स्वास्थ्य

८५ प्रतिशत श्रमदानमा आधारभूत स्वास्थ्य भवन तयार

सरकारले हरेक विकास निर्माणको काममा अनिवार्य गरेको कम्तीमा १० प्रतिशत लागत सहभागिता (जनश्रमदान) गर्नसम्म जनता नमान्ने गरेको सुनिन्छ । उदयपुरको एउटा बस्तीमा भने ८५ प्रतिशत जनश्रम गरेर स्वास्थ्य भवन बनाएको सुन्दा तपाँईलाई पत्यार नलाग्न सक्छ । तर, कुरो वास्तविक हो, त्यो पनि सदरमुकामसँगै सीमा जोडिएको बस्तीमा ।  

गाईघाटदेखि साढे ८ किलोमिटर उत्तरपश्चिमको बस्ती भए पनि सडक पहुँच नहुँदा स्वास्थ्य सेवा नपाएका स्थानीयले वडाबाट पाएको थोरै रकम (बिउ पुँजी) १७ लाख बराबरको जनश्रमदान गरेर ३ कोठे पक्की भवन बनाएका हुन् । त्रियुगा नगरपालिका १६ जाल्पा चिलाउनेको जाँतेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्न आवश्यक भवन बनाउन उनीहरुको यस्तो श्रम लगानी भएको हो ।  

जिल्ला अस्पताल र नीजि स्वास्थ्य संस्थाहरु गाईघाटमा बग्रेल्ती रहे पनि त्यहाँसम्म जान हिउँदमा सडकको खराबी र बर्खामा बरुवा, अजिङ्गरेलगायत खोलाखोल्सीले रोक्ने भएपछि गाउँमै स्वास्थ्य सेवा लिन भवन बनाउन श्रमदान गरेको स्थानीय बयोबृद्ध राजनीतिज्ञ बमबहादुर राईले बताए । उनका अनुसार गाउँमै स्वास्थ्य सेवा पाउन जस्तोसुकै श्रम गर्न तयार भएर भवन बनाइएको हो ।  

गाउँलेमा कामको उत्साह देखेपछि ३ लाख बजेट व्यवस्था गरिदिएर नयाँ भवन बनाएको त्रियुगा १६ का वडाध्यक्ष मानबहादुर राईले बताए । उनका अनुसार एकवर्षअघि मात्र गाउँलेले श्रमदानको प्रतिबद्धता जनाएपछि ६ महिनाअघि सुरु गरेको भवन सम्पन्न गरेर बुधबारदेखि सेवा प्रवाह थालिएको छ । वडाको ३ लाखमा सरस्वति सामुदायिक वन उपभोक्ता समूह र जनता मिलेर १७ लाख बराबरको श्रमदान गर्दा भवन तयार भएको उनले बताए । सदरमुकामसँगै सीमा जोडिए पनि बरुवा खोला र घना जङ्गलले घेरिएको सो ठाउँका बेलदोभान, जाँते, सिद्रे, आम्बोटे, सालथुम्की, डिगटारलगायत झण्डै ४ सय ५० घरधुरी बस्तीबासीलाई गाईघाट पुग्न बाधा पर्ने गरेको छ ।  

‘दूरी त धेरै छैन, गाईघाट मात्र साढे ८ किलोमिटर हिडे पुग्छ’ वडाध्यक्ष राईले भने ‘तर, बरुवा खोला र घना जङ्गलको सडक कच्ची र साहै अप्ठेरो छ, त्यसैले स्थानीयलाई गाउँमै सहज स्वास्थ्य सेवा दिउँ भनेर आधारभूत स्वास्थ्य केन्द्र भवन बनाइएको हो ।’ सडक नराम्रो भएकाले आधा घण्टाको बाटो गाईघाट पुग्न कम्तीमा पैदल ३ घण्टा हिड्नुपर्छ भने मोटरसाईकलमा १ डेढ घण्टा लाग्ने गरेको उनले बताए ।  

गाईघाटसम्म धाउनुभन्दा घरआँगनमै स्वास्थ्य सेवा लिन पाइने हुनाले प्रत्येक घरले महिनादिन श्रमदान सहयोग गरेर भवन बनाएको आधारभूत विद्यालयका प्रअ कुमार राईले बताए । प्रअ राईका अनुसार कोरोनाका कारण नगरपालिका र वडासँग बजेट नभएपछि गाउँले श्रमदानमै भवन बनाउन तयार भएका हुन् । जनश्रमनबाट जस्ताको छाना भएको ३ कोठे पक्की भवन तयार गरेर स्वास्थ्य जाँच र औषधि बितरण थालेपछि गाउँले खुसीले गदगद भएको प्रअ राईले बताए ।

सरस्वति सामुदायिक वन समूहका अध्यक्ष टोपबहादुर मगरले गाउँमै स्वास्थ्य केन्द्र चलाउन सबै लागिमिली गरेर भवन बनाएको बताए । जनताले स्वास्थ्य सेवा पाउने भएपछि आवश्यक काठ र केही रकम समूहले दिएर भवन बनाएको मगरले बताए ।  

श्रमदानसहित २० लाख लागतको भवनमा दुईजना स्वास्थ्यकर्मी नगरपालिकाले व्यबस्था गरिदिएको छ । नगरले खटाएको एकजना स्वास्थ्य सहायक (एचए) र एक स्टाफ नर्सले बुधबारदेखि नै स्वास्थ्य सेवा दिन थालेको वडाध्यक्ष राईले बताए । नवनिर्मित भवन तथा स्वास्थ्य सेवाको एक कार्यक्रमबीच प्रतिनिधिसभाका सांसद सुरेशकुमार राई र त्रियुगा नगरप्रमुख बलदेव चौधरीले संयुक्त रुपमा उद्घाटन गरे ।  

उद्घाटनमा सांसद राईले गत चुनावताका स्वास्थ्य, शिक्षा, खानेपानी, सडक र विद्युतजस्ता विकासनिर्माण गर्ने बाचा गरे अनुसार जनप्रतिनिधिहरुले तल्लो तहसम्म पुगेर  काम गर्नुपर्ने बताए । नेकपाले झण्डै दुईतिहाई बहुमत पाएर गठन गरेको सरकारले देश र जनतामा समृद्धि ल्याउने बेला प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरेर सबै काम अवरुद्ध गरेको आरोप लगाए । नेकपा केन्द्रीय सदस्य तथा प्रदेश १ का सचिवसमेत रहेका सांसद राईले अघिल्लो वर्ष कोरोनाले र यो साल केपी ओलीका कारण जनताको काममा बाधा खडा भएको भन्दै सबै मिलेर अव कोविडलाईजस्तै केपी ओली प्रबृत्तिलाई पनि परास्त गर्नुपर्ने बताए ।

त्रियुगाका मेयर तथा पार्टी केन्द्रीय सदस्य चौधरीले नगरपालिका भए पनि कतिपय वडाका बस्तीमा सडक स्तरोन्नति गर्न बाँकी रहेकाले अझै बिकटै रहेको भन्दै यही वर्षभित्र सदरमुकामसँग जोड्नेगरी सडक बनाउन थालेको बताए । उनले जिल्लाको पर्यटकीयस्थल रौतापोखरीसम्म केवलकार निर्माण गर्ने काम यसैवर्षदेखि सुरु गर्ने बताउँदै त्यसको निर्माणपछि यो ठाउँ अत्यन्त सुन्दर हुने बताए । नगरपालिकाले बनाउन लागेको चक्रपथ निर्माण गर्दा यही ठाउँलाई छोएर बनाउनेगरी डिपिआर भईसकेकाले काठमाडौं जान गाउँलेलाई गाईघाटसम्म जानु नपर्ने सुविधा हुने प्रतिबद्धता मेयर चौधरीको थियो ।  

स्वास्थ्य सेवा सुरुकै दिन ५४ सेवाग्राहीले स्वास्थ्य जाँच गराएको आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज स्वास्थ्य सहायक (एचए) जितेन्द्रकुमार महतोले बताए । उनका अनुसार बिभिन्न उमेर समूहका ३८ पुरुष र बाँकी महिलाले स्वास्थ्य जाँच गराएका छन् । उनले आगामी दिनमा विहान १०ः०० देखि बेलुका ५ः०० वजेसम्म स्वास्थ्य सेवा प्रदान गर्नेगरी स्वास्थ्यकर्मी खट्ने बताएका छन् ।

प्रकाशित: ७ फाल्गुन २०७७ ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App