सरकारी अधिकारीले भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरेको खोपको दोस्रो खेप सोमबारसम्म आउने बताए पनि खोप निर्माता कम्पनीले खोप नेपाल पठाएन। कम्पनीले अब कहिले आपूर्ति गर्छ भन्ने कुनै सुनिश्चतता नभएको देखिएको छ। सरकारले सेरमसँग खोप खरिद गरेको २० लाख मध्ये १० लाख खोप डोज उक्त कम्पनीले उपलब्ध गराएको थियो भने दोस्रो खोप मार्च १५ सम्म नेपाल आउन सक्ने सरकारी अधिकारीले आशा व्यक्त गरेका थिए।
भनेको समयमा खोप आइनपुगेपछि नेपालमा कोरोनाविरुद्ध सञ्चालित खोप कार्यक्रम अन्योलमा परेको छ। मंगलबारसम्ममा कोभिड १९ विरुद्धको खोपको पहिलो डोज खोप १६ लाखभन्दा बढीले लिइसक्नेछन्। कम जनसंख्या भएका हिमाली तथा पहाडी १२ जिल्लामा ५५ वर्षमाथिका नागरिकलाई समेत लगाएमा १८ लाख डोज खोप खपत हुनेछ। यस हिसाबले ५ लाख खोपमात्र मौज्दात रहनेछ। यसबाट पहिलो डोज खोप लिइसकेका १३ लाखजनालाई दोस्रो डोज नपुग्ने स्थिति देखिएको छ।
भारतीय उच्च अदालत दिल्लीले आफ्ना नागरिकलाई खोप नपुगी अन्यत्र बिक्री गर्न नपाइने आदेश सुनाएपछि सेरम इन्स्टिच्युट अफ इन्डियाले सोमबार पठाउने भनिएको थप १० लाख खोप रोकेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। पहिलो डोजका रूपमा सेरमको कोभिसिल्ड खोप दिइएकालाई दोस्रो डोजका रूपमा अन्य कम्पनीको खोप दिन मिल्दैन। हाल सरकारसित सेरमको ५ लाख डोज खोप मौज्दात छ।
कोभ्याक्सले दिने भनेको १९ लाख डोज र नेपाल सरकारले खरिद गरी ल्याउने थप १० लाख खोप कहिले आउने भन्ने निश्चित हुन सकेको छैन। ‘कम्पनीले खोप दिने मिति सारेका छन् तर निश्चित छैन’, परिवार कल्याण महाशाखाका प्रमुख डा। तारानाथ पोखरेलले सोमबार साँझ नागरिकसित भने।
पोखरेलले उच्च अदालत दिल्लीले देशबाहिर नदिने निर्णय गरे पनि सर्वोच्च अदालतको निर्णय नभएको र उत्पादन गरेका देशलाई मात्र नभएर खोपको सबैतिर समान वितरण हुनुपर्ने नीति लिएकोले भारतले खोप रोक्न नसक्ने स्थिति रहेको उनले बताए। सोही क्रममा कोभ्याक्सले दिने खोप पनि आउने सम्भावना रहेकाले दोस्रो डोजको खोप दिन सकिने उनको भनाइ छ। कोभिड १९ विरुद्धको खोप अभियानका संयोजक डा। श्यामराज उपे्रतीले खोप सबैले दिने भने पनि अहिलेको स्थितिमा निश्चित नभएको बताए। ‘५० लाख थप डोज खोप दिने भनिएकोमा बेइमानी हुन थाल्यो’, डा। उपे्रतीले भने। कोभ्याक्सले मार्चभित्रै दिने भनेपछि आइपुग्ने कुरामा अन्योल भएको उनले बताए। ‘खोप लिन उच्च स्तरबाट प्रयास भइरहेको छ’, उनले भने।
स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति महाशाखाका प्रमुख डा। भीम सिंह टिकरी सेरमले दोस्रो खेप कहिले आपूर्ति गर्छ भन्नेमा पनि निश्चित नभएको बताए। ‘सेरमले कोभ्याक्स सुविधालाई पहिलो प्राथमिकता दिएर खोप उपलब्ध गराउने र सोही सुविधाअन्तर्गत नेपाललाई प्राथमिकता दिन अनुरोध गरिने बताएको छ,’ टिकरीले नागरिकलाई भने, ‘खोप अभियानको निरन्तरताबारे सरकारले निर्णय गर्ने हो। कोभ्याक्सद्वारा उपलब्ध गराउने भनिएको खोप आयो भने खोप अभियानले निरन्तरता पाउन सक्छ।’ उनले परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई सहजीकरण गर्न पत्र लेखिएको पनि बताए। नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि दोस्रो खेप खोप आपूर्तिको विषयमा प्रयास गरिरहेको उनले जानकारी दिए।
सुरुमा दोस्रो खेप खोप १० मार्चसम्म आपूर्ति गर्ने भनेकोमा सेरमले यही मार्च ३ मा स्वास्थ्य सेवा विभागलाई एक पत्र लेखी नेपाललाई तत्काल खोप उपलब्ध गराउन नसक्ने जनाएको थियो। नेपालसँग भएको खोप खरिद सम्झौता रद्द गर्न अथवा खोपको ढुवानी पछि सार्न चाहेको उसले पत्रमा उल्लेख गरेको थियो।
गत शुक्रबार नागरिकसँगको कुराकानीमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप खरिदमा बिचौलिया बाधक रहेको बताएका थिए। सरकारले सेरमबाट थप ५० लाख खोप खरिद गर्न चाहेको छ। भारतले माघ पहिलो साता सेरम इन्स्टिच्युटद्वारा उत्पादित १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएपछि नेपालले खोप अभियान सुरु गरेको थियो। कुल २ करोड जनसंख्यालाई खोप लगाउने तयारी नेपालको छ। सरकारले वैशाख ७ गतेपछि दोस्रो डोजको खोप दिने निर्णय गरिसकेको छ।
सरकारले खोप आयात गर्न निजी क्षेत्रलाई समेत अनुमति दिइसकेको छ। सोमबार औषधि व्यवस्था विभागले निजी क्षेत्रलाई कोभिड १९ विरुद्धको खोप आयातका लागि आहवान गरेको छ। खोप आपूर्ति सहज बनाउन भन्दै विभागले निजी क्षेत्रलाई लागू हुने गरी सूचना जारी गरेको हो। विभागले इच्छुक उत्पादक कम्पनी, आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेका विक्रेतालाई आवश्यक कागजातसहित सात दिनभित्र निवेदन पेस गर्न आह्वान गरेको छ। विश्व स्वास्थ्य संगठनले आपत्कालीन प्रयोगका लागि सूचीमा राखेका खोप आयात गर्न इच्छुक कम्पनीले खोपको आपत्कालीन प्रयोगसम्बन्धी संहिता २०७७ ले तोकेका कागजातसहित निवदेन पेस गर्नुपर्नेछ। निजी क्षेत्रले खोप भण्डारण, उत्पादन मूल्य, ढुवानी मूल्यसहित सम्बन्धित देशमा उत्पादन भएको मूल्यमा १० प्रतिशतभन्दा बढी नाफा नलिईकन सेवा दिने नियम सरकारले बनाएको छ।
चीनले नेपाललाई अनुदानस्वरूप दिने भनिएको ८ लाख खोप छिटै ल्याउने तयारी भइरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। उनले खोप लिन नेपाली जहाज पठाउने तयारी भइरहेको जानकारी दिए। तर कुन दिन आइपुग्छ भन्ने यकिन नभएको उनले बताए।
प्रकाशित: ३ चैत्र २०७७ ०१:५४ मंगलबार