स्वास्थ्य

कोरोनाले न्यूनदृष्टिविहीन समस्यामा

नेपालगञ्जस्थित मङ्गलप्रसाद माध्यमिक विद्यालयमा ४० बढी न्यूनदृष्टिविहीन बालबालिका र किशोरकिशोरी अध्ययन गरिरहेका छन्। सो विद्यालयमा अहिले एकदेखि १० कक्षासम्म अध्ययनरत न्यूनदृष्टिविहीन विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहिन सङ्घले लिएको छ। 

सङ्घले न्यूनदृष्टिविहीनलाई शिक्षा, सीप विकास तालिम र रोजगारी दिलाउने र उनीहरुको अधिकार स्थापित गराउन भूमिका खेल्दै आएको छ। कोरोना भाइरसको महामारीका कारण उनीहरुको समुचित व्यवस्थापन गर्न नसकिएको सङ्घले जनाएको छ।

सङ्घका सदस्य समेत रहेका सोही विद्यालयका न्यूनदृष्टिविहिन शिक्षक भोला त्रिपाठी भन्छन्, 'सङ्घले विभिन्न निकायसँगको सहकार्यमा न्यूनदृष्टिविहीनको जीवनलाई सहज र सरल बनाउने प्रयास गर्दै आए पनि कोरोनाको कहरले धेरैथरीका अभावको सामना गर्नु परिरहेको छ।'

विद्यालयमा अध्ययनरत न्यूनदृष्टिविहीनको अध्ययन निःशुल्क हुने गरेको छ। त्यसको चाँजोपाँजो शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय, बाँकेले मिलाएको छ। न्यूनदृष्टिविहीनका लागि राज्यका तर्फबाट निःशुल्क शिक्षा दिक्षा, सीपमूलक तालिम एवं रोजगारीमा आरक्षणको व्यवस्थाले पनि बाँके जिल्लाका न्यूनदृष्टिविहीनलाई आफ्नाे जीवन सहज ढङ्गबाट अगाडि बढाउन अवसर मिलेको छ।

मंगल माविमा न्यूनदृष्टिविहीनका लागि अलग अध्यापन गराइदैन, आँखा देख्नेहरुसँग राखेर पढाउने गरिएको छ। 'यसो गर्नुको मुख्य उद्देश्य हामी सबै एउटै हौँ भन्ने भावनाको विकास गराउनु नै हो', शिक्षक त्रिपाठीको भनाइ छ।

बाहिरी आँखाले नदेखे पनि न्यूनदृष्टिविहीनसँग भित्री क्षमता धेरै हुन्छ। उनीहरुले अवसर पाए कुनै कुरामा पनि पछि पर्दैनन्। यहाँका न्यूनदृष्टिविहीनहरु शिक्षकदेखि अधिकृतसम्मको पदमा काम गरिरहेका छन्। 'उनीहरुलाई क्षमताअनुसारको रोजगारी दिनुपर्छ र अवसर पाए न्यूनदृष्टिविहीनले पनि धेरै ठूलाठूला काम गर्न सक्छन्', अर्का न्यूनदृष्टिविहीन शिक्षक भावुकजङ्ग थापाको ठम्याइ छ। शिक्षक थापाले नेपालगञ्जस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्यनरत दृष्टिभएका बालबालिकालाई अध्यापन गराउँदै आएका छन्।

स्नातकसम्म अध्ययन गरेका शिक्षक थापा नेपाल नेत्रहिन सङ्घ, बाँकेको सचिवको जिम्मेवारीमा पनि छन्। उनका अनुसार, बाँकेमा झण्डै पाँच हजार अपाङ्गता भएका व्यक्ति छन्। ती मध्ये न्यूनदृष्टिविहीनको सङ्ख्या झण्डै २०० रहेको छ। मंगलप्रसाद माविमा अध्ययरत न्यूनदृष्टिविहीनलाई नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा शाखाले सघाउँदै आएको छ। शिक्षा शाखाले पाठ्यपुस्तक, जिन्सी सामानलगायत छात्रवृत्ति एवं भौतिक पूर्वाधारमा सहयोग उपलव्ध गराउँदै जनाएको छ। 

'विद्यार्थीको आवश्यकता र सङ्घले माग गरेअनुसार सक्दो सहयोग हामीले शिक्षा शाखालाई उपलव्ध गराउँदै आएका छौँ',  शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले भने।

प्रकाशित: ४ भाद्र २०७७ १३:२० बिहीबार