स्वास्थ्य

आँखाका रोगी घटाउन स्थानीय तहमा शिविर

आँखा केन्द्र र बिरामीबीच दूरी घटाउने र आँखाका रोगी घटाउने उद्देश्यले रसुवाका स्थानीय तहमा आँखा शिविर सुरु गरिएको छ। रसुवा सामुदायिक आँखा केन्द्रले आँखाका बिरामी घटाउन सो शिविर सुरु गरेको हो।  

सुरुमा सदरमुकाम धुन्चेबाट सेवा प्रवाह गर्दै आएको केन्द्रले गत वर्षदेखि कालिकास्थानबाट समेत नियमित सेवा दिन थालेको थियो। पछिल्लो समय केन्द्रले विभिन्न गाउँपालिकासँगको सहकार्यमा वडावडामा पुगेर शिविर सञ्चालन गर्ने कार्यलाई समेत तीव्र पारेको छ। जिल्लास्थित कालिका, गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकाका विभिन्न वडामा पुगेर आँखा जाँच गर्ने, चस्मा वितरण गर्ने तथा मोतिबिन्दुको शल्यक्रिया गर्ने काम गरिएको केन्द्रका प्रमुख सुपेन्द्र ताम्राकारले बताए। उनका अनुसार अब केही महिनामा जिल्लामै कम्प्युटर प्रणालीबाट आँखा जाँच सुरु गरिनेछ। केन्द्रले सेवा विस्तार गर्दै गए पनि बिरामीको पहुँच भने अझै पुग्न नसकेको तथ्यांकले देखाउँछ।  

आँखा केन्द्रकै तथ्यांक हेर्ने हो भने हाल जिल्लामा १२ हजार ९ सय ९० जना सामान्य तथा जटिल प्रकारका आँखाका बिरामी छन्। तथ्यांकअनुसार दृष्टि कम भएका ५ हजार १ सय ९६ जना, ४० वर्ष कटेका नजिकको दृष्टिदोष भएका ४ हजार १ सय ५६ र मोतिबिन्दु भएका ५ सय ९ बिरामी देखिएका छन्। जिल्लामा रहेका कुल बिरामीमध्ये ६ सय ६१ जनाको मात्र पहुँच पुगेको देखिन्छ। अर्थात् १२ हजार २ सय ९९ ले अझै सेवा पाएका छैनन्। दृष्टि कम भएका ३ सय ३० जना, ४० वर्ष कटेका नजिकको दृष्टिदोष भएका ६३ जना मात्र स्वास्थ्यको पहुँचमा पुगेको देखिन्छ। जिल्लामा आँखाको बिरामीको संख्या थपिँदै गएकाले सेवा दिन कठिन भएको हो। केन्द्रका अनुसार जिल्लामा प्रतिवर्ष २ सय २८ जना आँखाका बिरामी थपिने गरेका छन्। मोबाइल, कम्प्युटरलगायत आधुनिक सामग्रीको प्रयोग, धुलोधुवा, चोटपटकलगायत कारणले आँखाका बिरामी थपिँदै गएका हुन्।

भौगोलिक विकटता, सडक मार्गको पहुँच र आँखाको उपचारसम्बन्धी जानकारी नहुँदा सेवा दिन कठिनाइ भएपछि प्रत्येक शुक्रबार कालिकास्थानमा स्याटेलाइट शिविर सञ्चालन गर्न थालिएको छ। गत वर्षदेखि कालिकास्थानबाट पनि नियमित सेवा सुरु भयो। केन्द्रले सन् २०२० मा ६ सय ९१ बिरामीलाई उपचार सेवा दिएको थियो। केन्द्रले राखेको वार्षिक लक्ष्यको तुलनामा यो १० प्रतिशत बढी हो। सन् २०२० मा ६ सय २८ बिरामीको उपचार गर्ने लक्ष्य थियो। कोभिड–१९ का कारण मोतिबिन्दुका बिरामी छान्ने कार्य भने लक्ष्यमध्ये १५ प्रतिशत मात्र काम भएको छ। सन् २०२० मा ३ सय ७ जनालाई चस्मा वितरण, नजिकबाट हेर्न समस्या भएका ४० वर्ष नाघेका ६३ बिरामीको उपचार, ५ सय ६७ लाई औषधि वितरण र ५ सय ४८ लाई चस्मा दिइएको थियो।

प्रकाशित: १० चैत्र २०७७ ०२:०८ मंगलबार

आँखाका रोगी स्थानीय तहमा शिविर