स्वास्थ्य

ब्राजिलमा कोरोनाविरुद्ध परीक्षण खोप लगाउने टोलीका एक सदस्यको मृत्यु

फाइल तस्बिर

ब्राजिलमा कोरोनाविरुद्धको परीक्षण खोप लगाउने टोलीका एक सदस्यको मृत्यु भएको छ।  

ब्राजिलको स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप परीक्षण गर्ने टोलीमा सहभागी एक स्वयंसेवकको मृत्यु भएको हो।  

रोयटर्सका अनुसार मृत्यु हुने व्यक्तिले कोरोनाविरुद्धकै खोप लगाएको नभई मेनिन्जाइटिसको खोप लगाएको स्रोतले दाबी गरेको छ। यसैकारण परीक्षण जारी रहने जनाइएको छ।  

अक्सफोर्डले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘क्लिनिकल ट्रायलको सुरक्षामा कुनै चिन्ता छैन।’

खोप उत्पादक कम्पनी एस्ट्रेजेनेकाले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

अक्सफोर्डले विकास गरेको खोप ब्राजिलमा तेस्रो चरणको परीक्षण भइरहेको हो। यसको सञ्चालक साओपालोस्थित फेडेरल विश्वविद्यालयले पनि स्वतन्त्र समिक्षा समितिले परीक्षण नरोक्न सुझाव दिएकाे जनाएको छ।  

सिएनएन ब्राजिलका अनुसार २८ वर्षीय मृत्यु भएका व्यक्ति ब्राजिलकै नागरिक हुन्। उनी रियो दि जेनेरियो बस्थे।

प्रकाशित: ६ कार्तिक २०७७ ०९:२७ बिहीबार

ब्राजिल खोप