स्वास्थ्य

वीपी प्रतिष्ठानमा थपियो पीसीआर मेशिन, एकैदिन १५ सय नमुना परीक्षण हुने

वीपीका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई सांकेतिकरुपमा पिसिआर मेशिन हस्तान्तरण गरिदै। तस्बिर: वीपी प्रतिष्ठान

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एउटा पीसीआर मेशिन जडान भएको छ। यो सँगै प्रतिष्ठानमा पीसीआर मेशिनको संख्या तीन पुगेको छ। रोटरी इन्टरनेशनलले प्रतिष्ठानलाई ९६ नमुना परीक्षण गर्न सक्ने पीसीआर मेशिन उपलब्ध गराएको हो। बुधबार विराटनगरमा हस्तान्तरण भएको मेशिन प्रतिष्ठानस्थित माइक्रोबायोलोजी ल्याबमा जडान भइसकेको एडिस्नल प्रोफेसर डा.नारायण भट्टराईले जानकारी दिए। यो मेशिन जडान भएपछि अब दैनिक १५ सय स्वाबको नमुना परीक्षण गर्ने क्षमता प्रतिष्ठानको पुगेको पनि उनले बताए। ‘रोटरीले दिएको पीसीआर मेशिन अत्याधुनिक हो, हामीले ल्याएर जडान गरिसक्यौं,’डा.भट्टराईले भने,‘ अब वीपीमा दैनिक १५ सय पीसीआर परीक्षण हुन्छ।’

यो मेशिन रोटरी इन्टरन्यासनल डिस्ट्रीक्ट ३२९२ अन्र्तगतका रोटरी क्लब अफ विराटनगर डाउनटाउन, रोटरी क्लब अफ विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनले संयुक्त रूपमा प्रतिष्ठानले पाएको हो। माइक्रोबायोलोजी ल्याबमा भएको ३ वटा पिसिआर मेशिनबाहेकर अर्को द्रुत परीक्षण गर्ने जिन एक्स्पर्ट मेशिन पनि छ। यो मेशिन भने इर्मजेन्सीमा राखिएको छ। त्यहाँ गम्भीर प्रकृतिका तत्काल पीसीआर जाँच गर्नुपर्ने विरामी आए उनीहरुको जाँच गरिने डा.भट्टराईले बताए। ‘यो मेशिनले ५० मिनेटमा रिपोर्ट दिन्छ। इर्मजेन्सी केसहरुमा यो मेशिनबाट परीक्षण भइरहेको छ,’उनले भने।

वीपी प्रतिष्ठानमा हालसम्म ६८ हजार ८ सय ६४ स्वाबको परीक्षण भएको छ। त्यसमध्ये ६० हजार ६ सय २२ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको छ भने ७ हजार १ सय ७४ नमुनाको रिपोर्ट मात्र पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानमा प्रदेश १ का जिल्लाबाहेक २ नम्बर प्रदेशबाट पनि स्वाब परीक्षणको लागि आउने गरेको छ।  

प्रतिष्ठानलाई बिहिबार धरान उपमहानगरपालिकाले वासिङ मेशिन उपलब्ध गराएको छ। एक पटकमा ८० केजीसम्म कपडा धुनसक्ने मेशिन उपमहागनगरपालिकाले दिएको हो। धरानका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले प्रतिष्ठानलाई मेशिन हन्तारन्तरण गरेका थिए। प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले उपमहानगरपालिकालाई धन्यवाद दिएका थिए।

 

 

प्रकाशित: ११ मंसिर २०७७ १२:४२ बिहीबार