स्वास्थ्य

कोरोनाबाट थप १० लाख मानिसको मृत्यु हुने सम्भावना छ : डब्लुएचओ

डा. माइक रायन

प्रभावकारी खोप तयार हुँदासम्म कोरोना संक्रमणबाट थप १० लाख मानिसको मृत्यु हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ।  

डब्ल्युएचओकाे आपत्कालीन मामिलाका प्रमुख डा. माइक रायनले अहिलेको गतिमा संक्रमण जारी रहे यसविरुद्ध खोप आउन्जेलसम्म यसबाट हुने मृत्युकाे संख्या २० लाख नाघ्ने चेतावनी दिएका हुन्।  

गत वर्ष सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वमा झन्डै १० लाख जनाको ज्यान गइसकेको छ।  

डा. रायनले संक्रमण रोक्न आवश्यक सबै उपाय अपनाउन विश्वका सरकारहरूलाई सुझाव दिएका छन्।  

केही दिनयता युरोपमा फेरि ठूलो संख्यामा संक्रमित थपिने क्रम सुरु भएको छ।  

डा. रायनले भने, ‘समग्रमा उक्त विशाल क्षेत्रमा हामीले यस रोगको चिन्ताजनक वृद्धि देखिरहेका छौं।’

तसर्थ परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, भौतिक दूरीजस्ता स्वास्थ्य सुरक्षामा नियम पालना गर्न उनको आग्रह छ।  

जेनेभास्थित डब्ल्युएचओको मुख्यालयमा बोल्दै उनले भने, ‘लकडाउन अन्तिम विकल्प हो।’  

प्रकाशित: १० आश्विन २०७७ ०७:३९ शनिबार

डब्लुएचओ