स्वास्थ्य

तीन महिनामै बिग्रिए भेन्टिलेट, अनियमितताको आशंका

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पताल सञ्चालन भएको तीन महिना नबित्दै अधिकांश भेन्टिलेटर बिग्रिएका छन्। संघीय सरकारले बजेट उपलब्ध गराएपछि खरिद गरेर कोभिड अस्पतालमा नौवटा भेन्टिलेटर जडान गरिएको थियो। कोभिड अस्पताल सञ्चालन भएको तीन महिना पनि नबित्दै ती भेन्टिलेटर बिग्रिएपछि आर्थिक अनियमितताको आशंका गरिएको छ।

भेन्टिलेटर खरिदका लागि संघीय सरकारले बिपी प्रतिष्ठानलाई १२ करोड दिएको थियो। करोडौं खर्चिएर खरिद गरिएका नयाँ भेन्टिलेटर बिग्रिएपछि अहिले संक्रमितहरूले आइसियुमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ। प्रतिष्ठानका एक चिकित्सकका अनुसार बुधबार दिउँसो धरान–८ का युवाको कोभिड अस्पतालमा भेन्टिलेटर नपाएर इमर्जेन्सीमा नै मृत्यु भएको थियो। ‘उहाँलाई कोभिड अस्पतालमा भेन्टिलेटरमा लैजान निकै प्रयास गरियो तर भेन्टिलेटर बिग्रिएर थन्किएकोले लैजान सकिएन। इमर्जेन्सीमै उहाँको ज्यान गयो,’ ती चिकित्सकले भने।

प्रतिष्ठानको कोभिड अस्पतालमा जडान गरिएका नौमध्ये दुईवटा भेन्टिलेटर मात्र सञ्चालनमा रहेको स्रोतको भनाइ छ। अन्य सातवटा भेन्टिलेटर हाल मर्मत भइरहेको छ। ती भेन्टिलेटर व्यापारीसँगको मिलेमतोमा खरिद गरिएकाले कमसल जडान गरिएको स्रोतले जनायो। ‘मिलेमतो र कमिसनको चक्करले कोभिडको भेन्टिलेटरको यो हालत भएको हो,’ स्रोतले भन्यो। प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीका प्रशासनिक सल्लाहकार भनिएका दिलीप भट्टराईले व्यापारीहरूसँग मिलेमतो गरेर अस्पतालका उपकरण र सामग्री खरिद गरेको आएको आरोप लाग्दै आएको छ। तर भट्टराईले भने यो आरोपको खण्डन गर्दै आइरहेका छन्।

यसअघि पनि प्रक्रिया मिचेर खरिद गरिएको सामानको बिल मिलाउन दबाब दिएपछि कोभिड अस्पताल प्रमुख डा. कृष्णा पोखरेलले राजीनामा दिएकी थिइन्। प्रक्रियाविपरीत भएको खरिदको हिसाब मिलान गर्न नमान्दा खरिद शाखा प्रमुख तथा मूल्यांकन समितिका सदस्य सचिव विष्णु चापागाईंको सरुवा गरिएको थियो। नेपालमा पनि कोरोना महामारी आउन थालेपछि गत वैशाखमा बिपी प्रतिष्ठालने लेभल थ्री कोभिड अस्पताल सुरुवात गरेको थियो। सय बेडको भनिएको उक्त अस्पताल भने झन्डै चार महिनापछि साउन अन्तिमदेखि मात्र सञ्चालनमा आयो। तर अहिले सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै जडान गरिएका भेन्टिलेटरहरू बिग्रिएका हुन्। प्रतिष्ठानका अस्पताल निर्देशक प्राध्यापक डा. गौरीशंकर साहले कोभिडका केही भेन्टिलेटरमा समस्या आएकाले मर्मत भइरहेको जानकारी दिए।

यसैबीच अस्पताल निर्देशक डा. साहले एक सूचना जारी गर्दै समन्वय गरेर मात्र संक्रमित बिरामी भर्नाका लागि प्रतिष्ठान ल्याउन आग्रह गरेका छन्। अधिकांश बेडमा लक्षणसहितका बिरामी भर्ना भइसकेको भन्दै प्रतिष्ठानले समन्वयकर्ता डा. इन्द्र लिम्बूलाई सम्पर्क गरेर मात्र बिरामी भर्ना गर्न ल्याउन प्रतिष्ठानले आग्रह गरेको हो। अस्पताल निर्देशक डा. साहले सम्बन्धित व्यक्तिलाई समन्वय नगरी आएका बिरामीलाई आइसियु, भेन्टिलेटर तथा बेड उपलब्ध गराउन नसकिने पनि बताएका छन्।

प्रकाशित: २४ आश्विन २०७७ ०२:५४ शनिबार

अनियमितता भेन्टिलेट बिग्रिए