स्वास्थ्य

बेलायतमा देखियो पहिलेको भन्दा खतरनाक नयाँ कोरोना, स्वास्थ्यमन्त्रीले भने : चिन्ताजनक

बेलायतमा पहिलेको भन्दा अझ खतरनाक कोरोना भाइरसको अर्काे नयाँ संस्करण देखिएको छ।  

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले बुधबार पछिल्लो नयाँ भाइरसबाट संक्रमित दुई जना भेटिएको जानकारी दिएका छन्।  

कोरोनाको यो स्वरूप दक्षिण अफ्रिकामा पनि देखिएको छ।  

बेलायतमा देखिएका ती २ संक्रमित पनि दक्षिण अफ्रिकाबाटै फर्किएका व्यक्ति भएको बिबिसीले जनाएको छ।  

स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले अहिलेको नयाँ कोरोना यसअघिको भन्दा बढी संक्रामक र परिवर्तन भइरहने खालको भएको बताएका छन्।  उनले  यसको विस्तार ‘चिन्ताजनक’ भनेका छन्।  

अहिले बेलायत सरकारले दक्षिण अफ्रिका आवतजावतमा रोक लगाएको छ भने पछिल्लो १५ दिनभित्र दक्षिण त्यहाँबाट फर्किएका व्यक्तिलाई तुरुन्त क्वारेन्टिनमा बस्न भनेको छ।  

दक्षिण अफ्रिकाले पनि कोरोना भाइरसको यो नयाँ स्वरूप गम्भीर चिन्ताको विषय बनेको बताएको छ।

त्यहाँका स्वास्थ्यमन्त्री ज्वेली मिखाइसले भने, ‘यो नयाँ कोरोनाबाट युवा र स्वस्थ व्यक्ति पनि बिरामी परिरहेका छन्।’  

यो भाइरसबारे अध्ययन जारी छ, तर अहिलेसम्म प्राप्त तथ्यले यो यसअघिका कोरोना भन्दा कैयौँ गुना छिटो फैलिने देखिएको छ। 

यसअघि बेलायतमै देखापरेको नयाँ कोरोना भाइरसका कारण विश्वका विभिन्न देशसँगै नेपालले पनि बुधबार रातिदेखि त्यहाँको उडानमा प्रतिबन्ध लगाएको छ। 

अहिले फेरि त्याेभन्दा पनि घातक नयाँ काेराेना फेला परेकाे हाे। 

प्रकाशित: ९ पुस २०७७ ०७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App