स्वास्थ्य

सुदूरपश्चिममा १२ सय क्षयरोगका बिरामी

सुदूरपश्चिम प्रदेशमा पुसको तथ्यांकअनुसार १ हजार २ सय ८२ जना क्षयरोगका बिरामी रहेका छन्। गत आवमा २ हजार ७ सय ३५ जना बिरामी रहेका थिए। कोरोना भाइरसको जोखिमका कारण परीक्षण दर घटेपछि गत वर्षको तुलनामा क्षयरोगका बिरामी कम देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकृत मनोज ओझाले बताए।

कैलालीमा सबैभन्दा बढी ५ सय १ जना क्षयरोगका बिरामी रहेका छन् भने कञ्चनपुरमा ३ सय ४९ रहेका छन्। डोटीमा ८२, बझाङमा ७५ बैतडीमा ७४, अछाममा ६४, डडेल्धुरामा ६०, बाजुरामा ५२ र दार्चुलामा २५ जना क्षयरोगका बिरामी रहेका छन्। सरकारले क्षयरोगका बिरामीलाई निःशुल्क परीक्षण र उपचारको व्यवस्था गरेको छ। २ हप्तामा वा लामो समयसम्म लगातार खोकी लागेमा, साँझ पख हल्का ज्वरो आउनेलगायतका लक्षण भएमा क्षयरोग हुनसक्ने भएकाले नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराउन पनि अधिकृत ओझाले आग्रह गरे।

नियमित रूपमा औषधि सेवन गरे क्षयरोग पूर्ण रूपमा निको हुने भएकाले यस विषयमा सबैतिर सचेतना फैलाउन आवश्यक रहेको उनले बताए।

प्रकाशित: १२ चैत्र २०७७ ०२:४७ बिहीबार

सुदूरपश्चिम प्रदेश क्षयरोगका बिरामी कोरोना भाइरसको जोखिम