नेपाल सरकारले क्षयरोग नियन्त्रणमा बर्सेनि करोडौं बजेट खर्च गरे पनि औषधि प्रतिरोधी बिरामीको संख्या बढिरहेको पाइएको छ। विश्व क्षयरोग दिवसको अवसरमा मंगलबार राष्ट्रिय क्षयरोग निवारण केन्द्रले नेपालमा औषधि प्रतिरोध क्षयरोग नियन्यत्रणमा चुनौती बनिरहेको जनाएको छ।
क्षयरोग श्वास–प्रश्वासको माध्यमबाट सर्ने माइक्रोब्याक्टेरियम ट्युबरकोलोसिस नामको किटाणुबाट हुने सरुवा रोग हो। यो रोग संक्रमित व्यक्तिले खोक्दा निस्केको किटाणु हावामार्फत अर्को व्यक्तिको फोक्सोमा पुग्छ। दोस्रो व्यक्तिकोे शरीरको प्रतिरक्षा क्षमता कमजोर भएमा क्षयरोग हुन्छ।
विश्व स्वास्थ्य संगठनको अनुसार नेपालमा प्रतिवर्ष २ हजार २ सय जना औषधि प्रतिरोधी क्षयरोगी थपिइरहेका छन्। गत आर्थिक वर्षमा औषधि प्रतिरोधी ३ सय ८४ जनालाई नियमित उपचारमा ल्याइएको थियो। यो हिसाबले ८३ प्रतिशत औषधि प्रतिरोधी बिरामी उपचारबाहिरै छन्। उनीहरूलाई नियमित उपचारमा ल्याउन चुनौती बनेको केन्द्रका प्रमुख डा. अनुज भट्टचनले बताए।
नयाँ संघीय संरचनामा जनशक्ति व्यवस्थापनमा समस्या, क्षयरोेगका बिरामीले लामो समयसम्म उपचारकेन्द्रमा आई नियमित औषधि खानुपर्दा उनीहरूका लागि असहज हुनु, रक्सीको लत भएका कतिपय बिरामीले बीचमै औषधि छोडेर रक्सी खानु, ढिला गरी उपचारमा पुग्नु र विभिन्न उपचारपछि मात्र क्षयरोग पत्ता लाग्नु, बिरामीले औषधिको पूरा डोज सेवन नगर्नु, बाध्यात्मक कारणले औषधि छुट्नुजस्ता कारणले क्षयरोगीमा औषधि प्रतिरोधी समस्या बढिरहेको डा. भट्टचन बताउँछन्। नेपालमा ६ वर्षअघिसम्म औषधि प्रतिरोधी बिरामीका लागि बजारमा औषधि थिएन। औषधि प्रतिरोधी क्षयरोगीको किटाणु तथा औषधि सेन्सिटिभिटी जाँच गरेर मात्र औषधि सेवन गर्नुपर्छ। नेपालमा सबै प्रदेशका बिरामीको पहुँचमा यो जाँचको सुविधा छैन। केन्द्रका अनुसार राष्ट्रिय क्षयरोग केन्द्र र नेपाल क्षयरोग संघको कालिमाटीस्थित अस्पतालमा मात्र यो सुविधा छ। बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान र सुर्खेतमा सेन्सिटिभिटी परीक्षण प्रयोगशाला निर्माण गर्ने तयारी भइरहेको डा. भट्टचनले बताए।
दैनिक स्वास्थ्यकेन्द्रमा पुगेर औषधि खानुपर्ने बाध्यताको सट्टा घरैमा औषधि खुवाउने समुदायमा आधारित क्षयरोग उपचार कार्यक्रम पाँच वर्षभित्रमा सबै जिल्लामा विस्तार गर्ने सरकारको लक्ष्य छ। यही कार्यक्रमभित्र औषधि प्रतिरोधी क्षयरोगीलाई समावेश गरिनेछ। यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरे मात्र कार्यक्रम सफल हुने डा. भट्टचनले बताए।
त्यसैगरी नेपालमा प्रतिवर्ष करिब ६९ हजार नयाँ क्षयरोगी भेटिने केन्द्रको तथ्यांक छ। गत आर्थिक वर्षमा १ लाख ५५ हजार ३ सय ७१ जनालाई परीक्षण गरी २७ हजार ७ सय ४५ जना नयाँ क्षयरोगीको उपचार गरिएको थियो। यो हिसावले ४१ हजार नयाँ बिरामी उपचार बाहिरै रहेको देखिन्छ। छुटेका बिरामीलाई पनि उपचारको दायरामा ल्याउनु सरकारका लागि अर्को चुनौती बनेको केन्द्रले जनाएको छ। क्षयरोग प्रिभिलिन्स सर्वेक्षणका अनुसार १५ प्रतिशत बिरामीले निजी स्वास्थ्य संस्थामा उपचार गराइहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ५५ उपचार केन्द्र, ८१ वटा उपचार उपकेन्द्र, ६ वटा डिआर होस्टेल र एउटा डिआर होममार्फत क्षयरोगीको उपचार भइरहेको छ।
वाग्मती प्रदेशमा सबैभन्दा बढी क्षयरोगी
तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढी क्षयरोगीको संख्या वाग्मती प्रदेशमा छ। दोस्रोमा प्रदेश २ र तेस्रोमा ५ नम्बर प्रदेश रहेको राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांक छ। सन् २०२० को तथ्यांक अनुसार वाग्मतीमा सबै भन्दा बढी ७ हजार ७ सय १४, प्रदेश २ मा ६ हजार ८ सय ४४ र लुम्बिनी प्रदेशमा ६ हजार ३ सय ४७ जना क्षयरोगी छन्। जनघनत्व बढी भएको ठाउँमा यो रोग बढी हुन्छ। उपत्यका, प्रदेश २ र लुम्बिनी प्रदेशमा बढी जनसंख्या भएकाले धेरैमा क्षयरोग देखिएको राष्ट्रिय क्षयरोग केन्द्रका छातीरोग विशेषज्ञ डा. नविनप्रकाश शाह बताउँछन्।
प्रकाशित: ११ चैत्र २०७७ ००:५८ बुधबार