स्वास्थ्य

रेबिज रोगलाई नियन्त्रण गर्न के गर्ने ?

सन्दर्भ: विश्व रेबिज दिवस

प्राणघातक मानिएको रेबिज रोगको नियन्त्रणका लागि जनचेतना जगाउने र सहकार्य बढाउने उद्देश्यले १३ वर्ष अगाडिदेखि ‘विश्व रेबिज दिवस’ मनाउन थालिएको छ । रेबिज रोगको खोप पत्ता लगाउने वैज्ञानिक लुइस पास्चरको जन्मजयन्ती पारेर विश्वभर सेप्टेम्बर २८ मा यो दिवस मनाउँदै आइएको छ ।  

यस वर्षको १४औँ विश्व रेबिज दिवसलाई ‘ग्लोबल एलाइन्स फर रेबिज कन्ट्रोल’ (जिएआरसी)ले ‘सहकार्य र खोपमार्फत रेबिज रोगको उन्मूलन गरौैँ’ नारा तय गरेको छ । रेबिजकै कारण अझै पनि दर्जनौँ मानिसको मृत्यु हुने नेपालमा यो दिवसमार्फत जनचेतना जगाउने र सहकार्य बढाउने कार्य निरन्तर गर्न आवश्यक छ ।  

दृष्टान्तका लागि केही महिनाअघि मात्र दोलखा जिल्लामा रेबिज रोगका कारण तीन मानिसले ज्यान गुमाउनुपरेको दुःखद समाचार आएको थियो । यस्तै समाचार विभिन्न जिल्लाबाट हरेक वर्ष हामीले सुन्न परिरहेको छ ।

नेपालमा सालाखाला हरेक वर्ष एक सयजना जति मानिस यस प्राणघातक रोगबाट मर्ने गरेकामा विगत केही वर्षयता त्यो संख्या घट्दै गएको पाइन्छ । स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार, सन् २०१५/१६ मा जम्मा ६ जना, २०१६÷१७ मा आठ र २०१७/१८ मा ३२ जनाको रेबिजबाट मृत्यु भएको छ ।  

झट्ट सुन्दा रेबिजबाट मर्नेको संख्या सानो जस्तो देखिन्छ । पशु र मानिस दुवैका लागि प्रभावकारी खोप बनिसकेकाले रेबिजबाट हुने मानव मृत्युलाई लगभग शून्यमा झार्न सकिने आधार छ । यस्तो अवस्थामा यसबाट मानिसको मृत्यु हुनुलाई सामान्य मान्न सकिन्न । नेपालको जनस्वास्थ्य ‘सर्भिलेन्स’ प्रणाली बलियो र चुस्त बन्न बाँकी नै रहेको हुँदा वास्तविक मृत्यु संख्या रिपोर्ट गरिएको संख्याभन्दा निकै बढी हुन सक्छ ।

परापूर्वकालदेखि नै हामीले भोग्दै र सुन्दै आएको रोग हो, रेबिज । यो रोग मुख्यतः बहुला कुकुर तथा बिरालो, स्याल प्रजातिका जंगली पशुहरू, न्याउरी मुसो र भ्याम्पाएर ब्याट भनिने एक प्रकारको रगत चुस्ने चमेरो आदिको टोकाइबाट मानिसमा सर्ने गर्छ ।

परापूर्वकालदेखि नै हामीले भोग्दै र सुन्दै आएको रोग हो, रेबिज । यो रोग मुख्यतः बहुला कुकुर तथा बिरालो, स्याल प्रजातिका जंगली पशुहरू, न्याउरी मुसो र भ्याम्पाएर ब्याट भनिने एक प्रकारको रगत चुस्ने चमेरो आदिको टोकाइबाट मानिसमा सर्ने गर्छ । मानिसमा हुने ९५ प्रतिशतभन्दा बढी रेबिज रोग कुकुरको टोकाइबाट हुने गरेको पाइन्छ ।  

मानिसमा कुकुरलगायत जंगली जनावरले टोकेपश्चात् सम्भावित रेबिजबाट बचाउन प्रभावकारी खोप उपलब्ध रहेको र घरपालुवा वा सामुदायिक कुकुरहरूमा रेबिजविरुद्ध नियमित खोप लगाइने गरेको हुँदा धेरै विकसित मुलुकमा रेबिजबाट मानिसको मृत्यु फाट्टफट्ट बाहेक हुँदैन । तर, विश्वभर मुख्यगरी दक्षिण एसिया र अफ्रिकी मुलुकमा अहिले पनि बर्सेनि करिब ५९ हजार मानिसको रेबिजका कारण मृत्यु हुने गरेको अनुमानित तथ्यांक छ ।  

यही परिवेशमा विश्व स्वास्थ्य संगठन, खाद्य तथा कृषि संगठन, विश्व पशु स्वास्थ्य संगठन र रेबिज रोकथामका लागि विश्वव्यापी सञ्जाल (ग्लोबल एलाएन्स फर रेबिज कन्ट्रोल) ले सन् २०१५ को डिसेम्बरमा एक महŒवाकांक्षी योजना सार्वजनिक गरेको छ । जसमा सन् २०३० सम्म विश्वभर कुकुरको टोकाइबाट सर्ने रेबिजबाट हुने मानिसको मृत्युलाई शून्यमा झार्ने उद्देश्य लिइएको छ । रेबिजबाट हुने समग्र मृत्युमध्ये ९५ प्रतिशतभन्दा बढी मृत्यु कुकुरको टोकाइबाट हुने हुँदा यो लक्ष्य हासिल भएमा रेबिज रोग धेरै हदसम्म नियन्त्रण हुन्छ ।  

रेबिज पशुबाट मानिसमा सर्ने रोग भएको हुँदा पशु स्वास्थ्य र मानव स्वास्थ्य प्रणालीको सहकार्यबिना यो लक्ष्य हासिल गर्न नसकिने कुरालाई स्वीकार गर्दै ‘एक स्वास्थ्य’ रणनीतिमार्फत अघि बढ्ने कुरा योजनामा समेटिएको छ । यी अन्तर्राष्ट्रिय संस्थाहरूको सदस्य भएको नाताले नेपालले पनि सन् २०३० सम्म कुकुरको टोकाइबाट सर्ने रेबिजबाट हुने मानिसको मृत्युलाई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ । तर, अबको १० वर्षमा नेपालले यो लक्ष्य हासिल गर्न सक्छ त भन्ने प्रश्न टड्कारो खडा भएको छ ।  

नेपालजस्तो स्रोत कम भएको मुलुकका लागि यो सजिलो लक्ष्य होइन, तर राजनीतिक र प्राविधिक प्रतिबद्धताका साथ ‘एक स्वास्थ्य’को मर्मको पूर्ण पालना गर्दै ‘हामी सक्ने छौँ’को वास्तविक भावनाबाट अघि बढ्ने हो भने यो असम्भव भने छैन । नेपाल सरकारले कैयन् वर्षको लगानीबाट यसका लागि केही ठोस आधार तयार गरेको छ । सबैभन्दा ठूलो आधार भनेको नेपालमा कुकुर र बिरालोका लागि प्रयोग हुने खोप पशु सेवा विभाग अन्तर्गतको राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले उत्पादन गरिरहेको छ । राष्ट्रिय आवश्यकतालाई पूर्ति गर्ने गरी खोप उत्पादन गर्न सक्ने प्रयोगशालाको अवस्था देखिन्छ ।  

अहिले स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि छन् । उनीहरूले नेतृत्व लिएर आफ्ना कार्यक्षेत्र भित्रका घरपालुवा कुकुर, बिरालो र सामुदायिक कुकुरलाई खोप लगाउन सके रेबिज रोग नियन्त्रणमा लिन सकिन्छ । त्यस्तै, मानिसलाई कुकुर, बिरालो वा जंगली पशुले टोकेमा लगाउने खोप सरकारले लगभग निःशुल्क उपलब्ध गराइरहेको छ । तर, यसको उपलब्धतालाई अझ व्यापक बनाउन र खोपलाई तोकिएको तापक्रममा राखे–नराखेको अनुगमन गर्न जरुरी छ । अहिलेसम्म ‘एक स्वास्थ्य’मा आधारित राष्ट्रिय कार्ययोजना बनाएर व्यवस्थित हिसाबबाट रेबिज नियन्त्रण कार्यक्रम सञ्चालन भने हुन सकेको छैन । त्यस्तै, रेबिज नियन्त्रणमा काम गर्ने विभिन्न सरकारी निकायबीच आफूभित्रै र गैरसरकारी संघ–संस्थासँग पनि समन्वय र सहकार्यलाई अझ मजबुत बनाउन आवश्यक छ ।  

अहिले विशेषगरी सहरी नगरपालिकाका लागि सामुदायिक कुकुरहरूको बढ्दो संख्या ठूलो समस्याका रूपमा रहेको छ । यिनीहरूको संख्या नियन्त्रणका लागि पशु चिकित्सकलाई परिचालन गरी बन्ध्याकरण गर्ने र रेबिजको खोप लगाउने कार्य गरी वैज्ञानिक विधिबाट क्रमशः सामुदायिक र सडक कुकुरको संख्या घटाउन सकिन्छ । विगतमा र गत साल मात्र पनि विभिन्न नगरपालिकाले कुकुरलाई विष खुवाएर तथा पिटेर अमानवीय तरिकाले मार्नेजस्ता विधि पनि अवलम्बन गरेको देखियो । यो पशु कल्याणसँगै २१औँ शताब्दीको मानव चेतनालाई सुहाउने कुरा होइन । अर्कोतिर यसरी कुकुरको संख्या नियन्त्रण भएका उदाहरण पनि भेटिन्न । केही समयपछि नै सो ठाउँमा नयाँ कुकुर आइहाल्छन् ।

सडक र सामुदायिक कुकुरको संख्या बढ्नुमा सहरहरूमा अव्यवस्थित तरिकाको फोहोर व्यवस्थापन र मानिसले मन लाग्दा कुकुर पाल्ने र झन्झट लाग्दा सडकमा ल्याएर छाडिदिने जस्ता कारण पनि छन् । त्यसकारण एकातिर फोहोर संकलन र व्यवस्थापन आवश्यक छ । अर्कोतिर नगरपालिकाले कुकुर दर्ता प्रणालीको विकास गरेर बाटोमा छाड्नेलाई कारबाहीको व्यवस्था गर्नुपर्छ ।  

रेबिज रोगको लक्षण देखिएपछि कुनै उपचार नभएको हुँदा मृत्युदर शतप्रतिशत छ । तर कुकुर, बिरालो र जंगली पशुले टोक्नासाथ स्वास्थ्य संस्थामा गएर तालिकाअनुसार खोप लिए बच्न सकिन्छ । सरकारी र गैरसरकारी संघ–संस्थाको परिचालन गरी रेबिज रोगलाई अभियानकै रूपमा निर्मूल गरी इतिहासमा सीमित गर्न आवश्यक कार्ययोजना र बजेटको व्यवस्था हुन जरुरी छ । यसका लागि रेबिज रोगको नियन्त्रण राजनीतिक तहको समेत प्राथमिकतामा पर्नुपर्छ । ‘खोपबाट पूर्ण रूपमा नियन्त्रणमा लिन सकिने रेबिज जस्तोे रोगबाट मेरो देशभित्र कसैलाई मर्न दिन्नँ’ भन्ने वास्तविक प्रतिबद्धता उच्च राजनीतिक नेतृत्वबाट आए र सोही अनुसार काम भए सन् २०३० सम्म कुकुरको टोकाइबाट सर्ने रेबिजबाट हुने मानव मृत्युलाई शून्यमा झार्ने अभियानमा नेपाल सफल हुन सक्छ ।
(डा. कार्की पशु चिकित्सक हुन् ।)

प्रकाशित: १० आश्विन २०७७ ०५:१२ शनिबार

विश्व रेबिज दिवस रेबिज रोग