स्वास्थ्य

कोरोनामुक्त हुन खोप मात्र पर्याप्त होला

आदम फिन/रिचार्ड माले

गत डिसेम्बरमा नयाँ कोरोना भाइरस पत्ता लागेलगत्तै एउटा महत्वाकांक्षी भविष्यवाणी गरियो–  १२ देखि १८ महिनाभित्र खोप उपलब्ध हुनेछ र यसले कोरोना महामारी रोक्नेछ ।  

जटिल चुनौती हुँदाहुँदै पनि भविष्यवाणीको पहिलो खुड्किलो पार गर्न सकिने देखिएको छ । अहिले ८ वटा खोप अन्तिम तथा तेस्रो चरणको परीक्षणमा छन् । यी खोपको नतिजा यो वर्षको अन्त्यसम्म अथवा सन् २०२१ को सुरुमै आउनेछ । तर एउटा अथवा त्योभन्दा बढी संख्यामा यी प्रयास सफल भए पनि महामारीको अन्त्य हुनेवाला छैन । यसो किन भनिएको हो भने हाम्रा प्रयास कोभिड–१९ रोकथाम गर्न केन्द्रित छन् तर यी प्रयास मात्र रोग संक्रमणका लागि जिम्मेवार सार्स–कोभ–२ भाइरसको प्रसारण रोक्न पर्याप्त हुने छैनन् ।  

चिकित्सकहरू बिरामीलाई खोपले कसरी सुरक्षा दिन्छ भनेर बुझाउँदा बारम्बार भन्छन्, ‘रोगजन्य कीटाणुको प्रभाव कमजोर पार्न मानव शरीरमा प्रतिरक्षा प्रणाली विकास गर्न खोप आवश्यक छ । शरीरले एकपटक रोगजन्य कीटाणुको पहिचान गरेपछि त्यसबाट जोगाउने उपाय सम्झिरहन्छ र भविष्यमा हुनसक्ने आक्रमणलाई निस्तेज पार्छ ।’

निश्चित रोगको अड्कल गर्न खोप निर्माताले यसको कसरी डिजाइन गर्छन् र कसरी नियमनकारी निकायले अनुगमन गर्छन् भन्ने पक्ष महत्वपूर्ण हुन्छ । खोपको महत्वपूर्ण भूमिका के हो भने यसले रोगजन्य कीटाणुको एक व्यक्तिबाट अर्काेमा हुने प्रसारणलाई रोक्छ । यसलाई खोपको परोक्ष फाइदा पनि भनिन्छ । खोपको यो भूमिकालाई पनि कम आकलन गर्न मिल्दैन किनभने महामारीका बेला यो भूमिकाको अत्यधिक महत्व हुन्छ । हाम्रो ध्यान यो विषयमा बढी जानुपर्ने हो तर गएको छैन ।  

भाइरस प्रसारण रोक्न सके समग्र जनसंख्यालाई नै यसको जोखिमबाट बचाउन सकिन्छ । यसले खोपलाई प्रतिक्रिया दिन नसक्ने अत्यन्त कमजोर मानिस, खोपमा पहँुच नभएका जनता, प्रतिरक्षित हुन अस्कीकार गर्ने तप्का तथा समयसँगै प्रतिरक्षा हराउँदै जानेहरूका लागि सुरक्षा प्रदान गर्छ । यो दृष्टिकोण अन्य रोग तथा रोगजन्य कीटाणुको नियन्त्रणमा प्रमाणित भएको छ । हेमोफिलस इन्फ्लुएन्जा ‘टाइप बी’ को खोप सन् १९९० को सुरुमा डिजाइन तथा अनुमोदन गरिएको थियो । ससाना बालबालिकामा मेनेन्जाइटिस संक्रमण हुनबाट रोक्न यो खोप निर्माण गरिएको थियो । तर छोटो अवधिमै यो खोपको अनपेक्षित तर स्वागतयोग्य भूमिका देखिएको थियो । त्यो हो, खोपले ब्याक्टेरियाको प्रसारण प्रक्रियालाई रोकेको थियो ।

कोभिड–१९ भाइरस प्रसारण रोक्नु भनेको कुनै संक्रमणलाई कोभिड–१९ मा रुपान्तरण हुनबाट जोगाउनु पनि हो। यो पक्षलाई खोप निर्माताले ध्यान दिन आवश्यक छ।

यस्तै पाठेघरको मुखको क्यान्सर र महिलाको प्रजनन अंगमा हुने मुसा रोग निदानका लागि बनेको एचपिभी खोप यसको अर्काे उदाहरण हो । जर्मनीमा गरिएको एक अध्ययनले यो खोप लगाएका अधिकजसो महिलालाई फाइदा भएको र खोप नलगाएका पुरुषमा हुने मुसा रोग नियन्त्रणमा ५० प्रतिशत फाइदा पुगेको देखाएको थियो । यो कसरी सम्भव भयो भनेर बुझ्न रोगजन्य कीटाणुका कारण हामी किन बिरामी हुन्छौं भन्ने कुराको स्मरण गर्न जरुरी हुन्छ ।  

कीटाणुसँग संसर्ग भएपछि संक्रमण हुन्छ । एकजना संक्रमित भएपछि अन्यलाई सर्छ । संक्रमण कतिपय अवस्थामा रोगमा विकास हुन्छ भने कतिपय अवस्थामा हुँदैन । संक्रमण हुँदाहुँदै पनि कतिपयमा रोगका लक्षण देखिँदैनन् ।

कीटाणुको प्रसारण चक्र रोक्न खोपले सहयोग गर्छ । दादुरा, गलफुलो, रुबेलिया र ठेउलाजस्ता रोग रोकथाम गर्न बनाइएका खोपले यही काम गरेका छन् । यही कुरा मेनेन्जाइटिस, निमोनिया रोगका खोपमा पनि लागु हुन्छ । अहिले कोेभिड–१९ को सन्दर्भमा पनि खोप निर्माण गर्दा रोग प्रसारण सीमित पार्नेतर्फ ध्यान जानुपर्छ । तर खोप निर्माताको ध्यान यसमा त्यति गएको देखिँदैन । तेस्रो चरणमा पुगेका खोपको समीक्षा गर्दा के देखिन्छ भने सबै खोपको उद्देश्य कोभिड–१९ संक्रमणबाट जोगाउनु हो ।  

कुनै बिरामीमा कोभिड–१९ को विकास हुन रोक्ने उद्देश्यले निर्माण गरिएको खोपले त्यो बिरामीले अन्यलाई रोग सार्ने जोखिम न्यून गर्न सहयोग गर्छ नै भन्ने हुँदैन । उदाहरणका लागि पोलियो रोगका लागि बनेको आइपिभी खोप पोलियोबाट सुरक्षा गर्न प्रभावकारी देखिएको छ । तर यही खोप भाइरसको प्रसारण अर्थात् ‘भाइरल सेडिङ’ गर्न त्यति प्रभावकारी देखिएन । विशेषगरी मानिसको मलमूत्रमार्फत हुने प्रसारण रोक्न यसले सकेको थिएन ।  

त्यसैले खोप निर्माणको एकल उद्देश्य रोगको रोकथाम मात्र हुनुहुँदैन, रोगको प्रसारण रोक्नु पनि हुनुपर्छ । अहिले कोभिड–१९ विरुद्धका खोपको तेस्रो चरणको परीक्षण भइरहेकाले यी खोपको बृहत्तर प्रभावबारे ध्यान दिन जरुरी छ । जसअन्तर्गत परीक्षण गरिएका व्यक्तिको नियमित अनुगमनअन्तर्गत उसलाई संक्रमण भएनभएको, कति समयसम्म संक्रमण भयो र उसले कहाँ र कसरी भाइरसको प्रसारण ग-यो भन्ने जस्ता कुरामा पनि अध्ययन हुन जरुरी छ । यस्ता विषयको अध्ययनले महामारीमा अत्यधिक प्रसारण ‘सुपरस्प्रेडिङ’ गर्ने घटनालाई थप प्रकाश पार्नेछ । धेरै अध्ययनले के देखाएका छन् भने रेस्टुरेन्ट, बार, समूह गायन, शवयात्राजस्ता क्रियाकलाप ठूलो मात्राको संक्रमणका लागि जिम्मेवार देखिएका छन् । यी विषयमा छलफल हुँदा त्यस्ता ठाउँमा हुने भीडभाड र धेरै समयसम्मको सम्पर्कका कारण यसो भएको हो भनिन्छ । तर संक्रमणको कुन चरणमा भएको मानिसले सबैभन्दा बढी संक्रमण फैलाउँछ भन्ने कुरामा पनि उत्तिकै ध्यान दिन जरुरी छ । भाइरस संक्रमणको उच्चतम विन्दु कहिले थियो, कसलाई यसले अत्यधिक प्रभाव पा-यो र किन भन्ने कुरा पनि महत्वपूर्ण रहन्छन् । यी सबै समस्यालाई अहिले परीक्षणमा रहेका खोपले कसरी सम्बोधन गर्छन् ? प्रश्न यहाँ छ ।  

सबैभन्दा उच्चतम खोपले बिरामी हुनबाट मात्र जोगाउँदैन, सबैलाई संक्रमणको सम्भावनाबाट पनि सुरक्षा प्रदान गर्छ । कोभिड–१९ भाइरस प्रसारण रोक्नु भनेको कुनै संक्रमणलाई कोभिड–१९ मा रूपान्तरण हुनबाट जोगाउनु पनि हो । यो पक्षलाई खोप निर्माताले ध्यान दिन आवश्यक छ ।
(फिन ब्रिस्टोल विश्वविद्यालयका प्राध्यापक र माले हार्वड विश्वविद्यालयका प्राध्यापक हुन् । फिन र मालेको यो आलेख न्युयोर्क टाइम्समा बुधबार प्रकाशित छ । )

प्रकाशित: ११ भाद्र २०७७ ००:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App