स्वास्थ्य

रेम्डिसिभिरले निको हुने दर बढी

प्लाज्मा थेरापी र रेम्डिसिभिर प्रयोग गरेका कोभिड १९ का बिरामीमध्येमा रेम्डिसिभिर मात्र प्रयोग गरिएका संक्रमितमा निको हुने दर बढी पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजनिक गरेको अध्ययन सर्वेक्षणले यस्तो देखाएको हो । परिषद्ले गत जुलाइदेखि अक्टोबरभित्र यी बिरामीहरूमा यो अध्ययन गरेको थियो । परिषद्ले मंगलबार ‘नेपालमा कोभिड १९ संक्रमणको उपचारको लागि रेम्डिसिभिर र कन्भलेसेन्ट प्लाज्मा थेरापीको अवलोकन अध्ययन’मा यस्तो नतिजा निस्केको हो ।  

रेम्डिसिभिर मात्र प्रयोग गरिएका ८४ प्रतिशत बिरामीहरू निको भई डिस्चार्ज भएका थिए । रेम्डिसिभिर मात्र प्रयोगले मध्यम तहको संक्रमण भएका (जटिल निमोनिया नभएका) बिरामीहरूको निको हुने दर ९४.४ प्रतिशत रहेको थियो ।रेम्डिसिभिरको तुलनामा कन्भालेसेन्ट प्लाज्मा थेरापी मात्र प्रयोग भएका बिरामीको निको हुने दर ३९ प्रतिशत कम रहेको छ । प्लाज्मा मात्र लिएका बिरामीमा गम्भीर निमोनिया तथा संक्रमण भएको थियो ।  

अध्ययन अनुसार रेम्डेसिभर र कन्भालेसेन्ट प्लाज्मा दुवै पाएका बिरामीको निको हुने दर ५४ प्रतिशत थियो । यो दुवै थेरापी प्रयोग भएका २१.६ प्रतिशत बिरामीको मृत्यु भएको थियो । जसमा ८३.६ प्रतिशतले रेम्डेसिभर मात्र, ५.८ प्रतिशतले प्लाज्मा मात्र, १०.६ प्रतिशत बिरामीले दुवै थेरापी लिएका थिए । अध्ययनले कोभिड १९ को उपचारमा दुवै थेरापी सुरक्षित रहेको जनाएको छ । ५ प्रतिशतभन्दा कम बिरामीमा मात्र प्रतिकूल असर परेको थियो । अध्ययनले उपचार सफल नभएका बिरामीहरू अस्पताल आउनुअघि नै दीर्घरोगी भएको र उनीहरूमा कोरोना संक्रमण खतरापूर्ण रहेको जनाएको छ । मध्यम तथा अलिक कडा लक्षण देखिएका बिरामीमा रेम्डेसिभर मात्रले कडा सन्तोषजनक र कडा लक्षण भएका बिरामीहरूमा दुवै थेरापीले मात्र बिरामीमा राम्रो प्रभाव परेको अध्ययनले देखाएको छ ।  

तर तुलनात्मक रुपमा प्लाज्माथेरापी मात्रै पाएका बिरामीमा भन्दा रेम्डिसिभिर पाएका बिरामीहरूमा बढी लाभ देखिएको अध्ययन टोलीका संयोेजक तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता जनक कोइरालाले बताए । नेपालमा सुरुका दिनहरूमा प्लाज्मा थेरापीमा कोरोना भाइरसकोे एन्टीबडी हेर्ने प्रयोगशालाको अभावमा प्लाज्मा दिँदा एन्टीबडीको मात्रा अपुग हुँदा प्लाज्मा थेरापीको सफलता कम देखिएको बताए । ‘ अहिले नेपालमा पनि एन्टिवडी हेर्ने प्रयोगशाला छ, एन्टीबडीको मात्रा मिलेपछि बिरामीहरूमा राम्रो असर गर्दो रहेछ,’ उनले भने । तर अध्ययनले दुवै थेरापी प्रयोग भएका बिरामीहरूमा राम्रो प्रभाव देखिएको पाइएको कोइरालाले बताए ।  

अध्ययनको क्रममा रेम्डिसिभिर तथा प्लाज्मा थेरापी लिएका ३० वटा अस्पतालका १३ सय १५ बिरामीहरू रहेकोमा सबै भन्दा बाग्मती प्रदेशबाट ७१.१ प्रतिशत, १२.८ प्रतिशत,प्रदेश २ बाट ७.१ प्रतिशत थिए । सहभागी मध्येमा ५५ बर्ष माथिका थिए । ती मध्येमा ७३.७ प्रतिशत पुरुष र ९२.५ प्रतिशत विवाहित र २५.६ प्रतिशत स्वास्थ्यकर्मीै थिए ।

प्रकाशित: १२ फाल्गुन २०७७ ००:५७ बुधबार

प्लाज्मा थेरापी रेम्डिसिभिर कोभिड १९