स्वास्थ्य

सुशील कोइराला क्यान्सर अस्पतालमा सर्जरी सेवा सञ्चालन

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सर्जरी सेवा शुभारम्भ कार्यक्रम । तस्बिर : नागरिक

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सर्जरी सेवा सञ्चालनमा ल्याएको छ। खजुरा गाउँपालिका वडा नम्बर ७ मा रहेको उक्त अस्पतालले शुक्रबार औपचारिक रुपमा उक्त सेवा सञ्चालनमा ल्याएको हो।  

अस्पतालका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद आचार्यका अनुसार शरीरमा मासु पलाएको, गाँठागुठी भएको, मुसा निस्केको लगायत स्वास्थ्य समस्या भएका ब्यक्तिको सर्जरी गरिनेछ। अस्पतालले सेवा शुभारम्भको अवसरमा शुक्रबारबाट निःशुल्क रुपमा शल्यक्रिया पनि सुरु गरेको उनले बताए। निर्देशक डा. आचार्यका अनुसार एक साताभित्र जटिल समस्या भएका बिरामीको शल्यक्रिया गरिनेछ।  

‘यो नियमित सेवा हो, अस्पतालको अप्रेसन थियटर बनेको दुई वर्ष भइसकेपनि विभिन्न कारणले गर्दा सुचारु हुन सकेको थिएन,’ आचार्यले नागरिकसँग भने ‘धेरै महेनतका साथ अहिले हामीले सुरु गरेका छौं, पहिलो दिनमै माइनर ओटीका ३ वटा केस गर्‍यौं।’ उक्त अस्पताल चितवनस्थित भरतपुर क्यान्सर अस्पतालपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै एक मात्र क्यान्सर अस्पताल हो।  

विभिन्न जिल्लामा रहेका बिरामीलाई सूचना दिएर सर्जरी सेवालाई नियमित गरिने आचार्य बताउँछन्। उनले थपे, ‘अहिले हामीले सुरु गरेको जनरल सर्जरी सेवा हो, जनरल नगरेर क्यान्सरको सर्जरी गर्न एकैचोटी गाह्रो हुन्छ, अब चाही क्यान्सरसँग सम्बन्धित सर्जरी गर्न पनि सकिन्छ।’ पहिलो दिन बाँके बैजनाथ गाउँपालिका निवासी १५ वर्षीया युवतीको स्तनमा रहेको ट्युमर सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। अस्पतालले चाडै नै अस्पतालले स्त्रीरोग सम्बन्धी विशेषज्ञ सेवा पनि सञ्चालन गर्ने तयारी अगाडी बढाएको छ।  

उक्त अस्पतालले जनरल सेवा, क्यान्सर पीडित बिरामीका लागि किमोथेरापी, प्रयोगशाला, सिटीस्क्यान सेवा, भिडियो एक्स रे लगायतका सेवा प्रदान गरिरहेको जनाइएको छ। सर्जरी सेवा शुभारम्भ कार्यक्रममा बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य नन्दलाल रोकाय, प्रदेश सभा सदस्यद्धय बाबुराम गौतम र आईपी खरेल, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङ, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति लगायतको सहभागिता रहेको थियो।

प्रकाशित: ५ मंसिर २०७७ ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App