स्वास्थ्य

ललितपुरमा संक्रमितको संख्या ३ हजार नाघ्यो, यस्तो छ नालीबेली

फाइल तस्बिर : ललितपुरकाे पाटन क्षेत्र

ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ। ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार २ सय ६२ पुगेको हो।  

यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या १ हजार ८०३ पुगेको छ। यसैगरी ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ४ सय ३० र मृतकको सङ्ख्या २९ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए।  

उनले भने, ‘स्वास्थ्य मन्त्रालय र जिल्लाको तथ्याङ्कमा केही फरक देखिएको छ। ललितपुरको ठेगाना राखेर अन्य जिल्लामा बसोबास गर्ने मानिसको तथ्याङ्क पाइएको हुँदा कूल सङ्क्रमितको सङ्ख्यामा केही फरक देखिएको हो।’

त्यसलाई खोजेर मिलाउने काम गरिने गेलालले बताए। 

ललितपुर महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय ८८ पुगेको छ। तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या १ हजार ८८, सक्रिय सङ्क्रमित ८७९ जना छन् भने मृतकको संख्या २१ पुगेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए।  

उनले भने, ‘सक्रिय सङ्क्रमितमध्ये ८ सय १२ होम आइसोलेसनमा र ६७ जना अस्पताल छन्।’  

गोदावरी नगरपालिकामा सङ्क्रमितको सङ्ख्या २ सय ३ पुगेको छ। तीमध्ये निको भई १ सय ३२ जना डिस्चार्ज भइसकेका छन् भने होम आइसोलेसनमा ५७, बडिखेल आइसोलेसनमा ६ जना छन्। मृतकको सङ्ख्या ३ रहेको नगरपालिकाले जनाएको छ।  

महालक्ष्मी नगरपालिकामा सङ्क्रमित सङ्ख्या ४०८ पुगेको छ। तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या २३५ र मृतकको संख्या दुई पुगेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले जानकारी दिए।  

उनले भने, ‘सक्रिय सङ्क्रमित १७१ मध्ये २२ अस्पताल र १४९ होम आइसोलेसनमा छन्।’

त्यस्तै महाङ्काल गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या १२ छ। तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या ७ छ  भने एकजना अस्पताल र चारजना होम आइसोलेसनमा रहेको स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए।  

कोञ्ज्योसोम गाउँपालिकामा कूल सङ्क्रमितको सङ्ख्या १२ पुगेको छ। तीमध्ये चार सक्रिय र बाँकी आठ जना निको भई डिस्चार्ज भइसकेको संयोजक नवलकिशोर महतोले बताए।  

वाग्मती गाउँपालिकामा कूल १२ सङ्क्रमितमध्ये होम क्वारेन्टिनमा पाँच र कोरोना निको भई सात जना डिस्चार्ज भएको संयोजक नवराज तिमिल्सिनाले जानकारी दिए।

ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्टार, प्रयोगशाला, बीएन्डबी र आनन्द वन अस्पतालले कोरोना परीक्षण गर्ने गरेका छन्।  

ललितपुरमा २२१ आइसोलेसन र ४०८ क्वारेन्टिन तयार भएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रयोगशाला प्राविधिक उपेन्द्र लामिछानेले जानकारी दिए।  

प्रकाशित: २० आश्विन २०७७ १०:३५ मंगलबार

ललितपुर महानगर