स्वास्थ्य

वीपीले हप्तामा १ पटक मात्र डायालिसिस् गर्ने, मृगौला पीडितलाई समस्या

विगत ८ वर्षदेखि हप्तामा २ पटक नियमित डाइलाइसिस गराउदै आएका मानबहादुर बजगाईको आज(सोमबार) ११ बजे पनि पालो थियो। तर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उनको सोमबार नियमित पालोमा डाइलाइसिस हुन सकेन।

डाइलाइसिस युनिटले हप्तामा १ पटक मात्र गर्न सकिने भन्दै उनलाई डाइलाइसिस गरिदिएन। यसरी सोमबार पालो काटिनेमा मानबहादुरसँग ६ जना मृगौलाका विरामीहरु छन्। नियमित पालो काटिएपछि सोमबार मृगौला विरामी तथा आफन्तहरु अस्पताल प्रशासनमा जवाफ माग्न पुगे, तर प्रशासनले पनि चित्तबुझ्दो जवाफ दिन सकेन।  

बजगाई मृगौला पीडित सरोकार समाजका अध्यक्ष पनि हुन्। उनका अनुसार प्रशासनले अबदेखि हप्तामा १ पटक मात्र डाइलाइसिस गराउन सकिने भन्दै सिरियस अवस्था भएकालाई इर्मजेन्सीबाट प्रक्रिया पुराएर आउन भनेको छ। ‘अस्पतालले हप्तामा १ पटक मात्र डाइलाइसिस गर्नु भनेको विरामीलाई ठाडै गएर आत्महत्या गर भनेको हो,’उनी भन्छन्,‘हप्तामा २ पटक गर्दा त कतिलाई गाह्रो भइरहेको छ, झन् १ पटक मात्र हुँदा के होला ? तड्पेर मर्नु भनेको होइन ?’ उनले राज्यकोतर्फबाट निःशुल्क पाउने औषधिहरु पनि वीपीमा नहुने र बाहिरबाट किनेर ल्याउनु परिरहेको बताए। त्यसरी खरिद भएको सामानको विल अनुसार पैसा फिर्ता हुनुपर्ने भए पनि फिर्ता नपाएको उनले गुनासो गरे।  

प्रतिष्ठानमा हप्तामा २ पटक डाइलाइसिस गराउन १६ जना मृगौलाका विरामीहरु छन्। प्रतिष्ठानले ८ वटा मेशिन चलाएर एक सिफ्टमा ८ जनासम्मलाई डाइलाइसिस गराउदै आएको थियो। आजदेखि भने ४ वटा मात्र मेशिन चलाएको विरामीहरुको भनाइ छ। इर्मजेन्सी हुँदै डाइलाइसिस गराउन आउनेको संख्या अत्यधिक छ। विरामीहरुलाई प्रष्ट कारण नभने पनि कोरोनाको कारण जनशक्ति(स्टाफ नर्स) कमी भएर समस्या भएको प्रशासनको भनाइ छ। विरामीहरु भने जनशक्ति अभाव भन्दै आफूहरुको बाँच्ने अधिकारबाट बञ्चित गराउन खोजेको भन्दै आक्रोश व्यक्त गर्छन्। ‘इर्मजेन्सीबाट रिफर भएर आउ भन्छ। तर, कुरा एउटै हो, त्यहाँबाट पनि आउने त डाइलाइसिसमै हो नि,’ श्रीमानको डाइलाइसिस गराउदै आएकी तारामाया तामाङले भनिन्,‘मेरो श्रीमानको पालो पर्सि छ, तर पाउदैन भन्दैछ। हामी कहाँ जानु ? अरुतिर लैजाने क्षमता छैन।’  

छोरीको डाइलाइसिस गराउदै आएका धरान ८ का उत्तम राईले प्रतिष्ठानले कोभिडको लागि ५० जना स्टाफ नर्स नियुक्ती गर्ने भनेर अन्र्तवार्ता लिएपछि नतिजा ननिकालेकोले समस्या भएको बताउँछन्। ‘जनशक्ति कमी भयो भन्छन् तर ५० जना नर्स नियुक्ति गर्ने भनेको अहिलेसम्म गरेनन्,’उनले भने,‘हाम्रो विरामीलाई कोरोना लाग्यो भने तपाईहरुलाई दोष दिदैनौं भनेर कागज पनि गरेर डाइलाइसिस गर्यौं। यति मजबुर भएर आएका छों, तर घरि घरि यस्तो समस्या खडा गर्छन्। किड्ने विरामी पनि झुण्डिएर मर्नेबाहेक उपाय देखिएन।’

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.प्रमोद बरालले डाइलाइसिस युनिटमा खटिएका तालिम प्राप्त नर्सहरुमा कोरोना देखिएको र केहीलाई कोभिड अस्पतालको डाइलाइसिसमा खटाउनु परेकोले समस्या भएको बताए। उनका अनुसार डाइलाइसिसमा १९ जना नर्सहरु छन्। ती मध्ये ६ जनालाई कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा छन् भने ४ जनालाई कोभिडको डाइलाइसिसमा खटाइएको छ।

‘पहिला भन्दा जनशक्ति आधा कम भयो, तर पनि डाइलाइसिस बन्द नै नगर्ने, विगतको भन्दा कम क्षमतामा गर्ने भनेर डाइलाइसिस प्रमुखबाट जानकारी आएको छ,’वरालले भने,‘गाह्रो भयो भने इर्मजेन्सीबाट आउनेलाई भइहाल्छ। अरु रुटिनमा हप्तामा २ चोटी गर्नेलाई १ पटक मात्र गर्ने भनिएको रहेछ।’ उनका अनुसार डाइलाइसिसमा स्टाफ नर्सलाई खटाउदा बिशेष तालिम दिएर मात्र खटाउनुपर्ने हुन्छ। यो तालिम तत्काल दिएर सम्भव नहुने भएकोले केही समस्या भएको उनले बताए।

प्रकाशित: २७ आश्विन २०७७ ०५:३० मंगलबार

डाइलाइसिस वीपी प्रतिष्ठान मृगौला पीडित