेसनमा छन्। देशभर ९१ आइसीयु र ३५ सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन्। हाल ६८ क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रकाशित: २ वैशाख २०७८ १३:२७ बिहीबार

कोरोना भाइरस सङ्क्रमण