स्वास्थ्य

बैतडीमा संस्थागत सुत्केरी बढ्दै

बैतडीमा स्वास्थ्य संस्थामै प्रसूति हुनेको संख्या बढ्दै गएको छ। चेतना र स्वास्थ्य सेवाको पहुँचको कारण संस्थागत सुत्केरी बढ्दै गएको हो। स्वास्थ्य कार्यालय बैतडीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १ हजार ९ सय ८ जना, २०७६/०७७ मा १ हजार १ सय १४ र चालु आर्थिक वर्षको अहिलेसम्म २ हजार ३ सय ४५ जना सुरक्षित रूपले स्वास्थ्य संस्थामै सुत्केरी भएका छन्। पछिल्लो ६ महिनाको तथ्यांक हेर्दा संस्थागत सुत्केरीको दर बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

मातृशिशु मृत्युदर घटाउन र आमा र बच्चाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सरकारले पे्ररित गर्न थालेपछि पछिल्लो समय संस्थागत सुत्केरी दर बढ्दै गएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए। ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच वृद्धि, बर्थिङ सेन्टर, स्वास्थ्य इकाईलगायतका संरचना र स्थानीयमा आएको स्वास्थ्य चेतनाकै कारण स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुने आमाको संख्या बढ्को स्वास्थकर्मी बताउँछन्।

स्थानीय तहले पनि संस्थागत सुत्केरी र पोषण कार्यक्रमलाई अगाडि बढाएका छन्। स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षको कोसेली कार्यक्रमले पनि संस्थागत सुत्केरी दरमा वृद्धि हुन थालेको हो। स्थानीय सरकारले पनि संस्थागत सुत्केरी सेवालाई प्रोत्साहन गर्न संस्थागत सुत्केरीयुक्त वडा घोषणा, पोषण सुधार कार्यक्रम चलाइरहेको जिल्ला समन्वय समिति बेतडीका प्रमुख सिद्धराज भट्टले बताए। सुत्केरी बढाउने नीतिअनुरूप बैतडीका अधिकांश स्थानीय तहरूले उपाध्ययक्ष र उपप्रमुखको कासेली वितरण गरिरहेका हुन्। स्वास्थ्य संस्थामै सुत्केरी हुन आउने महिलालाई पोषण र सरसफाइ सामग्री कोसेलीको रूपमा दिने गरेको पुर्चौडी नगरपालिकाकी उपप्रमुख जानकी बमले बताइन।

पुर्चौडी नगरपालिका, शिबनाथ गाउँपालिका, सिगास गाउँपालिका, र पञ्चेश्वर गाउँपालिकाले गर्भवतीको लागि कोसेली कार्यक्रमलाई निरन्तरता दिएका छन्। स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका ग्रामीण क्षेत्रमा स्वास्थ्य चेतना दिन थालेका छन्। गाउँमै दक्ष स्वास्थ्यकर्मीको व्यवस्था भएपछि संस्थागत सुत्केरी गराउनेको संख्या पछिल्ले समय बढन थालेको छ। 

पहिले बैतडीको ग्रामीक्षेत्रका नागरिक व्यथा लागे धामी, झाक्रीको भर पर्दै आएका थिए। अहिले भने स्वास्थ्यकर्मीको सल्लाह लिन थालेको सिगासि गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए।

प्रकाशित: १२ चैत्र २०७७ ०२:१२ बिहीबार

संस्थागत सुत्केरी बैतडी