स्वास्थ्य

उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित

फाइल तस्वीर

बुटवलका ६७ वर्षीय एक पुरुषलाई ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आइतबार बिहानै लुम्बिनी प्रादेशिक अस्पताल लगियो। मुटुरोग र उच्च रक्तचापको समेत समस्या रहेका कोरोना संक्रमित उनलाई तत्कालै आइसियूमा राखेर उपचार गर्नुपर्ने थियो। तर विडम्बना, बुटवलको कोभिड अस्पतालमा आइसियु थिएन। भैरहवाको भीम अस्पतालमा आइसियू तथा भेन्टिलेटर उपकरण त थिए तर सेवा थिएन। चिकित्सकले बाध्य भएर संक्रमितलाई चितवन रेफर गरे। परिवारले बिहानभरि एम्बुलेन्स खोजे, पाएनन्। केही सीप नलागेपछि प्रादेशिक अस्पतालकै फिबर क्लिनिकमा उनको उपचार थालियो। उपचारकै क्रममा दिउँसो उनको मृत्यु भयो। ‘समयमै भेन्टिलेटरमा राख्न पाएको भए बचाउन सकिन्थ्यो कि’, प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन डा. सुदर्शन थापाले भने।

गत साताको सोमबार गैडहवाका एक संक्रमित पुरुषको भीम अस्पतालमा मृत्यु भयो। घरको छतबाट खसेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि भैरहवा मेडिकल कलेजले भीममा रेफर गरेको थियो। उनको अवस्था गम्भीर थियो तर आइसियू नहुँदा आइसोलेसन वार्डमै राखियो। सोही राति उनको मृत्यु भयो।  

आइसियु र भेन्टिलेटर सुविधा नहुँदा गम्भीर अवस्थाका संक्रमितको उपचार प्रभावकारी हुन नसकेको भीम अस्पतालका कोरोना फोकल पर्सन डा. सुमित प्रजापतिले बताए। त्यसो त भीम पनि प्रदेशका सुविधासम्पन्न भनिएका आइसोलेसन अस्पतालमध्येकै एक हो। तर त्यहाँ भएका भेन्टिलेटर उपकरण त्यत्तिकै थन्किएका छन्।  

केही दिनअघि मृत्यु भएका रोहिणीका कोरोना संक्रमित एक पुरुषले पनि बुटवल–भैरहवाका कोरोना विशेष अस्पतालमा उपचार पाएनन्। श्वासप्रश्वासमा समस्या देखिएपछि ५० वर्षीय ती पुरुष सुरुमा बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पताल पुगेका थिए। मुटु अस्पतालले कोरोनाको लक्षण देखिएको भन्दै प्रादेशिक अस्पताल बुटवल पठायो। प्रादेशिक अस्पतालमा आइसियु खाली नभएको भन्दै फेरि मुटु अस्पतालमै पठाइयो। मुटु अस्पतालले पुनः फिर्ता गरेपछि उनलाई भैरहवाको भीम अस्पताल पठाइयो।  भीममा भेन्टिलेटर सेवा नभएकाले चिकित्सककै सल्लाहमा भारतको गोखरपुर लैजाँदै गर्दा नौतनवामा उनको मृत्यु भयो।  

प्रदेश ५ मा पछिल्लो समय लक्षणसहितका संक्रमितको संख्या दिनहुँ बढ्दो छ तर  अस्पतालको सेवासुविधा विस्तार भएको छैन। कतै आइसियु छैन त कतै भेन्टिलेटर। कतै भएका भेन्टिलेटर पनि जनशक्ति नहुँदा त्यसै थन्किएका छन्।

यी केही प्रतिनिधि उदाहरण हुन्। प्रदेशमा पछिल्लो समय लक्षणसहितका संक्रमितको संख्या दिनहुँ बढ्दो छ तर अस्पतालको सेवासुविधा विस्तार भएको छैन। जनशक्ति व्यवस्थापन नगरिँदा भएका भेन्टिलेटर उपकरण थन्किएका छन् भने संक्रमितले उपचार पाउन सकिरहेका छैनन्। केहीले भेन्टिलेटर सेवा खोज्दाखोज्दै ज्यान गुमाएका छन्। केही रेफर भएर चितवन तथा काठमाडौं पुगेका छन्। एम्बुलेन्स खर्चको जोहो गर्न नसक्नेहरू आइसोलेसन वार्डमा आइसियूको पालो कुरेर बसेका छन्। बुटवलको कोरोना विशेष अस्पतालका डा. थापाका अनुसार आइसियूमै राख्नुपर्ने अवस्थाका ८ जना संक्रमित अहिले पनि फिबर क्लिनिक र आइसोलेसन वार्डमा छन्।  

लक्षणसहितका संक्रमितको संख्या बढिरहँदा पनि प्रदेश सरकारले क्रिटिकल केयर टिम व्यवस्थापनमा ध्यान दिएको छैन। जसका कारण सुविधासम्पन्न आइसोलेसन अस्पताल भनेर प्रचार गरिएका भैरहवाको भीम, दाङ बेलझुन्डीको आइसोलेसन र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसियू तथा भेन्टिलेटर सञ्चालन हुन सकेका छैनन्। प्रदेशका चारवटा कोभिड अस्पतालमा ३३ वटा आइसियू बेड र १७ वटा भेन्टिलेटर रहेको तथ्यांक प्रदेशको स्वास्थ्य निर्देशनालयसँग छ। तर आइतबारसम्म तीमध्ये बुटवलको कोरोना अस्पतालका चारवटा भेन्टिलेटरसहित १६ बेड आइसियूमात्र सञ्चालनमा छन्।  

भैरहवामा एउटा भेन्टिलेटरसहित पाँच बेडको आइसियू, बाँकेमा तीनवटा भेन्टिलेटरसहित १० बेडको आइसियू र दाङमा दुईवटा भेन्टिलेटरसहित पाँच बेडको आइसियू भए पनि सञ्चालनमा छैनन्। औषधि र जनशक्ति व्यवस्थापन नगरिँदा आइसियू बेड तथा भेन्टिलेटर गत वैशाखदेखि नै प्रयोगविहीन अवस्थामा छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले भैरहवाको आइसियू एकदुई दिनमै सञ्चालन हुने बताए।  

डा. थापाले बुटवलबाहेकका अस्पतालमा आइसियू तथा भेन्टिलेर सेवा नहँुँदा गम्भीर प्रकृतिका संक्रमितको उपचारमा समस्या भएको बताए। ‘गम्भीर अवस्थाका बिरामीको चाप अब बुटवलले मात्रै धान्न सक्दैन’, डा. थापाले भने। उपचारको पाटोमा सरकार गम्भीर नभए स्थिति भयावह हुन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे।

कोरोना नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि प्रदेशको तयारी सन्तोषजनक नभएको विश्व स्वास्थ्य संगठनका एक प्रतिनिधिले बताए। उनले भने, ‘प्रदेशको अहिलेकै तयारीले अबको क्षतिलाई धान्न सक्दैन’। डा. थापाले पनि कोभिड अस्पतालहरूको क्षमता विस्तारसँगै रूपन्देहीका मेडिकल कलेज वा सुविधासम्पन्न निजी अस्पताललाई कोभिड विशेष अस्पतालका रूपमा सञ्चालन गर्नुपर्ने खाँचो औंल्याए।  

पछिल्लो समय संक्रमितको संख्या थपिँदै जाँदा आइसोलेसन बेडकै पनि अभाव हुन थालेको छ, जसका कारण केही संक्रमित अहिले पनि क्वारेन्टिनमा छन्। प्रदेशमा आइतबार दिउँसोसम्म सक्रिय संक्रमितको संख्या १ हजार ४ सय १७ छ। कुल ६ हजार ३ सय ३३ संक्रमितमध्ये ४ हजार ८ सय ३८ जना निको भइसकेका छन्। २९ जनाको मृत्यु भइसकेको छ। प्रदेशका ४ वटा कोभिड अस्पतालमा एक सय १९ जनाको उपचार भइरहेको छ। तीमध्ये १७ जना आइसियू र दुईजना भेन्टिलेटरमा छन। एक हजार एक सय ९३ जना संक्रमित आइसोलेसन सेन्टरमा र एक सय ८ जना संक्रमित क्वारेन्टिनमा छन्। क्वारेन्टिनमा रहेका संक्रमितलाई आइसोलेसन सेन्टरमा ल्याउने भयारी भइरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताए।

प्रकाशित: १६ भाद्र २०७७ ०१:०४ मंगलबार

काेराेना संक्रमित उपचार