स्वास्थ्य

मोरङको ५ स्थानीय तहमा संक्रमण

प्रदेश १ मा ४३ जना नयाँ कोरोना संक्रमित

मोरङको पाँच वटा स्थानीय तहमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि प्रदेशका स्थानीय तहहरूले लकडाउन गर्न थालेका छन् ।

प्रदेश १ मा मंगलबार ४३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । मोरङमा २०, सुनसरीमा १२, झापामा ८, इलाममा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै मोरङका ५ वटा स्थानीय तहमा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ४ महिला ७ पुरुष, बुढीगंगामा ३ पुरुष १ महिला, लेटाङ र केराबारीमा २–२ पुरुष र उर्लाबारीमा १ पुरुष रहेको छन् । सुनसरीको दुहबीमा ४ पुरुष, इटहरी ३ पुरुष १ महिला, धरानमा ३, इनरुवामा १ पुरुष र झापाको कंचनकवलमा ३, दमक र गौरीगञ्जमा २–२, भद्रपुरमा १ पुरुष, इलामको सूर्योदयमा २ पुरुष र धनुषाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७१ जना पुगेको छ । मंगलबार १ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेको संख्या ८ सय ३० पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । २ जना मोरङको सुनबर्षी र विराटनगरका र अन्य २ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा मंगलबार मात्रै ९ सय ९७ जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ६ महिला र ३७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । हालसम्म प्रदेशमा ४६ हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण भइसकेको छ ।

प्रकाशित: २० श्रावण २०७७ ११:४५ मंगलबार

कोरोना संक्रमण कोरोना संक्रमित स्थानीय तह