स्वास्थ्य

चौध वर्षमुनिका बालबलिकाले कोभिड खोप नपाउने

विश्वभरका विभिन्न कम्पनीले कोभिड १९ विरुद्ध खोप परीक्षण गरिरहेको र सफल भएको बताए पनि १४ मुनिका बालबालिकाले भने यो खोप लगाउन नपाउने भएका छन्। हालसम्म १४ वर्षमुनिका बालबालिकामा क्लिनिकल ट्रायल (प्रयोग अनुसन्धान) नभएकाले पहिलो चरणमा यो समुहले खोप लगाउन पाउने स्थिति नरहेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ। ‘अहिलेसम्म १४ वर्षमुनिका बालबालिकामा कोरोनाको खोप क्लिनिकल ट्रायल भएको जानकारी प्राप्त भएको छैन,’ उनले भने।

शर्माका अनुसार यो समुहमा कोरोना भाइरस संक्रमणको असर कम देखिएको र मृत्यु पनि कम भएकोले पहिलो चरणमा उनीहरुमाथि प्रयोग नभएको हुनसक्ने बताए। ‘बालबालिकामा कोरोना भाइरसको असर पाका उमेर समुहमाभन्दा कम छ, वैज्ञानिकहरुले यो समुहमा खोपको आवश्यकताबारे सोच्दै होलान्,’ डा. शर्माले भने।

नेपालमा कोरोना भाइरस संक्रमणले बालबालिकामा संक्रमण र मृत्यु दुवै भएको छ। नेपालमा कुल जनसंख्याको २८ प्रतिशत १४ वर्षमुनिका बालबालिकाको संख्या छ। नेपालमा २८ दशमलव ९ प्रतिशत बालबालिका कोरोनाविरुद्धको खोपबाट बञ्चित हुनेछन्। यो हिसाबले ८६ लाख २१ हजार २ सय ९२ जना हुन आउँछन्।

शर्माका अनुसार कोभाक्स ( खोपको पहल गर्ने अन्तर्राष्ट्रिय निकाय )ले अन्तिमसम्म प्रमाणित भएका खोपहरु खरिद गरेर एकै साथ विश्वभरि वितरण गर्नेछ। सोही क्रममा नेपालमा पनि आइपुग्नेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आगामी तीन महिनाभित्रमा मात्र नेपालमा खोप आइपुग्नेछ।

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु
कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ। थपसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ५१ जना पुगेको छ। गत २४ घण्टामा थप १३ सय ४३ जनामा कोरोना पुष्टि भएको छ। थपसहित नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ५ सय ८९ जना पुगेको छ। संक्रमितमध्येमा २ लाख २० हजार २ सय ७२ जना निको भएका छन्। हाल १५ हजार ७ सय ६६ जना सक्रिय संक्रमित रहेकोमा १० हजार २ सय ७१ जना होम आइसोलेसन र ५ हजार ४ सय ९५ जना संस्थागत आइसोलेसनमा छन्। गम्भीर लक्षण भएका आइसियु तथा भेन्टिलेटरमा गरी ४ सय ५३ जनाको उपचार भइरहेको छ। गत २४ घण्टामा ९ हजार २ सय ८९ वटा पिसिआर परीक्षण भएको थियो।

प्रकाशित: १९ मंसिर २०७७ ०३:२८ शुक्रबार

कोभिड खोप चौध वर्षमुनिका बालबलिका