स्वास्थ्य

परीक्षण खोप लिएको १४ दिनपछि हरियाणाका गृहमन्त्री भए कोरोना संक्रमित

गत नोभेम्बर २० मा तेस्रो चरणको परीक्षण खोप लिँदै अनिल विज। २८ दिनपछि उनी खोपको दोस्रो डोज लिँदै थिए, तर त्यसअघि नै उनी कोरोनाबाट संक्रमित भए।

कोरोनाविरुद्ध तेस्रो चरणको परीक्षण खोप लगाएका भारतको हरियाणा राज्यका गृहमन्त्री अनिल विजलाई कोरोना संक्रमण भएको छ।  

शनिबार सामाजिक सञ्जालमार्फत उनले आफू कोरोना पोजिटिभ भएको जानकारी दिएका हुन्।  

उनले ट्विटरमा लेखेका छन्, ‘मेरो परीक्षण रिपोर्ट कोरोना पोजटिभ आयो। अहिले म सिभिल अस्पताल अम्बाला क्यान्टमा भर्ना भएको छु। मेरो नजिकको सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन सल्लाह दिन्छु।’

भारतमा गत नोभेम्बरमा सञ्चालित कोरोनाविरुद्धको खोपको तेस्रो परीक्षणमा गृहमन्त्री विज पहिलो स्वयंसेवकका रूपमा सहभागी भएका थिए। 

खोपको पहिलो डोज लिएको १४ दिनपछि उनी कोरोनाबाट संक्रमित भएका हुन्। पहिलो डोज लगाएको २८ दिनपछि उनी दोस्रो डोज लिँदै थिए। तर त्यसअघि नै उनी  कोरोनाबाट संक्रमित भएका हुन्।  

भारत बायोटेकले कोभ्याक्सिन बनाइरहेको छ। अहिले यसको परीक्षण चलिरहेको छ। यसको तेस्रो चरणको परीक्षण नोभेम्बर २० मा सुरु भएको थियो।  

खाेप उत्पादक कम्पनीकाे स्पष्टीकरण

खोप लगाएर पनि कोरोना संक्रमण भएको विषयमा भारत बायोटेक कम्पनीले स्पष्टीकरण दिएको छ। 

उसका अनुसार कोरोनाविरुद्ध खोपको २ डोज लिएपछि मात्र यसको प्रभाव थाहा हुन्छ। खोप नै दुई डोज लिएपछि मात्र कोरोनाविरुद्ध काम गर्ने गरी बनाइएको कम्पनीको दाबी छ।  

स्राेत : दैनिक भास्कर

प्रकाशित: २० मंसिर २०७७ ०७:३७ शनिबार

हरियाणा