स्वास्थ्य

गोरखा अस्पतालमा १८ महिनापछि शल्यक्रिया सुरु

गोरखा अस्पतालमा शल्यक्रिया गर्दै डाक्टरहरु । तस्विर : अस्पताल

मंगलबार एक महिलाको शल्यक्रिया गरेर बच्चा जन्मिएसँगै करिब १८ महिना यता गोरखा अस्पतालले अप्रेशन सेवा सुरु गरेको छ। अस्पतालको नयाँ भवन निर्माण र कोभिडको प्रभावका कारण शल्यक्रिया सेवा बन्द रहेको थियो।  

‘अहिले जनशक्ति पनि हुनुहुन्छ, ठाउँ अभाव भएपछि अत्यावश्यक सेवा सुरु गर्ने योजना अनुरुप शल्यक्रिया थालेका हौँ’ अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने।  

हाल अस्पताल सञ्चालन गरिएको भवनमा अप्रेशन थिएटर निर्माण गरी सेवा सुरु गरिएको छ। बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सकुशल रहेको सूचना अधिकारी ढकालले बताए।  

जनरल फिजिसियन, प्रसुती तथा स्त्रीरोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ र एमडिजिपी जनरल फिजिसिएन गरी चार जना विषेशज्ञ गोरखा अस्पतालमा छन्। अप्रेशनबाट सुत्केरी गराउने सेवा सञ्चालनपछि अन्य अप्रेशन सेवा समेत सञ्चालन गर्दै जाने योजना रहेको उनले बताए।

यसअघि अस्पतालसंगैको आइसोलेसनमा कोरोनाका संक्रमित राख्ने गरिएकोमा अब संक्रमितलाई गोरखा अस्पतालको आइसोलेसनमा राखी अस्पतालमा संक्रमित नल्याउने निर्णय अस्पतालले गरेको छ। यसअघि अस्पतालमा कोरोना संक्रमित राख्दा अन्य बिरामी डराएर उपचार गर्न जानेको संख्या घटेको थियो। सुविधा सम्पन्न भवन बन्दै गरेको गोरखा अस्पतालको नयाँ भवन भने निर्माणाधिन छ।

प्रकाशित: १३ आश्विन २०७७ १३:३४ मंगलबार