स्वास्थ्य

कोरोना संक्रमणदर ४.७ प्रतिशत

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण दर ४.७ प्रतिशत देखिएको छ । २४ घण्टामा ३ हजार २ सय २१ वटा नमुना परीक्षण गरिएकामा १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थप संक्रमितसहित नेपालमा कोरोना प्रभावितको कुल संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ ।  

यस्तै पछिल्लो २४ घण्टामा एक स्वास्थ्यकर्मीसहित थप पाँचजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने स्वास्थ्यकर्मीमा बैजनाथ गाउँपालिका टिटरिया स्वास्थ्यचौकीकी अनमी छिन् । उनको कोरोना संक्रमणपछि उपचारका क्रममा मृत्यु भएको हो । उनको मृत्युप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समवदेना व्यक्त गरेको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ ।

एक महिनायता नेपालमा दैनिक भेटिने नयाँ कोरोना संक्रमितको संख्या ४ सयभन्दा कम छ ।  

पछिल्लो एक सातादेखि ३ सय ५० भन्दा कमको संख्यामा संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार दुई महिनायता नेपालमा संक्रमण दर घट्दै गएको छ । कुल संक्रमितमध्ये ९७.९ प्रतिशत निको भइसकेका छन् ।  

हाल नेपालभरि ३ हजार ७ सय ९९ जना सक्रिय संक्रमित छन् । तीमध्ये ८ सय ९२ जना संस्थागत आइसोलेसनमा छन् भने १ सय ५० जनाको आइसियुमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म ६ लाख ९ हजार ६ सय २६ जनाको पिसिआर परीक्षण भएको छ ।

प्रकाशित: १७ माघ २०७७ ०१:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App