स्वास्थ्य

हाइ डिपेन्डेन्सी युनिट बनाउन बजेट निकासा

सरकारले कोरोना उपचारमा आवश्यक ६ हजार हाइ डिपेन्डेन्सी युनिट निर्माणका लागि बजेट निकासा गरेको जनाएको छ। यसका लागि ४ अर्ब २५ करोड २७ लाख २० हजार रूपैयाँ निकासा भएको हो। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन्।  

मन्त्रालयका अनुुसार पहिलो चरणमा सातै प्रदेशका अस्पतालमा २५ बेड हाइ डिपेन्डेन्सी युनिट निर्माण गरिनेछ। प्रदेश १ को कोसी अस्पताल, मेची अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५ बेडका हाइ डिपेन्डेन्सी युनिट, प्रदेश २ को जनकपुर अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल, सगरमाथा अस्पतालमा बजेट पठाइसकेको मन्त्रालयको भनाइ छ।  

त्यसैगरी वाग्मती प्रदेशमा धुलिखेल अस्पताल, हेटांैडा अस्पताल र भरतपुर अस्पताल छन् भने गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,  बाग्लुङ्ग अस्पताल र गोर्खा अस्पताल, लुम्बिनी प्रदेशमा लुम्बिनी अस्पताल, भेरी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन्। कर्णाली प्रदेशका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अस्पताल र जाजरकोट अस्पताल रहेका छन्। त्यसैगरी सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा अस्पताल, सेती अस्पताल र महाकाली अस्पताल रहेका छन्। काठमाडौं  उपत्यकाभित्र, वीर, पाटन, टिचिङ अस्पतालमा १ सय बेडका दरले हाइ डिपेन्डेन्ट युनिट निर्माणको लागि बजेट निकासा भएको छ। त्यसैगरी प्रसुति गृह अस्पताल,धुलिखेल, प्रहरी अस्पताल, आर्मी अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, सशस्त्र प्रहरी अस्पताल, दहचोक अस्पताल, सिभिल अस्पतालमा ५० वटाका दरले हाइडिपेन्डेन्ट युनिट निर्माण गर्न लागिएको छ।  

त्यसैगरी मनमोहन अस्पताल, भक्तपुर जिल्ला अस्पताल, चापागाउँ अस्पताल, भक्तपुर म्युनिसिपालिटी अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मानसिक अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्रलगायतमा २५÷२५ बेडका दरले युनिट निर्माण गर्ने व्यवस्था गरिएको छ। बजेट निकासासँगै सम्बन्धित अस्पतालहरूले हाइडिपेन्डेन्ट युनिट छिटो निर्माण गर्र्ने आशा गरिएको डा. गौतमले बताए।  

थप २१ को मृत्यु  कोरोना संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थपसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७  जनामा कोरोना पुष्टि भएको छ। थपसहित नेपालमा  कुल संक्रमित संख्या १ लाख ४८ हजार ५ सय  ९ जना पुगेको छ। हाल देशभरिमा ४४ हजार ८ सय ८७ जना सक्रिय संक्रमित छन्। तीमध्ये १३ हजार ३ सय ३९  जना संस्थागत र ३१ हजार ५ सय ३८ जना होम आइसोलेसनमा छन्।  

गम्भीर लक्षण भएका २ सय ९० जनाको आइसियु र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। कुल संक्रमितमध्ये हालसम्म १ लाख २८ हजार २० जना निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा १५ हजार २ सय ५५ वटा पिसिआर परीक्षण भएको थियो। योसहित नेपालमा कुल ४ लाख ६२ हजार २ सय ६८ जनाको परीक्षण भइसकेको छ। ३ हजार ७ सय ५१ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित: ७ कार्तिक २०७७ ०१:३७ शुक्रबार