स्वास्थ्य

तेस्रो चरण अन्तर्गत समुदायस्तरमा १६ हजारलाई खोप लगाइने

पहिलो चरणमा संचालन गरिएको अभियानमा कोभिड भ्याक्सिन लगाइँदै ।

धादिङ जिल्लामा कोरोना भाइरस (कोभिड १९) विरुद्धको तेस्रो चरणको खोप अभियान अन्र्तगत फागुन २३ गतेबाट सुरु हुने भएको छ । समुदायस्तरमा संचालन हुने कोरोना विरुद्धको तेस्रो चरणको खोप अभियानमा १६ हजारलाई खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेलले बताए । सञ्चारकर्मीसंग कोभिड–१९ विरुद्धको खोप अभियानको बारेमा जानकारी दिदै जिल्लाभर १६ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य भएको बताए ।  

सरकारले फागुन २३ गतेबाट तेस्रो चरणको खोप दिने निर्णय अनुसार धादिङमा पनि २३ देखि २९ गतेसम्म समुदायस्तरमा अभियान सञ्चालन गर्न लागिएको प्रमुख पौडेलले बताए । ‘तेस्रो चरणमा १६ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखेका छौँ’ उनले भने, ‘यस चरणमा ६५ वर्षमाथि उमेरका सबै जेष्ठ नागरिक, सामुदायिक तथा संस्थागत बिद्यालयका शिक्षक तथा शिक्षिका, सार्वजनिक सवारीका चालक, सहचालक, पहिलो चरणमा खोप लगाउन छुटेका सबैलाई खोप लगाउने कार्यक्रम छ ।’

प्रदेश सरकार मार्फत जिल्लामा कोभिड–१९ संक्रमण बिरुद्धको कोभिशिल्ड नामक भ्याक्सिन १७ हजार ५२ सय ३० डोज प्राप्त भएको छ । दुई चरणमा हुने खोप अभियानको पहिलो चरणमा फागुन २३ देखि २६ गतेसम्म र दोश्रो चरणमा फागुन २६ गतेदेखि २९ गतेसम्म खोप अभियान संचालन गरिने बताइएको छ । खोप अभियानका लागि जिल्लाभरको ५३ वटा खोप केन्द्रबाट तयारी गरिएको छ । खोप लगाउँदा स्वास्थ्यमा कुनै प्रकारको नकारात्मक असर नपर्ने जनाएको छ ।

कार्यक्रममा जिल्लाभित्र समुदाय स्तरमा संचालन हुने कोरोना विरुद्धको खोप अभियानको पूर्व तयारी, कार्यक्रमको जानकारी र हालसम्म भए गरेका कार्यक्रमको जानकारी गराईएको थियो । त्यस्तै डा.पौडेलले खोपको औचित्य तथा प्रभावको बारेमा जानकारी गराएका थिए ।  

धादिङ जिल्लामा पहिलो चरण अन्र्तगत गत माघ १४ गतेदेखि २४ गतेसम्म खोप अभियान संचालन गरिएको थियो । जसमा एक हजार सात सय ६२ जनालाई खोप लगाइने लक्ष्य राखिएकोमा एक हजार तीन सय ३५ जनालाई खोप लगाइएको थियो । त्यस्तै दोस्रो चरणको खोप अभियान अन्र्तगत फागुन २ गतेदेखि ८ गतेसम्म संचालन गरिएको अभियानमा एक हजार आठ सय ९८ जनाले खोप लगाएका छन् । तीन हजार एक सय ३९ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो ।  

पहिलो र दोस्रो चरणको अभियानमा स्वास्थ्यकर्मी तथा कर्मचारी, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालकहरु, एम्बुलेन्स तथा शव बाहक चालक, शव व्यवस्थापनमा खटिने व्यक्तिलाई लगाइएको थियो । त्यस्तै महिला स्वंयसेविका, जेलमा रहेका कैदी, संचारकर्मी, सुरक्षा निकाय, बैक तथा बिक्तिय संस्थामा काम गर्ने व्यक्तिहरुलाई कोभिड भ्याक्सिन लगाइएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

प्रकाशित: २२ फाल्गुन २०७७ ०४:२६ शनिबार

कोभिड भ्याक्सिन तेस्रो चरण