स्वास्थ्य

‘कोरोनालाई खेलाँची नठानौँ’

‘हामीले त कोभिड जित्यौँ। तपाईहरु जीत्न सक्नु हुन्छ हुँदैन थाहा छैन। कोभिडका कारण कैयन युवाको ज्यान गइसकेको छ। त्यसैले कोरोनालाई हल्का रुपमा नलगौँ। सबै प्रकारका सावधानी अपनाऔँ। हामीले त दुःख पायौँ पायौँ, तपाईहरु यो संक्रमणबाट बच्नुस।’ यो जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना हुन छाडेपछि सामाजिक सञ्चाजलमा पोष्ट गरेको स्टाटस हो। उनले कोरोनालाई खेलाँची नठान्न समेत आग्रह गरेका छन्। लक्षणसहितको कोरोना संक्रमण भएपनि झण्डै तीन साता होम आइसोलेसनमा बसेका उपप्रमुख बुढा कोरोनालाई खेलवाड गर्नु मृत्यु निमन्त्रणा गर्नु जस्तै भएको बताउँछन्।

कोरोना कालको शुरुवातमा सबै सरकारले खर्च गरे। जब कोरोना संक्रमणको दायरा बढ्न थाल्यो। न उच्च सावधानी छ। नत कुनै सतर्कता पनि। लापरबाही निकै बढेको छ। उपप्रमुख बुढाले थपे,‘कोरोना सामान्य रूघाखोकी हो। केही हुँदैन भन्दै गफिएर बस्नु संकट निम्त्याउनु हो। मास्क प्रयोग नगर्ने र सुरक्षालाई महत्व नदिनु वास्तवमा मुर्खता हो।’ ज्वरो अत्याधिक आई बडबडाउने बनाउँछ, खोकी अत्याधिक लागि कोखा दुख्ने, सास फेर्न गाह्रो हुने, स्वर सुकाउने, नाकको बास्ना पूर्णरूपमा हराउने गर्छ। कोरोना संक्रमणको अनुभव सुनाउँदै उनले भने,‘झोल भिक्स नाकमा लगाउँदा समेत पानी घसेको जस्तो भयो। जे खाँदा पनि जिब्रोले स्वादै नपाउने बनायो। पखाला पनि अत्याधिक चलायो। कोरोना वास्तवमा अति कडा रोग रहेछ। १५ दिनमा ११ केजी तौल घटायो।’

शरीरको नदुख्ने त कुनै भाग रहेनन्। रिपोर्ट नेगेटिभ आएपनि साधारण खोकी चलि रहन्छ। हिँड्डुल गर्दा मांसपेसिहरू दुख्ने अति कमजोर बनाउने गर्छ। जुम्लामा कोरोना संक्रमितका लागि केन्द्रित रहेर १२० आइसोलेसन बेड स्थापना भएका छन्। भेन्टिलेटर १५ र आइसियू १० बेड छन्। अहिले पनि कोरोना संक्रमतिको चेकजाँच भइरहेको छ। प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेका अनुसार कोरोना संक्रमणको दर फैलँदै गएकोले उच्च सतर्कता अपनाउनको लागि आग्रह गरे। दुई चारवटा गम्भीर प्रकृतिका लक्षणसहितका संक्रमित निको भएपछि यहाँ लापरबाही बढेको होला, उनले भने,‘त्यो राम्रो पक्ष होइन। कोरोनादेखि सबै सावधान हुन जरुरी छ।’

पछिल्लो समयमा केन्द्रीय सरकारले प्रत्येक स्थानीय तहमा कोभिड अस्पताल स्थापना गरेको छ। कोभिड अस्पतालले चिकित्सकीय सेवा पाउन सकेका छैनन्। सामान्य भन्दा सामान्य सेवा दिन नसकिरहेको बेला चरम लापरबाही गर्नु घातक हुने उपपमुख बुढा बताउँछन्। अहिले विद्यालय खोलिएका छन्। न त्यहाँ सामाजिक दूरी कायम गरिएको छ। न त स्वास्थ्य सुरक्षाको कुनै मापदण्ड अपनाइएको छ। मास्कको प्रयोग नियमित छैन। सदरमुकामसहितका बजारमा निकै लापरबाही छ। 

सरकारी कार्यालयहरुमा भिडभाड निकै हुने गरेको छ। कोरोनाविरुद्धको अभियानमा लाग्नु पर्ने देखिएको छ। स्थानीय प्रशासनले कोरोना संक्रमणको दर बढ्दै गएकोले सजग बन्न आग्रह गरेको छ। सरकारी सेवाप्रवाह गर्दा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदण्डको भरपुर पालना गर्न निर्देशन गरिएको छ।

यहाँका राजनीतिक पार्टीले भेला सम्मेलन गरेकोले पनि निकै जोखिम छ। जुम्लामा रहेका एक नगरपालिकासहित ७ वटा गाउँपालिकामा कोरोना सम्बन्धी सतर्कता अपनाइएको पाइदैन।

प्रकाशित: ८ पुस २०७७ ०७:३७ बुधबार

कोरोना स्वास्थ्य सावधानी कोभिड अस्पताल