स्वास्थ्य

धादिङ अस्पतालमा अर्थाेपेडिक सर्जरी सेवा सुरु

अर्थाेपेडिक सर्जरी गर्दै चिकित्सकको टोली ।

जिल्ला अस्पताल धादिङले अर्थाेपेडिक सर्जरी सेवा सुरु गरेको छ । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर २ का एक बालकको कुहिएको कान्छी औलाको अर्थाेपेडिक सर्जरी गर्दै सेवा सुरु गरिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले जानकारी दिए । जिल्लामा अर्थोपेडिक डाक्टर नहुँदा नसा तथा हाडजोर्नी सम्बन्धी समस्या भएकाहरुले सेवा लिन राजधानी काठमाडौँ नै धाउनु पर्ने समस्या थियो ।

अर्थाेपेडिक सर्जरी अर्थाेपेडिक सर्जन डा. दिव्य पुरुष ढकालको टोलीले सेवा प्रदान गर्ने सूचना अधिकारी विकले बताए । ‘नसा तथा हाडजोर्नी सम्बन्धी समस्या भएकाहरुले सेवा दिन सकेका थिएनौ’, उनले भने, ‘अब जिल्ला अस्पतालमा नै चौविसै घण्टा सेवा लिन सकिने अर्थोपेडिक सेवा सुरु भएसँगै नसा तथा हाडजोर्नी सम्बन्धी समस्या भएकाहरुलाई सेवा लिन सहज हुने भएको छ ।’

अस्पतालमा हाडजोर्नी तथा नसासम्बन्धी समस्याहरु (हड्डी खिइएको, नसा च्यापिएका, घाँटीको हड्डी खिइएको, हड्डी कमजोर भएको) को उपचार सेवालाई बिस्तार गर्ने क्रममा बागमती प्रदेश सरकारसँग सहकार्य गरेर अर्थोपेडिक सेवा सुरु गरेको हो । नागरिकले सरकारी मापदण्ड अनुसार न्यूनतम शुल्क तिरेर सेवा लिन सकिने उनले बताए ।

प्रकाशित: २४ श्रावण २०७७ ०७:४४ शनिबार

चिकित्सक