स्वास्थ्य

फेरि उदयपुरमा देखिन थाले कोभिड संक्रमित

‘उदयपुर कोभिड अस्पताल’को सुचारु

बेलटारमा निर्मित उदयपुर कोभिड अस्पताल उद्घाटन । तस्बिरः महेश्वर

गएको वर्ष यो बेला देश पूर्णरुपमा लकडाउनमय थियो। कोभिडले विश्व महामारीको रुप लिँदै गएपछि नियन्त्रणका लागि भन्दै सरकारले ०७६ चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको थियो। त्यसबेला जताततै कोभिड संक्रमितहरु देखिदै गर्दा सदरमुकाम त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भारतीय ११ नागरिकसहित १६ संक्रमित देखिएपछि त्रसित भएका जनप्रतिनिधिहरु उदयपुरमै कोभिड अस्पताल बनाउन प्रदेश र संघीय सरकारसँग हारगुहार गर्न थाले। तर, अनेक बहाना गर्दै सरकार उनीहरुको मागबाट पन्छिदै गयो।  

संघीय गणतन्त्र मुलुकको नयाँ संविधान ०७२ ले ‘गाउँगाउँमा सिंहदरवार’को नारासहित पुनसंरचना गरेको स्थानीयतहहरु पनि आफुलाई कम ठान्ने कुरा थिएन। १५ विशेषसहित २२ अधिकार प्राप्त स्थानीयतहहरु स्रोत साधनसम्पन्न पनि थिए। त्यसकै उपयो गर्दै उदयपुरका ८ वटा स्थानीयतह मिलेर आफ्नै पहलमा कोभिड अस्पताल निर्माणको तयारीमा लागे। त्रियुगा, चौदण्डीगढी, कटारी र बेलका गरी ४ नगर तथा लिमचुङबुङ, रौतामाई, ताप्ली र उदयपुरगढी गरी ४ गाउँपालिका प्रमुखहरुको भेलाले यसअघि नै ‘उदयपुर विकास बोर्ड’ गठन गरिसकेको थियो।  

त्यही बोर्डलाई सक्रिय गराउँदै स्थानीयतहहरुले आफ्नै पहलमा ‘उदयपुर कोभिड अस्पताल’ खोल्ने निर्णय गरे। स्थान छनौट भयो चौदण्डीगढी नगरपालिका। त्रियुगा नगरप्रमुख बलदेव चौधरीको अध्यक्षतामा बेलका नगरप्रमुख दुर्गाकुमार थापा सचिव र अन्य प्रमुखहरु सदस्य रहेको विकास बोर्डले चौदण्डीगढीले सशस्त्र प्रहरी बलको क्याम्प राख्न निर्माणाधीन चौदण्डीगढी ६ स्थित सातधारेमा अस्पताल बनाउने निर्णय गरे।  

आवश्यक स्रोतको खोजीमा रहेको आग्रहलाई संघ र प्रदेश सरकारले बेवास्ता गरेको छाँटकाँट देखेका जनप्रतिनिधिले प्रत्येक नगरपालिकाबाट १५ लाख र गाउँपालिका हरेकले १० लाखका दरले जम्मा हुने १ करोडबाट कोभिड अस्पताल भवन बनाउने निर्णय बोर्डबाट भयो। निर्णय कार्यान्वयन गर्ने क्रममा बोर्डले स्वीस सरकारबाट १ करोड ५० लाख अनुदान पायो, ६ महिनाभित्रै कोभिड अस्पतालका लागि पक्की नयाँ भवन तयार भयो। भवन निर्माण सम्पन्न हुँदासम्म त्यही ठाउँमा सञ्चालित अस्थायी कोभिड अस्पतालमा उदयपुरसहित बिभिन्न जिल्लाका ४५ महिला र १ सय पुरुषले स्वास्थ्य लाभ गरिसकेका थिए।  

कोभिड संक्रमण घट्दै जाँदा अपाङ्ग तथा बालमैत्री नवनिर्मित भवनमा ९ वटा फराकिला कोठासहितको भवन निर्माण सम्पन्न भईसकेको थियो। अपाङ्गतामैत्री शौचालय, खानेपानी र विद्युतको व्यवस्थासहितको भवनका ८ वटा कोठा प्रत्येकमा ४ बटाका दरले ३२ शैय्या (बेड) राखेर अस्पतालमा मेडिकल अधिकृत डा. नन्दनकुमार साह नेतृत्वमा ५ जना स्टाफ नर्ससहित कर्मचारी व्यवस्थापन गरिएको छ। तर, भर्ना भएका संक्रमितहरु सबै निको भईसकेका तथा नयाँ संक्रमित आउन छाडेपछि विगत ४ महिनायता आधादर्जन स्वास्थ्यकर्मीलाई चौदण्डीगढी नगरपालिकाले सित्तैमा तलवभत्ता खुवाएर राख्नु परेको छ।  

चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले संक्रमितको उपचार गर्न भनेर भर्ना भएका चिकित्सक र स्वास्थ्यकर्मीलाई नगरपालिका कोषबाट तलबभत्ता र व्यवस्थापनमा मासिक ३ लाख हाराहारी खर्च भईरहेको बताए। त्यसबेला संक्रमितको चाप धेरै बढेकाले डा. र स्टाफ नर्स करारमा भर्ना गरेर उपचार सेवा दिइएकाले अहिले अस्पताल नचले पनि उनीहरुलाई हटाउन नमिल्ने मेयर राई बताउँछन्। मेडिकल अधिकृतलाई मासिक १ लाख हाराहारी र अन्य स्वास्थ्यकर्मी तथा अस्पताल व्यवस्थापनमा लाग्ने खर्च व्यवस्थापन गर्न अन्य स्रोत नहुँदा नगरपालिकाले नै खर्च बेहोर्नु परेको राईले बताए। अस्पताल व्यवस्थापनका लागि आवश्यक बजेट प्रदेश सरकारसँग मागेको तर, अहिलेसम्म नपाएको गुनासो मेयर राईको छ।

पुस ६ गते प्रदेश १ का तत्कालीन सामाजिक विकासमन्त्री जीवन घिमिरे र नेपालका लागि स्वीस सरकारका राजदुत एलिजावेथ भोन क्यापेलरले संयुक्त रुपमा उद्घाटन गरेको कम्पाउण्ड घेराबेरासमेत ३ करोड २५ लाख लागत मूल्यको भवनको अव फेरि काम आउने नगरप्रमुख राईको अनुमान छ। मेयर राईका अनुसार सातादिनअघि मात्र भारतबाट फर्केका चौदण्डीगढीकै एक स्थानीयमा कोभिड संक्रमण देखिएपछि घरमै आईसोलेसनमा राखिएको छ।  

पछिल्लो समय भारतमा संक्रमितको संख्या ह्वात्तै बढेसँगै नेपालमा पनि कोभिड संक्रमण फर्कने संभावनाप्रति सरकारले सचेत गराउँन थालेकाले अस्पताललाई पुनः सञ्चालनमा ल्याउनुपर्ने उनले बताए। तर, अस्पताल सञ्चालन गर्न आवश्यक बजेट भने प्रदेश सरकारले सहयोग गर्नुपर्ने अनुरोध राईले गरेका छन्। अस्पताल सञ्चालनका लागि कम्तीमा वार्षिक १ करोड बजेट चाहिने भएकाले प्रदेश सरकारले त्यसको जोहो गरिदिन मेयर राईले आग्रह गरे।  

उदयपुर विकास बोर्डका अध्यक्ष तथा त्रियुगा नगरप्रमुख बलदेव चौधरीले गएको वर्ष कोभिड त्रास उत्कर्षमा पुगेका बेला देशमै नमूनाको रुपमा स्थानीयतह मिलेर जिल्लामै अस्पताल बनाएर सञ्चालनमा ल्याएको उदयपुरले फेरि कोभिड संक्रमण बढेमा त्यही उपचार गराउन सकिने बताए। उनले त्यसका लागि प्रदेश र संघीय सरकारसँग बजेटको माग गरिरहेको र स्थानीयतहहरुले पनि यथासक्य सहयोग जुटाएर अस्पताल सुचारु गरिने मेयर चौधरीले बताएका छन्।

प्रकाशित: २९ चैत्र २०७७ ११:५५ आइतबार

उदयपुरमा कोभिड संक्रमित