म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट पैदल तथा सवारीसाधनमा दुई दिनको यात्रा गरी स्थानीय महिला स्वयंसेविका विष्णुमाया छन्त्याल कोभिसिल्ड नामक खोप लाउन बेनी अस्पतालमा आइपुगिन् । जिल्लाको अति विकट तथा दुर्गम गाउँ गुर्जामा १८ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी सम्हाल्दै आएकी छन्त्यालले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले उपलब्ध गराएको खोप लगाउन पाउँदा निकै खुसी भइन् ।
घरघरमा पुगेर विभिन्न खोप अभियानमा निम्तापत्र दिई खोप केन्द्रसम्म बालबालिकालाई जम्मा गर्ने गरेकी छन्त्यालले पहिलो चरणको खोपसँगै कोरोनासम्बन्धी विभिन्न जानकारी लिएर गएको बताइन् । छन्त्यालसँगै सदरमुकाम बेनीबाट करिब २६ कोष टाढा रहेको गुर्जा गाउँबाट कहालीलाग्दो उकालो भिरालो पहाडमा सकसपूर्ण यात्रापछि बेनीसम्म आइपुगेकी सुकमाया छन्त्याल, उमादेवी छन्त्याल, मनकुमारी छन्त्याल र सपना विकले समेत खोपको महत्वबारे र थप जानकारी लिए ।
कोभिसिल्ड पहिलो खोप बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले लगाएको समाचार सुनेपछि ढुक्क भएर आएको उनीहरूको भनाइ थियो । बिनापारिश्रमिक निःस्वार्थ भावले काम गर्ने गरेको अवस्थामा समुदायलाई कोरोनाको सन्देश र सावधानी अपनाउन घरघरमा धाइरहेको अवस्थामा खोप लगाएपछि थप सुरक्षित भएको एक दशकदेखि कार्यरत उमादेवीले बताइन् । ‘आउन–जान पाँच दिन लाग्छ, खर्च आफैं गरेर आएका छौं । यही मौकामा कोरोनाबाट जोगिन आवश्यक थप जानकारी लिएर जान्छौं,’ उनले भनिन् ।
उनले निःशुल्क खोपसँगै दुर्गम क्षेत्रबाट आउने स्वयंसेविकालाई स्थानीय तहले यातायात र खानबस्न सुविधा दिए सहज हुने बताइन् । ‘यातायात र खाना खर्चमै ७ हजारभन्दा धेरै खर्च भइसक्यो । तलब पाउनेले त सक्छन्, हामीलाई सरकारले पोसाक र केही सामान्य सुविधा मात्रै दिएको छ,’ उनले भनिन् । बजार झरेपछि पाइलैपिच्छे खर्च हुने भएकाले दोस्रो चरणको खोप गाउँमै दिनसमेत उनले माग गरिन् । कोरोनाको खोपले समुदायलाई थप सुरक्षित बनाउन सकिने भन्दै उनीहरूले खर्चको व्यवस्थापन भए राहत मिल्ने बताउँदै जिम्मेवारीअनुसारको मूल्यांकन गर्नसमेत सम्बन्धित निकायलाई अनुरोधसमेत गरेका थिए ।
‘कोरोना खोपमा पहिलो प्राथमिकतामा परेजस्तै, अन्य सुविधाहरूमा पनि सबैको नजर पर्नुपर्छ, समुदायमा स्वास्थ्यका सन्देश लिएर सधैं खटिन तयार छौं,’ सपना विकले भनिन् । उनले कोरोनाको त्रासमा परिवारबाट समेत समुदायमा घुलमिल नहुन अनुरोध गर्दा समेत आफ्नो जिम्मेवारी पूरा गरेको बताइन् । ‘खोपले जिम्मेवारी थपिदिएको छ । अझै पनि कोरोनाको जोखिम टरेको छैन भन्ने सन्देश गाउँमा लैजान्छौं,’ उनले भनिन् । लुलाङ, देउराली, लटबाङ हुँदै गुर्जा पुग्ने पदैलमार्गमा सामान्य हिमपात भएकाले पनि आवतजावतमा सहज भएको गुर्जा स्वास्थ्य चौकीकी अनमी चोलमाया छन्त्यालले बताइन् । ‘वर्षा भए हिमपातले बाटो रोकिन्छ । त्यसैले हतारहतारमा फर्किंदैछौं,’ उनले भनिन् ।
म्याग्दीका ६ वटै स्थानीय तहका ३ सय ७० स्वयंसेविकालाई प्रथम चरणको खोप अभियानमा सहभागी बनाएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताए । ‘स्वयंसेविकाहरू धेरै उत्साहित देखिनुभएको छ,’ कार्यतालिका नै बनाएर बोलाएका छौं,’ प्रमुख लम्सालले भने । उनले अहिलेसम्म कुनै पनि साइड इफेक्ट नभएको बताए ।
खोप लगाउँदैमा खासै असर नगर्ने बताउँदै यदि त्यस्तो गम्भीर खालको असर देखिए प्रदेश सरकारले हेलिकोप्टरमार्फत बिरामीको उद्धार गरी उपचार गरिने व्यवस्थापन मिलाइएको छ । पहिलो चरणमा ८ सय २१ जनालाई कोरोनाविरुद्ध खोप लगाउने कार्य जारी छ । फ्रन्टलाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स र शववाहन चालकलाई बाहेक ज्येष्ठ नागरिक आश्रममा बस्ने र कारागारका कैदीबन्दीलाई समेत समावेश गरिएको छ ।
जिल्लाको मालिका, धवलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको विकट ठाउँबाट खोप लाउन आउने महिला स्वयंसेविकाले यातायातसहित खानाबस्ने खर्च उपलब्ध गराउन स्थानीय तहलाई माग गरेका छन् । एकजनाको न्यूनतम ३ देखि १० हजारसम्म व्यक्तिगत खर्च भएकाले कोरोनाको खोप निःशुल्क भए पनि अन्य खर्चले दोस्रो चरणको खोपमा सहभागी हुन नसक्ने अवस्था आउने महिला स्वयंसेविकाको भनाइ छ ।
प्रकाशित: २० माघ २०७७ ०१:३५ मंगलबार