स्वास्थ्य

कोरोना रोकथामबारे बुझ्न मन्त्रालयको टोली भक्तपुरमा

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा भक्तपुर नगरपालिकाले गरेका क्रियाकलापको बारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी लिएको छ।  

स्वास्थ्य मन्त्रालयका तर्फबाट डा. वासुदेव पाण्डे नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका पुगेर नगरप्रमुख सुनील प्रजापतिलगायतसँग छलफल गरेको हो। सो अवसरमा प्रमुख प्रजापतिले स्रोत र साधनको अभावबीच पनि जनप्रतिनिधि आ-आफ्नो क्षमताअनुसार कोरोनाबाट समाजलाई जोगाउन सक्रियतापूर्वक लागिरहेको बताए।

नगरपालिकाले नेपाल सरकारको कार्यविधिअनुसार प्रकोप व्यवस्थापन केन्द्र (सीएमसी) गठन गरी कोरोना नियन्त्रण तथा रोकथाममा क्रियाशील भई गरिरहेको प्रमुख प्रजापतिले जानकारी दिए।

डा. पाण्डेले कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय भएको जनाउँदै संक्रमितहरूको पहिचान हुन नसक्दा संक्रमणको खतरा झन् बढ्दै गइरहेको बताए।  

सो नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र प्रमुख डा. रत्नसुन्दर लासिवाले कोरोना बीमाले जनतामाझ अन्योल सिर्जना भएकाले स्पष्ट सन्देश दिन सञ्चारमाध्यमलाई आग्रह गरे। रासस

प्रकाशित: २५ कार्तिक २०७७ १३:१० मंगलबार

कोरोना रोकथाम टोली भक्तपुरमा